एनभिडियाले ‘अल्पामायो’ नामक प्रणाली सार्वजनिक गरेको छ । कम्पनी अब ‘फिजिकल एआई’को नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै कम्पनीका प्रमुख जेनसेन हुआङले मंगलबार यस प्रविधिबारे व्याख्या गरेका थिए ।
What you should know
काठमाडौँ — अमेरिकाको लस भेगासमा सुरु भएको सेस टेक्नोलोजी सम्मेलनको पहिलो दिन एनभिडियाले एआई ड्राभिङ प्रणाली सार्वजनिक गरेको हो । ‘अल्पामायोले अप्ठ्यारा र जटिल ठाउँमा पनि सुरक्षित ड्राइभिङ सुनिश्चित गर्दै गाडीलाई मानिसले जस्तै सोचेर निर्णय लिन मद्दत गर्छ,’ हुआङले भनेका छन्, ‘यसले आफ्नो ड्राइभिङ डिसिजनबारे तर्क दिन सक्छ ।’
हुआङका अनुसार जर्मन कार निर्माता, मर्सिडीज-बेन्जसँग मिलेर एनभिडियाले आफ्नो प्रविधिबाट चल्ने चालकरहित कार ‘मर्सिडिज-बेन्ज सीएलए’ को उत्पादन सुरु गरिसकेको छ । उक्त कार केही महिनाभित्रै अमेरिका र त्यसपछि युरोप र एसियामा सार्वजनिक गरिने उनले जानकारी दिएका छन् । ‘आज हामीले उद्घाटन गरेको अल्पामायो स्वचालित सवारीका लागि विश्वकै पहिलो थिंकिङ मोडल हो,’ हुआङले भनेका छन्, ‘यसले तपाईंको कारलाई तपाईंलेझैँ चलाउन मात्र होइन, तपाईंलेझैं सोच्ने बनाउँछ ।’
हुआङले एआई क्षेत्रमा अल्पामायोको प्रवेशलाई ‘फिजिकल एआईको च्याटजीपीटी’ क्षणका रूपमा व्याख्या गरेका छन् । फिजिकल एआई भनेको सफ्टवेयरमा मात्र नभएर मेसिन, रोबोट वा डिभाइससँग मिलेर काम गर्ने प्रविधि हो । च्याटबट, गुगल सर्च, नेटफ्लिक्स रेकमेन्डेसनजस्ता सफ्टवेयरमा सीमित एआईको सट्टा फिजिकल एआई भने रोबट, ड्रोन, सेल्फ ड्राइभिङ कारलगायतमा समाहित हुन्छ ।
‘यसअघि शक्तिशाली प्रोसेसर वा चिप बनाउने कम्पनीका रूपमा चिनिएको एनभिडिया अब फिजिकल एआई इकोसिस्टमलाई आवश्यक पर्ने सफ्टवेयर, एआई मोडल र प्लाटफर्म सेवा प्रदायकका रूपमा पनि अग्रसर भएको छ,’ विश्लेषक पाउलो पेस्काटोरले बीबीसीसँग भनेका छन्, ‘एनभिडियाले यसरी विशिष्ट एआई प्रणालीहरूमा जोड दिएसँगै यसले कम्पनीलाई आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि राख्न मद्दत गर्नेछ ।’
हुआङले प्रत्येक कार र प्रत्येक ट्रकलाई स्वचालित बनाउने लक्ष्यसहित काम गरिरहेको बताएका छन् । यस क्षेत्रमा एनभिडियाको आक्रामक प्रवेशले इलन मस्कको टेस्ला जस्ता अन्य कम्पनीलाई भने ठूलो चुनौती सिर्जना गर्ने बीबीसीकी प्रविधि संवाददाता लिली जमालीले लेखेकी छन् । टेस्लाले पनि ‘अटोपाइलट’ नामक ड्राइभर एसिस्टेन्ट सफ्टवेयर निर्माण र बिक्री गर्दै आएको छ । ‘टेस्लाले गर्दै आएको पनि ठ्याक्कै यही हो,’ अल्पमायो सार्वजनिक भएपश्चात मस्कले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘यो निमार्णमा ९९ प्रतिशत सफलता हासिल गर्न सहज छ तर त्यसपछिको बिक्री-वितरण भने असाध्यै जटिल ।’
