काठमाडौंमा एआई सम्मेलन : एआईलाई च्याटबटमा सीमित नगरी कार्यसम्पादनमा जोड्नुपर्छ

‘वेब विकेन्ड काठमाडौं’ द्वारा आयोजित सम्मेलनमा ४ सयभन्दा बढी सफ्टवेयर इन्जिनियर, डिजाइनर र प्रविधि विज्ञ सहभागी थिए ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

AI conference in Kathmandu: AI should not be limited to chatbots but should be linked to work performance

What you should know

काठमाडौँ — प्रविधि जगत्‌मा अहिले एउटा बहस निकै पेचिलो बनेको छ, के आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले व्यक्तिको ठाउँ लेला ? वा यसले व्यक्तिको कार्यक्षमतालाई गुणात्मक रूपमा बढाउला ?

शनिबार काठमाडौंमा सम्पन्न ‘वेब विकेन्ड काठमाडौं’ को एआई कन्फ्रेन्सले यही प्रश्नको सेरोफेरोमा बहस गरेको छ । नेपालसहित विभिन्न मुलुकका ४ सयभन्दा बढी सफ्टवेयर इन्जिनियर, डिजाइनर र प्रविधि विज्ञ सहभागी सम्मेलनमा एआईलाई केवल ‘च्याटबट’ को घेराभित्र मात्र सीमित नगरी वास्तविक कार्यसम्पादन र मानवीय मूल्यसँग कसरी जोड्ने भन्ने विषयमा मन्थन भएको छ ।

सम्मेलनका वक्ता तथा लिपफ्रग टेक्नोलोजीका एआई प्रमुख मनु चटर्जीले एआईको वर्तमान अवस्था र यसको प्राविधिक सीमाबारे चर्चा गर्दै यसलाई जादुभन्दा पनि एउटा शक्तिशाली औजारका रूपमा बुझ्नुपर्नेमा जोड दिए । ‘एआई भनेको केवल प्रश्न सोध्ने र उत्तर दिने च्याटबट मात्र हो भन्ने बुझाइ अपूरो छ,’ चटर्जीले भने, ‘यसको वास्तविक सामर्थ्य अव्यवस्थित र छरिएका तथ्यांकलाई कसरी अर्थपूर्ण निर्णयमा बदल्ने भन्नेमा लुकेको छ ।’

प्रविधिमा आएको ठूलो फड्कोको चर्चा गर्दै उनले पहिले व्यक्तिले योजना बनाउने र कम्प्युटरले काम गर्ने परिपाटी रहेकामा अब कम्प्युटरले नै योजना बनाएर काम सक्ने क्षमता विकास भएको बताए । यद्यपि, उनले ‘लार्ज ल्यांग्वेज मोडल (एलएलएम)’ लाई पूर्ण विश्वास गरिहाल्न नहुने चेतावनी पनि दिए । उनका अनुसार एलएलएम कुनै डाटाबेस खोज्ने मेसिन होइन, बरु यो एउटा ‘गेसिङ मेसिन’ हो, जसले प्याटर्नका आधारमा सम्भावित नतिजा निकाल्छ । एआईमा देखिने ‘हलुसिनेसन’ (गलत सूचना दिने प्रवृत्ति) लाई यसको कमजोरी मात्र नभई नयाँ कुरा सिर्जना गर्ने क्षमताको एउटा पाटोका रूपमा बुझ्न चटर्जीले आग्रह गरे ।

AI conference in Kathmandu: AI should not be limited to chatbots but should be linked to work performance

‘डेटाजोर्नी एचक्यू’ की संस्थापक सायन्तिका बानुकले एआईलाई एउटा ‘ब्ल्याक बक्स’ को संज्ञा दिँदै यसको व्यावसायिक प्रयोगमा सावधानी अपनाउनुपर्ने बताइन् । ‘एआई अहिले इन्टरनेटको आगमनजत्तिकै शक्तिशाली मोडमा छ । तर एआईले प्रयोगकर्ताका लागि थप अल्झन पैदा गर्छ भने त्यहाँ सुधारको खाँचो छ,’ उनले भनिन् । बानुकले स्टार्टअप र उद्यमीहरूलाई सुझाव दिँदै आफ्नो व्यावसायिक तर्कलाई एआई मोडलको अस्थिर प्रकृतिबाट अलग राख्न सुझाव दिइन् । प्रविधि परिवर्तन भइरहने भएकाले व्यवसायको ‘मुख्य मस्तिष्क’ लाई सुरक्षित राख्दै एआईलाई एउटा सहयोगी तहका रूपमा मात्र प्रयोग गर्नुपर्ने उनको तर्क थियो ।

सिलिकन भ्यालीको चर्चित नारा ‘मुभ फास्ट एन्ड ब्रेक थिंग्स’ (छिटो अघि बढ र चीजहरू भत्काऊ) को शैलीलाई एआई अनुसन्धानकर्ता हाइहाओ लिउले चुनौती दिएका छन् । ट्रिनिटी एजुकेसनका संस्थापकसमेत रहेका लिउले एआईको विकासमा मानवीय संवेदना र नैतिकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘म व्यक्तिहरूलाई अलिकति सुस्त हुन (स्लो डाउन) प्रोत्साहित गर्छु,’ कछुवा र खरायोको कथा स्मरण गर्दै उनले भने, ‘छिटो दौडनुको अर्थ सधैं जित्नु होइन । दीर्घकालीन सफलताका लागि सोच्न र बुझ्न समय चाहिन्छ ।’ उनले एआईको क्षेत्रमा ‘ठूलो हुनु नै राम्रो हुनु’ (बिगर इज बेटर) को भ्रम त्यागेर कम ऊर्जा खपत गर्ने, सुरक्षित र वास्तविक संसारको आवश्यकता पूरा गर्ने साना र प्रभावकारी मोडलहरूमा लगानी गर्नुपर्ने धारणा राखे ।

प्लाटफर्म इन्जिनियर भ्लाद डियानचेन्कोले भने ‘प्रोग्रामिङ ल्यांग्वेज’ को भविष्यबारे फरक कोण प्रस्तुत गरे । उनका अनुसार एआई युगका लागि पूर्ण रूपमा उपयुक्त प्रोग्रामिङ भाषा अझै जन्मिसकेको छैन । ‘विजेता त्यही भाषा हुनेछ जुन संक्षिप्त, अर्थपूर्ण र एआई एजेन्टहरूका लागि मैत्रीपूर्ण हुनेछ,’ उनले भने । हाल ‘पाइथन र टाइपस्क्रिप्ट’ लोकप्रिय हुनुको कारण ती उत्कृष्ट भएर नभई तिनको ठूलो समुदाय र ‘जनरल पर्पस’ प्रकृतिका कारण भएको उनको विश्लेषण छ ।

एआई विज्ञ दोभान राईले एआईको ‘बौद्धिक क्षमता’ माथि नै प्रश्न उठाएकी छन् । ‘कुनै एआई प्रणालीले चलाखीपूर्ण व्यवहार देखाउँदैमा त्यसको पछाडि बलियो वर्ल्ड मोडल (संसारलाई बुझ्ने दृष्टिकोण) छ भन्ने हुँदैन,’ राईले भनिन् । उनले एआईले मानवताबारे अझ बढी चर्चा गर्न बाध्य पारेको सकारात्मक पाटो औंल्याइन् तर बुझाइबिनाको ‘एजेन्टिक एआई’ (निर्णय लिन सक्ने एआई) प्रति चिन्ता व्यक्त गरिन् । ‘एआईसँग उच्च निर्णय क्षमता छ तर मानवीय संवेदना र वास्तविक बुझाइ शून्य छ भने त्यो निकै डरलाग्दो परिदृश्य हुन सक्छ,’ उनको तर्क थियो ।

AI conference in Kathmandu: AI should not be limited to chatbots but should be linked to work performance

सम्मेलनमा एआईको व्यावहारिक प्रयोगको उदाहरण दिँदै २१ वर्षीय इन्जिनियर अमित तिमल्सिनाले स्वास्थ्य क्षेत्रको चर्चा गरे । एआई क्षेत्रमा ५ वर्षको अनुभव बटुलेका अमितले विशेषगरी औषधिको क्लिनिकल ट्रायल प्रक्रियामा एआईले ल्याउन सक्ने परिवर्तनबारे बताए । ‘हाल एउटा औषधि वा खोपको ट्रायल स्वीकृत हुन करिब ८ वर्षसम्म लाग्ने गरेको छ । जेनेरेटिभ एआईको प्रयोगमार्फत यो समय र जटिलतालाई उल्लेख्य रूपमा घटाउन सकिन्छ,’ उनले भने । जटिल मेडिकल कागजातबाट सही जानकारी निकाल्ने र क्लिनिकल प्रक्रियालाई सरल बनाउने आर्किटेक्चरले भविष्यमा स्वास्थ्य सेवालाई सुलभ बनाउने उनको दाबी थियो ।

वेब विकेन्ड काठमाडौंका अभिनाश कुण्डलियाका अनुसार कार्यक्रमले नेपाली प्रविधि क्षेत्रका सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण भरेको छ । सम्मेलनले एआईलाई केवल सफ्टवेयरको एउटा पाटो मात्र नभई यसलाई सामाजिक, आर्थिक र दार्शनिक पाटोबाट समेत विश्लेषण गर्नुपर्ने सन्देश दिएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully