फेसबुकको प्यारेन्ट कम्पनी मेटाले प्रयोगकर्ताको अघिल्लो अनलाइन गतिविधिलाई आधार बनाएर मृत्युपछि पनि पोस्ट, कमेन्ट र संवाद गर्न सक्ने एआई प्रविधिको पेटेन्ट दर्ता गराएको छ ।
What you should know
काठमाडौँ — मृत्युपछि पनि प्रयोगकर्ताको एकाउन्ट सक्रिय बनाइराख्ने एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको पेटेन्ट मेटाले आफ्नो नाममा दर्ता गराएको छ । जिवित छँदा व्यक्तिले पोस्ट गर्ने कन्टेन्ट, उसले पठाउने सन्देश, भिडियो अन्तरक्रिया र समग्र अनलाइन व्यवहार सिमुलेट (नक्कल) गरेर सो एआईले मृत्युपछि पनि निरन्तर पोस्ट, कमेन्ट, संवाद गर्ने दाबी गरिएको छ ।
हालै स्वीकृत र सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको उक्त पेटेन्टमा मेटाका विभिन्न प्लाटफर्ममा प्रयोगकर्ताको यसअघि उपलब्ध गतिविधिमार्फत एआई मोडेललाई तालिम दिने तयारी गरिएको छ । यसमा पोस्ट, कमेन्ट, निजी सन्देश, तस्बिर तथा अन्य किसिमका अनलाइन गतिविधि समावेश हुने उल्लेख छ । त्यसपछि प्रणालीले सोही डेटाका आधारमा व्यक्तिको शैली, रोजाइ र संवाद गर्ने तरिका प्रतिबिम्बित गर्नेगरी नयाँ सामाग्री उत्पादन गर्नेछ ।
पेटेन्ट दस्तावेजअनुसार प्रयोगकर्ता प्लाटफर्ममा अनुपस्थित हुँदा वा मृत्यु भइसकेको अवस्थासमेत समेटेर यो प्रविधि प्रयोग गर्न सकिनेछ । एआईले अघिल्लो व्यवहारसँग मिल्दोजुल्दो ढंगले पोस्ट प्रकाशन गर्ने, कमेन्टहरूको जवाफ दिने र डाइरेक्ट म्यासेजसमेत पठाउने क्षमता राख्ने उल्लेख गरिएको छ । दस्तावेजमा उन्नत जेनेरेटिभ मोडेलमार्फत अडियो वा भिडियो अन्तरक्रियासमेत सिमुलेट गर्न सकिने सम्भावनाबारे उल्लेख छ।
मेटाले यस पेटेन्टसँग सम्बन्धित कुनै व्यावसायिक वा व्यवहारिक पक्षबारे घोषणा भने गरेको छैन । कम्पनीले फेसबुक र इन्स्टाग्राममा प्रयोगकर्ताको मृत्युपछि प्रोफाइल सुरक्षित राख्ने तर सक्रिय अन्तरक्रिया सिमित गर्ने गरी ‘स्मारिका’ शैलीको विकल्प दिँदै आएको छ । त्यसमा ‘इन मेमोरी अफ’ वा ‘रिमेम्बरिङ’ भनेर उल्लेख गरिएको हुन्छ ।
नयाँ रूपमा सार्वजनिक भएको पेटेन्टले एआई बजारमा बढ्दो प्रतिस्पर्धा र कम्पनीहरूको होडको संकेत गर्छ । खातालाई बन्द गरिदिनु वा जस्ताको त्यस्तै रहन दिनुको सट्टा एआईले प्रयोगकर्ताको डिजिटल संस्करणलाई निरन्तर अन्तरक्रिया गर्न अनुमति दिनेछ । यो अवधारणा जेनेरेटिभ एआई र ‘डिजिटल आफ्टरलाइफ’ भन्ने अवधारणाको मिश्रण रूप हो ।
लार्ज ल्यांग्वेज मोडेल र भ्वाइस सिन्थेसिस प्रविधिको प्रयोग गरी बनाइने यस्ता 'डेडबट' हरूलाई व्यक्तिका पूराना इमेल, म्यासेज, सामाजिक सञ्जालका पोस्ट र लेखहरूमा तालिम दिइन्छ । यसले गर्दा एआईले ती व्यक्तिकै जस्ता शब्द चयन र बोल्ने शैली पछ्याउन सक्छ । तथापि, यी प्रविधिका कानुनी र नैतिक पक्षहरू निकै जटिल छन् ।
मृतकले आफ्नो डेटा (म्यासेज, इमेल, आवाज) एआई तालिमका लागि प्रयोग गर्न अनुमति दिएका थिए/थिएनन् भन्ने डेटा गोपनियतासम्बन्धी जटिलताबारे विज्ञहरूले औँल्याएका छन् । विभिन्न देशमा फरक स्वरूपमा रहेका डिजिटल सम्पत्ति र व्यक्तिगत अधिकारसम्बन्धी कानुनी व्यवस्थाले यस्ता प्रविधि कार्यान्वयन गर्न स्पष्ट सुरक्षा उपाय आवश्यक पर्ने विज्ञहरूको धारणा छ ।
