के सामाजिक सञ्जालले लत लगाउँछ ? अदालतमा बयान दिँदैछन् जुकरबर्ग

‘केजीएम’नामले चिनिने २० वर्षीया एक युवतीले दायर गरेको मुद्दामा अमेरिकी समयअनुसार बुधबार जुकरबर्ग अदालतमा उपस्थित हुन लागेका हुन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Is social media addictive? Zuckerberg to testify in court

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्महरूले बालबालिकालाई जानाजान स्क्रिनमा अल्झाइरहेको हो कि होइन भन्ने प्रश्न उठाइएको मुद्दामा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बयान दिने भएका छन् ।

‘केजीएम’नामले चिनिने २० वर्षीया एक युवतीले दायर गरेको मुद्दामा अमेरिकी समयअनुसार बुधबार जुकरबर्ग अदालतमा उपस्थित हुन लागेका हुन् । 

ती युवतीले सामाजिक सञ्जाल प्रयोग गर्दा बाल्यकालमै आफूलाई प्रविधिको लत लागेको र त्यसले चरम निराशा एवं आत्महत्याको विचार निम्त्याएको दाबी गरेकी छन् । यस मुद्दामा हाल मेटा प्लाटफर्म्स र गुगलको युट्युब प्रतिवादी रहेका छन् । टिकटक र स्न्यापच्याटले भने मिलापत्र गरेका छन् ।

जकरबर्गले यसअघि पनि अदालतमा विभिन्न विषयमा बयान दिइसकेका छन् । उनले मेटाका प्लाटफर्ममा किशोरकिशरोरीको स्वास्थ्य सुरक्षाबारे अमेरिकी संसदीय सुनुवाइमा पनि जवाफ दिएका थिए । ती सुनुवाइका क्रममा उनले सामाजिक सञ्जालकै कारण आफ्नो जीवनमा वियोग आइपरेको गुनासो गर्ने परिवारसँग क्षमा मागेका थिए । यसपालिको मुद्दामा उनी पहिलोपटक जुरीको अगाडि उभिँदै छन् । अदालतमा पीडित अभिभावकहरूको पनि उपस्थित रहने अपेक्षा गरिएको छ ।

यो मुद्दा, ‘बेलवेदर ट्रायल’ अर्थात् ठूलो संख्यामा दायर भएका समान प्रकृतिका मुद्दामध्ये प्रतिनिधि मुद्दाका रूपमा चयन गरिएको हो । यस मुद्दामा हुने फैसला सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध दायर गरिएका २६ सयभन्दा धेरै समान प्रकृतिका मुद्दाहरूका लागि नजिर बन्नेछ । यसले सामाजिक सञ्जालको ‘डिजाइन आर्किटेक्चर’ वा बनोटमै फेरबदल ल्याउने अनुमान गरिएको छ । अमेरिकाको लस एन्जलसस्थित काउन्टी सुपेरियर अदालतमा जारी सुनुवाइमा फेसबुक र युट्युबका प्रमुखले न्यायाधीश र जुरी (सर्वसाधारण नागरिकको एउटा समूह) समक्ष बयान दिइरहेका छन् । 

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मेटाका एक प्रतिनिधिले यस मुद्दामा लगाइएका आरोप पुष्टि नहुने र तिनमा कम्पनी पूर्ण असहमत रहेको बताएका छन् । केजीएमले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगेको कुरामा दुई मत नभए पनि ती समस्या निम्त्याउन इन्स्टाग्रामले खासै भूमिका नखेलेको मेटाका वकिल पल स्टिम्टको दाबी छ । उनले मेडिकल रेकर्डहरूलाई प्रमाणस्वरुप पेश गर्दै केजीएमको पारिवारिक जीवन पहिलेदेखि नै कहलपूर्ण रहेको जिकिर गरेका छन् । ती युवतीले आफ्नो मानसिक संघर्षबाट उम्किन वा त्यसलाई सामना गर्न सामाजिक सञ्जाल प्लाटफर्मलाई सहारा बनाएको मेटा र युट्युब दुवैका वकिलले तर्क गरेका छन् ।

हालै अदालतमा जुरीसमक्ष बयान दिएका इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले मानिसहरू सामाजिक सञ्जालमा ‘क्लिनिकली एडिक्टेड’ हुन सक्छन् भन्ने अवधारणासँग आफू असहमत रहेको बताएका थिए । उनले इन्स्टाग्राम प्रयोग गर्ने युवाहरूको सुरक्षाका लागि आफूहरूले गहन प्रयास गर्दै आएको र भविष्यमा कम्पनीलाई नाफा भए पनि मानिसको कल्याणका लागि खराब निर्णय लिनु आफूहरूको हितमा नहुने बताएका थिए ।

वादी पक्षका वकिल मार्क लानियरले मोसेरीलाई मानिसको रूपै परिवर्तन गरिदिने इन्स्टाग्रामका सौन्दर्य फिल्टरबारे प्रश्न गरेका थिए । लानियरले यिनै विषय जकरबर्गसमक्ष पनि उठाउने अपेक्षा गरिएको छ । साथै, इन्स्टाग्रामको अल्गोरिदम, मेटाका फिडहरूको अनन्त स्क्रोल प्रकृति तथा प्रयोगकर्तालाई आकर्षित गरिराख्ने गरी डिजाइन गरिएको भनिएका अन्य सुविधाबारे पनि प्रश्न सोधिने अपेक्षा गरिएको छ। यही बेला मेटाविरुद्ध न्यु मेक्सिकोमा पनि छुट्टै मुद्दामा गत सातादेखि सुनुवाइ सुरु भएको छ ।

कान्तिपुर

Link copied successfully