टिकटकले युरोपमा उमेर प्रमाणिकरण प्रविधि लागू गर्ने

युरोपेली नियामकको दबाबपछि टिकटकले १३ वर्षमुनिका प्रयोगकर्तालाई प्लाटफर्ममा पहुँच सीमित गर्न 'एज भेरिफिकेसन प्रणाली' लागू गर्दै बालबालिकाको सुरक्षामा जोड दिने भएको छ ।

माघ ५, २०८२

एजेन्सी

TikTok to implement age verification technology in Europe

What you should know

काठमाडौँ — टिकटकले युरोपमा प्रयोगकर्ताको उमेर पत्ता लगाउने प्रविधि प्रयोगमा ल्याउने भएको छ । १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता पहिचान गर्न टिकटकले एज भेरिफिकेसन सिस्टम लागू गर्न लागेको रोयटर्सले जनाएको छ । 

सो प्रणालीले प्रयोगकर्ताको प्रोफाइल विवरण, पोस्ट गरिएका भिडियो र अन्य गतिविधिहरूका आधारमा प्रयोकर्ता १३ वर्षभन्दा कम उमेरका हुन् कि होइनन् भन्ने निर्क्योल गर्छ । प्रणालीले कुनै एकाउन्ट पहिचान गरेमा त्यसलाई स्वत: प्रतिबन्ध नलगाइ टिकटकका विशिष्ट मोडरेटरहरूले समीक्षा गर्ने जनाएको छ ।

आउँदो हप्ताभर युरोपमा उमेर पहिचान गर्ने प्रणाली लागू गरिसक्ने टिकटकले रोयटर्सलाई जानकारी दिएको छ । कम्पनीले गत वर्ष बेलायतमा यस प्रणालीको परीक्षण गरेको थियो । युरोपको नियामकीय प्रावधानअनुरुप सो प्रणाली विशेषरूपमा डिजाइन गरिएको टिकटकले जनाएको छ ।

सामाजिक सञ्जाल प्लाटफर्महरूलाई बालबालिकाको सुरक्षामा जोड दिन युरोपेली नियामकहरूले निकै दबाब दिइरहेका छन् । विशेषगरी प्लाटफर्म चलाउन तोकिएको न्यूनतम उमेरको नियम कडाइका साथ पालना गर्न नियामकले निर्देशन दिएका छन् । बालबालिकाहरूलाई अनलाइनमा हुनसक्ने सम्भावित जोखिमबाट बचाउने उदेश्यले यस्तो दबाब दिइएको हो ।

युरोपेली देशहरूमा अस्ट्रेलियाले जस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तलाई सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाउनुपर्ने आवाज बढ्दै गएपछि टिकटकले एज भेरिफिकेसन प्रविधि लागू गर्ने जनाएको हो । द गार्जियनका अनुसार बालबालिकाहरूमाझ लोकप्रिय टिकटक, युट्युबजस्ता प्लाटफर्मलाई उमेर प्रमाणिकरण प्रणाली लागू गरेर कम उमेरका प्रयोगकर्ताको खाता बन्द गर्न दबाब बढेको छ ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई लिएर विश्वभर ठूलो चिन्ता र बहस शुरु भएको छ ।  चिकित्सक, अनुसन्धानकर्ता र सरकारहरूले बालबालिकाको बौद्धिक विकासमा यसले पार्ने नकारात्मक प्रभावलाई लिएर चेतावनी दिइरहेका छन् । कतिपय अध्ययनका अनुसार अरूसँग आफ्नो जीवन तुलना गर्ने,  लाइक र कमेन्टको पछि लाग्ने बानीले उनीहरूको आत्मविश्वास घटाउने गरेको छ । 

गत महिना मात्रै सिंगापुरको एजन्सी फर साइन्स, टेक्नोलोजी एन्ड रिसर्च र नेसनल युनिभर्सिटी अफ सिंगापुरले प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा शिशु अवस्था दिमाग विकासका लागि अत्यन्त संवेदनशील समय भएको र यही चरणमा अत्यधिक डिजिटल एक्स्पोजरले सन्तुलित दिमागी विकासको सट्टा केही स्नायु मार्गहरू समयभन्दा अगाडि नै सक्रिय गरिदिन सक्ने उल्लेख थियो । स्क्रिनबाट आउने तीव्र दृश्य र ध्वनि उत्तेजनाले केही स्नायु छिट्टै विकसित भए पनि उच्च तहको सोच, आत्मनियन्त्रण र निर्णय क्षमतासँग सम्बन्धित कार्यहरू अपेक्षाकृत कमजोर रहन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।

एजेन्सी

Link copied successfully