तीन महिनामा टिकटकले हटायो २८ लाखभन्दा धेरै नेपाली भिडियो

विश्वव्यापी रूपमा भने टिकटकले कम्युनिटी गाइडलाइन्सविपरीतका २० करोड ४० लाखभन्दा धेरै भिडियो हटाएको थियो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

TikTok removed more than 2.8 million Nepali videos in three months

काठमाडौँ — टिकटकले तीन महिनाको अवधिमा नेपालका २८ लाखभन्दा धेरै भिडियो हटाएको छ ।

सन् २०२५ को तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार टिकटकले जुलाईदेखि सेप्टेम्बरमा आफ्ना कम्युनिटी गाइडलाइन्सविपरीत रहेका सामग्री हटाएको जानकारी दिएको छ । 

नेपालमा सामग्री हटाउने सक्रिय दर ९९.७ प्रतिशत रहेको र हटाइएका मध्ये ९८ प्रतिशत भिडियोहरू २४ घण्टाभित्रै हटाइएको विज्ञप्तिमा भनिएको छ । हटाइएका भिडियोमध्ये ३० प्रतिशत संवेदनशील वा वयस्क विषयवस्तुका रहेका थिए ।

करिब ३२.९ प्रतिशत भिडियो गलत सूचना फैलाएको कारण ‘फ्ल्याग’ गरी हटाइएका थिए । त्यस्तै, ३४.४ प्रतिशत भिडियोहरू सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका सामग्रीका रूपमा पहिचान भएका थिए । अन्य भिडियोहरूले सुरक्षा, सभ्यता र गोपनीयतासम्बन्धी मापदण्ड उल्लंघन गरेकाले हटाइएको कम्पनीले जनाएको छ ।

'हटाइएका भिडियोहरूमध्ये १८ करोड ६६ लाख ८ हजार ८१ वटा भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८९ लाख ५० हजार ७ सय ३५ भिडियो पुनःस्थापना गरिएका थिए,' विज्ञप्तिमा भनिएको छ, 'यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्सविपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्‍याएको छ ।' 

टिकटकले यस अवधिमा विश्वव्यापी रूपमा भने २० करोड ४० लाखभन्दा धेरै भिडियो हटाएको थियो । यो भनेको यस प्लाटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.७ प्रतिशत मात्र भएको कम्पनीले जनाएको छ ।

यसैगरी, विश्वभरबाट ११ करोड ८६ लाखभन्दा बढी नक्कली अकाउन्ट पनि बन्द गरिएका छन् । प्रयोगकर्ताको उमेर १३ वर्षभन्दा कम हुन सक्ने आशंकामा थप २ करोड २२ लाखभन्दा बढी अकाउन्ट हटाइएको टिकटकले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully