सामाजिक सञ्जाल प्लाटफर्मले एकपछि अर्को भिडियो निरन्तर देखाएर प्रयोगकर्तालाई स्क्रिनमा अड्काइरहने, उत्सुक बनाइरहने, केही छुट्यो कि भन्ने भाव सिर्जना गरिदिने गरी अल्गोरिदम, एआई र रेकमेन्डेसन प्रविधि विकास गरेको उनले बताउँदै आएकी छन् ।
What you should know
काठमाडौँ — पछिल्लो समय हर कोही सामाजिक सञ्जालको प्रभावबाट मुक्त छैनन्। कसैले यसको उचित प्रयोग गरेर फाइदा लिइरहेका छन् भने कोही भने यसबाट मानसिकरुपमा पीडितसम्म बन्न पुगेका छन्।
पीडित बन्न पुगेकाहरू फेसबुक, युट्युब, टिकटक, स्न्यापच्याटजस्ता एपको लतमा नै परेका छन्। आफूले मानसिक क्षति व्यहोर्न परेपछि अमेरिकाको क्यालिफोर्नियाकी १९ वर्षीया किशोरीले विभिन्न सामाजिक सञ्जाल प्लाटफमविरुद्ध अदालत गुहारेकी छिन्।
‘केजीएम’ नाम दिइएकी ती किशोरीले सामाजिक सञ्जाल प्लाटफर्मले गर्दा आफू मानसिक रूपमा गम्भीर किसिमले बिमारी परेको भन्दै मुद्दा दायर गरेपछि लस एन्जलसस्थित काउन्टी सुपेरियर अदालतले यसबारे सुनुवाइ गर्दै छ।
फेसबुक, युट्युब, टिकटक, स्न्यापच्याटजस्ता एप कसरी बनाइएका छन्, यिनमा प्रयोगकर्तालाई स्क्रिनमै अड्काइरहने प्रविधि राखिएको छ/छैन वा मानसिक स्वास्थ्य समस्याका लागि यी एप जिम्मेवार छन् कि छैनन् भन्नेबारे ६ देखि ८ साता लामो ‘जुरी ट्रायल’ हुने भएको हो ।
पीडित केजीएमले २०२३ मा दायर गरेको मुद्दामा ६ वर्षको उमेरदेखि आफूले युट्युब हेर्ने गरेको, ९ वर्षको हुँदा इन्स्टाग्राममा रमाउन थालेको तर त्यो रमाइलो क्रमशः कुलतमा बदलिएको उल्लेख गरेकी छन् । त्यसपछि आफू डिप्रेसन, सेल्फ–हार्म (आत्महानि) र आत्महत्याको सोचबाट गुज्रिनुपरेको उनले प्रारम्भिक सुनुवाइका क्रममा अदालतसमक्ष बयानमा बताएकी थिइन् ।
सामाजिक सञ्जाल प्लाटफर्मले एकपछि अर्को भिडियो निरन्तर देखाएर प्रयोगकर्तालाई स्क्रिनमा अड्काइरहने, उत्सुक बनाइरहने, केही छुट्यो कि भन्ने भाव सिर्जना गरिदिने गरी अल्गोरिदम, एआई र रेकमेन्डेसन प्रविधि विकास गरेको उनले बताउँदै आएकी छन् । एपहरूको डिजाइन नै प्रयोगकर्ताको ध्यान तान्ने गरी बनाइएको हुँदा आफू त्यसकै पासोमा परेको उनको तर्क छ ।
‘माध्यमिक विद्यालयमा छँदा कक्षाकोठा वा अन्य ठाउँमा फोन चलाउन नपाइने भएकाले म सुटुक्क काउन्सिलरको अफिसमा गएर एकछिन भए पनि लुकेर फोन चलाउँथें,’ केजीएमले बयानमा भनेकी छन्, ‘त्यसरी सामाजिक सञ्जाल एप चलाएकामा अहिले पछुतो लाग्छ ।’
किशोरीकी आमाले अदालतमा बुझाएको कागजपत्रमा पनि ‘छोरीको हातबाट फोन खोस्दा उनी कसैको मृत्यु भएझैं गरी ह्वाँह्वाँ रुने र चिच्याउने गर्थिन्’ भन्ने उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुर्ती–चुरोट अम्मलीलाई जस्तै सोसल मिडिया प्रयोगकर्तालाई छिनछिनमा एप खोल्ने तलतल हुने केजीएमको अनुभव छ । आफूलाई डिप्रेसनको समस्या देखिनु र आत्महत्याको सोच आउनुमा उनले सामाजिक सञ्जाल एपहरूलाई नै मुख्य जिम्मेवार ठहर्याएकी छन् ।
यस मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा ठीक अघि, टिकटकले भने गोप्य रूपमा उनीसँग मिलापत्र गरिसकेको रोयटर्सले जनाएको छ । यसअघि स्न्यापच्याटको प्यारेन्ट कम्पनी स्न्यापले पनि पीडित किशोरीसँग सम्झौता गरेर ट्रायलबाट बाहिरिने निर्णय गरेको थियो ।
मिलापत्रका विवरण भने सार्वजनिक भइसकेका छैनन् । यो कानुनी लडाइँमा अब फेसबुकको प्यारेन्ट कम्पनी मेटा र गुगलको युट्युब भने प्रतिवादीका रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
सामाजिक सञ्जालले व्यक्तिको जीवनमाथि पार्ने मानसिक क्षतिबारे अदालतमा भइरहेको बहस लगायतका पक्ष समेटेर तयार पारिएको विस्तृत स्टोरी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पूरा स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्।
