'नेटिभटाइप डट कम' नामक वेब एप्लिकेसन सार्वजनिक गरेका उनी आफ्नो मातृभाषा शेर्पा मात्रै नभएर लिम्बू, नेवारी भाषाको पनि किबोर्ड बनाउन सफल भएका छन्।
What you should know
ताप्लेजुङ — शिक्षण पेशाबाट बाहिरिएपछि मेरिङदेन गाउँपालिका-५ थुकिमाका मातृका शेर्पा आफ्नो मातृभाषाको प्रचारका अभियन्ता बने ।
नयाँ पुस्ता आफ्नो संस्कृतिप्रति आकर्षित नहुँदा आफ्नो भाषा लिपि हराउने चिन्तामा रहेका उनले हस्त लिखितबाट कम्प्युटर टाइप गर्ने विधिमा निकै प्रयत्न गरे । तिब्बतीयन भाषासँग मिल्दोजुल्दो हुने भएकाले तिब्बतीयन किबोर्ड डाउनलोड गरेर आफू सिक्ने र अरुलाई पनि सिकाउने गर्न थाले । यो निकै मेहनत गर्नुपर्ने र झन्झटिलो थियो ।
भानुजन माध्यमिक विद्यालय अन्तर्गत सदरमुकाम फुङलिङमा रहेको आईटी एकेडेमीमा कार्यरत मातृकाका छोरा येदेन शेर्पाले यसलाई नजिकबाट नियालिरहेका थिए । बाबुको निकै परिश्रम देखेर उनलाई नेपाली किबोर्डबाटै बनाउन सकिएला कि भन्ने उत्सुकता जाग्यो । उनले यसै सम्बन्धी काम गर्ने साथीभाईसँग परामर्श गरे ।
नतिजाका लागि प्रयास गरेका उनले 'नेटिभटाइप डट कम' नामक वेब एप्लिकेसन सार्वजनिक गरेका छन् । यसमा उनले आफ्नो मातृभाषा शेर्पा मात्रै नभएर लिम्बू, नेवारी भाषाको पनि किबोर्ड बनाउन सफल भएका छन्। येदेनले यस सम्बन्धी किबोर्ड सञ्चालनमा ल्याएको बताए ।
सूचना प्रविधिको युग भएकाले जातीय भाषा र लिपिहरूलाई डिजिटल प्लेटफर्ममा सुरक्षित र सहज बनाउन यो प्रविधि सञ्चालनमा ल्याएको येदेन बताउँछन् । ‘यसले नेपालमै भएका र विदेशमा रहेकाहरूलाई आफ्नो मातृभाषामा लेख्न, सिक्न र अभ्यास गर्न सहज हुने ठानेको छु,’ येदेनले भने ।
डकुमेन्ट अडिटर तथा कम्प्युटरमा कुनै सफ्टवेयर डाउनलोड नगरी सिधैं वेबसाइटमा गएर नेपाली, लिम्बू, सिरिजङ्गा, शेर्पा, टिबटी, नेवारी जस्ता लिपिहरू लेख्न र डकुमेन्टेसन गर्न सकिने उनको दाबी छ ।
‘सुरुदेखि नै आफ्नो मातृभाषा सिक्न चाहने र आधारभूत अक्षर सिकाइका लागि ‘क्यारेक्टर लर्निङको सुविधा छ, यसले बालबालिकादेखि नयाँ विषय सिक्न चाहने जो कोहीलाई अक्षर चिन्न मद्दत गर्दछ,’ आईटी एकेडेमीका प्रबन्धक वसन्त पालुङवा लिम्बूले भने ।
नेपाली र अन्य स्थानीय भाषा तथा लिपिमा आफ्नो टाइपिङ क्षमता जाँच्न र सुधार गर्न पनि टाइपिङ टेस्टहरू उपलब्ध गराइएको येदेनले वताए । यसमा प्रिती फन्टलाई युनिकोडमा बदल्ने, रोमनबाट सिरिजंगा लिपिमा रूपान्तरण गर्ने जस्ता प्रयोगमा आउने टूल्स समावेश रहेको उनले बताए। टाइपिङ अभ्यासलाई रमाइलो बनाउन चार प्रकारका गेम पनि समावेश गरिएको छ । यसले खेल्दै–सिक्दै गर्न र शुद्धता बढाउन मद्दत गर्ने बसन्तले बताए।
