‘वेब विकेन्ड काठमाडौं’ द्वारा आयोजित सम्मेलनमा ४ सयभन्दा बढी सफ्टवेयर इन्जिनियर, डिजाइनर र प्रविधि विज्ञ सहभागी थिए ।
What you should know
काठमाडौँ — प्रविधि जगत्मा अहिले एउटा बहस निकै पेचिलो बनेको छ, के आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले व्यक्तिको ठाउँ लेला ? वा यसले व्यक्तिको कार्यक्षमतालाई गुणात्मक रूपमा बढाउला ?
शनिबार काठमाडौंमा सम्पन्न ‘वेब विकेन्ड काठमाडौं’ को एआई कन्फ्रेन्सले यही प्रश्नको सेरोफेरोमा बहस गरेको छ । नेपालसहित विभिन्न मुलुकका ४ सयभन्दा बढी सफ्टवेयर इन्जिनियर, डिजाइनर र प्रविधि विज्ञ सहभागी सम्मेलनमा एआईलाई केवल ‘च्याटबट’ को घेराभित्र मात्र सीमित नगरी वास्तविक कार्यसम्पादन र मानवीय मूल्यसँग कसरी जोड्ने भन्ने विषयमा मन्थन भएको छ ।
सम्मेलनका वक्ता तथा लिपफ्रग टेक्नोलोजीका एआई प्रमुख मनु चटर्जीले एआईको वर्तमान अवस्था र यसको प्राविधिक सीमाबारे चर्चा गर्दै यसलाई जादुभन्दा पनि एउटा शक्तिशाली औजारका रूपमा बुझ्नुपर्नेमा जोड दिए । ‘एआई भनेको केवल प्रश्न सोध्ने र उत्तर दिने च्याटबट मात्र हो भन्ने बुझाइ अपूरो छ,’ चटर्जीले भने, ‘यसको वास्तविक सामर्थ्य अव्यवस्थित र छरिएका तथ्यांकलाई कसरी अर्थपूर्ण निर्णयमा बदल्ने भन्नेमा लुकेको छ ।’
प्रविधिमा आएको ठूलो फड्कोको चर्चा गर्दै उनले पहिले व्यक्तिले योजना बनाउने र कम्प्युटरले काम गर्ने परिपाटी रहेकामा अब कम्प्युटरले नै योजना बनाएर काम सक्ने क्षमता विकास भएको बताए । यद्यपि, उनले ‘लार्ज ल्यांग्वेज मोडल (एलएलएम)’ लाई पूर्ण विश्वास गरिहाल्न नहुने चेतावनी पनि दिए । उनका अनुसार एलएलएम कुनै डाटाबेस खोज्ने मेसिन होइन, बरु यो एउटा ‘गेसिङ मेसिन’ हो, जसले प्याटर्नका आधारमा सम्भावित नतिजा निकाल्छ । एआईमा देखिने ‘हलुसिनेसन’ (गलत सूचना दिने प्रवृत्ति) लाई यसको कमजोरी मात्र नभई नयाँ कुरा सिर्जना गर्ने क्षमताको एउटा पाटोका रूपमा बुझ्न चटर्जीले आग्रह गरे ।
‘डेटाजोर्नी एचक्यू’ की संस्थापक सायन्तिका बानुकले एआईलाई एउटा ‘ब्ल्याक बक्स’ को संज्ञा दिँदै यसको व्यावसायिक प्रयोगमा सावधानी अपनाउनुपर्ने बताइन् । ‘एआई अहिले इन्टरनेटको आगमनजत्तिकै शक्तिशाली मोडमा छ । तर एआईले प्रयोगकर्ताका लागि थप अल्झन पैदा गर्छ भने त्यहाँ सुधारको खाँचो छ,’ उनले भनिन् । बानुकले स्टार्टअप र उद्यमीहरूलाई सुझाव दिँदै आफ्नो व्यावसायिक तर्कलाई एआई मोडलको अस्थिर प्रकृतिबाट अलग राख्न सुझाव दिइन् । प्रविधि परिवर्तन भइरहने भएकाले व्यवसायको ‘मुख्य मस्तिष्क’ लाई सुरक्षित राख्दै एआईलाई एउटा सहयोगी तहका रूपमा मात्र प्रयोग गर्नुपर्ने उनको तर्क थियो ।
सिलिकन भ्यालीको चर्चित नारा ‘मुभ फास्ट एन्ड ब्रेक थिंग्स’ (छिटो अघि बढ र चीजहरू भत्काऊ) को शैलीलाई एआई अनुसन्धानकर्ता हाइहाओ लिउले चुनौती दिएका छन् । ट्रिनिटी एजुकेसनका संस्थापकसमेत रहेका लिउले एआईको विकासमा मानवीय संवेदना र नैतिकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘म व्यक्तिहरूलाई अलिकति सुस्त हुन (स्लो डाउन) प्रोत्साहित गर्छु,’ कछुवा र खरायोको कथा स्मरण गर्दै उनले भने, ‘छिटो दौडनुको अर्थ सधैं जित्नु होइन । दीर्घकालीन सफलताका लागि सोच्न र बुझ्न समय चाहिन्छ ।’ उनले एआईको क्षेत्रमा ‘ठूलो हुनु नै राम्रो हुनु’ (बिगर इज बेटर) को भ्रम त्यागेर कम ऊर्जा खपत गर्ने, सुरक्षित र वास्तविक संसारको आवश्यकता पूरा गर्ने साना र प्रभावकारी मोडलहरूमा लगानी गर्नुपर्ने धारणा राखे ।
प्लाटफर्म इन्जिनियर भ्लाद डियानचेन्कोले भने ‘प्रोग्रामिङ ल्यांग्वेज’ को भविष्यबारे फरक कोण प्रस्तुत गरे । उनका अनुसार एआई युगका लागि पूर्ण रूपमा उपयुक्त प्रोग्रामिङ भाषा अझै जन्मिसकेको छैन । ‘विजेता त्यही भाषा हुनेछ जुन संक्षिप्त, अर्थपूर्ण र एआई एजेन्टहरूका लागि मैत्रीपूर्ण हुनेछ,’ उनले भने । हाल ‘पाइथन र टाइपस्क्रिप्ट’ लोकप्रिय हुनुको कारण ती उत्कृष्ट भएर नभई तिनको ठूलो समुदाय र ‘जनरल पर्पस’ प्रकृतिका कारण भएको उनको विश्लेषण छ ।
एआई विज्ञ दोभान राईले एआईको ‘बौद्धिक क्षमता’ माथि नै प्रश्न उठाएकी छन् । ‘कुनै एआई प्रणालीले चलाखीपूर्ण व्यवहार देखाउँदैमा त्यसको पछाडि बलियो वर्ल्ड मोडल (संसारलाई बुझ्ने दृष्टिकोण) छ भन्ने हुँदैन,’ राईले भनिन् । उनले एआईले मानवताबारे अझ बढी चर्चा गर्न बाध्य पारेको सकारात्मक पाटो औंल्याइन् तर बुझाइबिनाको ‘एजेन्टिक एआई’ (निर्णय लिन सक्ने एआई) प्रति चिन्ता व्यक्त गरिन् । ‘एआईसँग उच्च निर्णय क्षमता छ तर मानवीय संवेदना र वास्तविक बुझाइ शून्य छ भने त्यो निकै डरलाग्दो परिदृश्य हुन सक्छ,’ उनको तर्क थियो ।
सम्मेलनमा एआईको व्यावहारिक प्रयोगको उदाहरण दिँदै २१ वर्षीय इन्जिनियर अमित तिमल्सिनाले स्वास्थ्य क्षेत्रको चर्चा गरे । एआई क्षेत्रमा ५ वर्षको अनुभव बटुलेका अमितले विशेषगरी औषधिको क्लिनिकल ट्रायल प्रक्रियामा एआईले ल्याउन सक्ने परिवर्तनबारे बताए । ‘हाल एउटा औषधि वा खोपको ट्रायल स्वीकृत हुन करिब ८ वर्षसम्म लाग्ने गरेको छ । जेनेरेटिभ एआईको प्रयोगमार्फत यो समय र जटिलतालाई उल्लेख्य रूपमा घटाउन सकिन्छ,’ उनले भने । जटिल मेडिकल कागजातबाट सही जानकारी निकाल्ने र क्लिनिकल प्रक्रियालाई सरल बनाउने आर्किटेक्चरले भविष्यमा स्वास्थ्य सेवालाई सुलभ बनाउने उनको दाबी थियो ।
वेब विकेन्ड काठमाडौंका अभिनाश कुण्डलियाका अनुसार कार्यक्रमले नेपाली प्रविधि क्षेत्रका सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण भरेको छ । सम्मेलनले एआईलाई केवल सफ्टवेयरको एउटा पाटो मात्र नभई यसलाई सामाजिक, आर्थिक र दार्शनिक पाटोबाट समेत विश्लेषण गर्नुपर्ने सन्देश दिएको उनले बताए ।
