मलेसिया र इन्डोनेसियाले विश्वमा पहिलोपटक एआई टुलमा प्रतिबन्ध लगाएका छन् । एक्सले अश्लील एआई सामग्री रोक्न प्लाटफर्मस्तरीय सुरक्षामा गम्भीर लापरबाही गरेको नियामक निकाय र विज्ञहरूको टिप्पणी छ ।
What you should know
काठमाडौँ — इलन मस्कको कम्पनी एक्सएआईले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ग्रोकले अश्लील डिपफेक कन्टेन्ट बनाउन थालेको भन्दै दुई दक्षिणपूर्वी एसियाली देशले यसको पहुँच ब्लक गर्ने निर्णय गरेका हुन् ।
माइक्रोब्लगिङ साइट ‘एक्स’ भित्र रहेको ग्रोकले प्रयोगकर्ताको ‘कमान्ड’बमोजिम तस्बिर जेनेरेट र सम्पादन गरिदिन्छ । पछिल्ला केही दिनयता कतिपय प्रयोगकर्ताले महिला, सेलेब्रिटी, बालबालिका र आम प्रयोगकर्ताका तस्बिर अपलोड गर्दै ‘यसलाई बिकिनी लगाइदेऊ’ वा ‘लुगा हटाइदेऊ’ जस्ता आपत्तिजनक कमान्ड दिएर अर्धनग्न बनाउन गरेका थिए । ग्रोकले त्यस्ता कमान्ड अस्वीकार गर्नुको सट्टा पालना गरिदिएपछि विवाद चुलिएको हो ।
मलेसिया र इन्डोनेसियाले महिला र बालबालिकाका तस्बिर दुरुपयोग गरी ग्रोकबाट पोर्नोग्राफिक वा सहमतिबेगरका तस्बिर बनाउन सकिने जोखिम रहेको भन्दै यसलाई प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
दुवै देशका सञ्चार मन्त्रालयले आ-आफ्नो वक्तव्यमा ग्रोकमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोगले आइतबार दिएको जानकारी अनुसार यस वर्षको सुरुतिर मलेसियाले एक्सलाई ग्रोकमार्फत हानिकारक सामग्रीहरू बनिरहेको हुँदा त्यसमा कडा कदम चाल्न निर्देशन दिए पनि एक्सले सो निर्देशन पालना गर्न सकेन ।
त्यस्तै, इन्डोनेसियाको सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले इन्स्टाग्राममा पोस्ट गर्दै ग्रोकको प्रयोग गरेर यौनजन्य) कन्टेन्ट उत्पादन गर्नु मानव अधिकार, मर्यादा र अनलाइन सुरक्षाको उल्लङ्घन भएको बताएकी छन् । यस विषयमा मन्त्रालयले एक्सलाई स्पष्टीकरण मागेको छ । यौनजन्य अनलाइन सामग्री प्रस्तुत गर्ने वन्लीफ्यान्स, पोर्नहबजस्ता प्लाटफर्महरूमा पनि इन्डोनेसियाले यसअघि प्रतिबन्ध लगाइसकेको छ ।
बेलायतमा पनि ग्रोकलाई लिएर आलोचना र प्रतिबन्धको गाइँगुइँ सुनिएको छ । बेलायती सञ्चार नियामक अफकमले यसबारे चाँडै निर्णय गर्ने बीबीसीले जनाएको छ । ग्रोकले यौनजन्य तस्बिर जेनेरेट गरिदिएको विषयलाई प्रधानमन्त्री केयर स्टार्मरले ‘घृणित’ र ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।
