दोस्रो यल मेयर्स कप अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता : बालविनोद मावि प्रथम

प्रतियोगितामा हरेक विद्यालयलाई निश्चित समयभित्र कोडिङ गरी स्वचालित रोबोटिक्स मोड्युल तयार गर्न लगाइएको थियो । जसमा बालविनोद मावि प्रथम भएको छ भने महालक्ष्मी मावि र प्रभात मावि क्रमश: दोस्रो र तेस्रो भएका छन् ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — ललितपुरको सानेपामा बिहीबार दोस्रो यल मेयर्स कप अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता भएको छ । 

प्रतियोगितामा हरेक विद्यालयलाई निश्चित समयभित्र कोडिङ गरी स्वचालित रोबोटिक्स मोड्युल तयार गर्न लगाइएको थियो । जसमा बालविनोद मावि प्रथम भएको छ भने महालक्ष्मी मावि र प्रभात मावि क्रमश: दोस्रो र तेस्रो भएका छन् ।

रोबोटिक्स मोड्युल तयार गर्ने यो प्रतियोगितामा हरेक विद्यालयबाट चार जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, कार्यक्रममा विद्यालयहरूले आफ्नै सिर्जनशीलता प्रयोग गरी तयार गरेका स्वचालित रोबोटिक्स मोड्युलको प्रदर्शनीसमेत गरिएको थियो । जसमा हरेक विद्यालयबाट दुई-दुई जना सहभागी थिए । यसरी स्वचालित रोबोटिक्स प्रदर्शनीतर्फ हिन्दु विद्यापीठ मावि प्रथम, श्रमिक बालविज्ञान आधारभूत विद्यालय दोस्रो र जलपा माध्यमिक विद्यालय तेस्रो भए । 

दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 

सहभागी विद्यार्थीहरूको तर्फबाट बालविनोद माध्यमिक विद्यालयकी छात्रा सोनाली सिंले रोबोटिक्स कोडिङको प्रयोगले समूहकार्य गर्न सहज भएको र प्रतियोगितामा सहभागी हुँदा अन्य विद्यालयका विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गर्न पाएको बताइन् ।

सहभागी विद्यालयका प्रधानाध्यापकहरूमध्ये प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद दुलालले रोबोटिक्स प्रतियोगिताको तयारीका लागि नगरपालिकाले विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा यसको निरन्तरता आवश्यक रहेको बताए । 

ललितपुर महानगरपालिका र केडीडीआई फाउन्डेसन जापानको सहयोगमा साझा शिक्षा ई–पाटी नेपालले यो प्रतियोगिता संचालन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully