ओटीटी प्लाटफर्म हाम्रो नियन्त्रणभन्दा बाहिर छन् : एनसेल

कम्पनीका अनुसार हाल देखिएका ओटीपी स्क्याम, कलाकारहरूको नाम र तस्बिर दुरुपयोग गरेर गरिने छद्मभेषी कार्य (इमपर्सनेसन) र ब्ल्याकमेलिङजस्ता अधिकांश ठगीहरू सोसल इन्जिनियरिङकै स्वरूप हुन् ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

OTT platforms are beyond our control: Ncell

What you should know

काठमाडौँ — पछिल्लो समय देखा परेका अनलाइन ठगीका घटनाहरू प्राविधिक त्रुटिका कारण नभई विशेष गरी मानवीय स्वभाव र कमजोरीको फाइदा उठाउने ‘सोसल इन्जिनियरिङ’ का कारण भइरहेको एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार हाल देखिएका ओटीपी स्क्याम, कलाकारहरूको नाम र तस्बिर दुरुपयोग गरेर गरिने छद्मभेषी कार्य (इमपर्सनेसन) र ब्ल्याकमेलिङजस्ता अधिकांश ठगीहरू सोसल इन्जिनियरिङकै स्वरूप हुन् । 

केही समययता कलाकार र इन्फ्लुएन्सरहरूको नाम तथा फोटो दुरुपयोग गरी ह्वाट्सएप र भाइबरजस्ता प्लाटफर्ममार्फत पैसा माग्ने र नजिकका व्यक्तिहरूलाई ठग्ने प्रवृत्ति बढिरहेको छ । यस विषयमा प्रतिक्रिया दिँदै दूरसञ्चार सेवा प्रदायक, एनसेलले प्रयोगकर्ताको सचेतना नै सबैभन्दा बलियो समाधानको उपाय भएको जनाएको छ ।

डेटा र सामाजिक सञ्जालमा पहुँच बढेसँगै ठगी गर्ने र खराब मनसाय भएका मानिसहरूलाई कानुनले प्रतिबन्ध लगाएका गतिविधि गर्न सहज भएको उल्लेख गर्दै एनसेलले कुनै नम्बर अनधिकृत प्रयोगमा संलग्न भएको पाएमा कानुनबमोजिम ब्लक गर्ने गरिएको जनाएको छ ।

‘थुप्रै ठगीसम्बन्धी समस्याहरू दूरसञ्चार सेवा प्रदायकको नियन्त्रणभन्दा बाहिर हुन्छन्,’ कम्पनीले भनेको छ, ‘यस्ता समस्याविरुद्ध जुध्न एनसेलले नियामकीय र आन्तरिक पक्रिया पूरा गर्ने गरेको छ । तथापि, प्रयोगकर्ताको सचेतना र जिम्मेवार प्रयोग नै यस समस्याको प्रमुख समाधानको उपाय हो । अनलाइन गतिविधिमा ग्राहकहरू सचेत हुन र ठगीका साझा तरिकाहरूबारे थाहा पाइराख्न जरुरी छ ।’

सिमकार्ड दुरुपयोग वा ठगीका उजुरीमा बलियो प्रमाण आवश्यक पर्ने र पीडितले पहिले प्रहरीमा औपचारिक उजुरी दर्ता गर्नुपर्ने एनसेलले स्पष्ट पारेको छ । त्यसपछि सरकारी अधिकारीहरूबाट आधिकारिक पत्र प्राप्त भएपछि मात्रै कम्पनीले आवश्यक कदम चाल्ने जनाएको छ । ‘कसैलाई आफू अनलाइन ठगीको निशानामा परेको महसुस भएमा, सबैभन्दा पहिले आफ्नो फोन वा सिमकार्डमा अरू कसैको पहुँच नभएको सुनिश्चित गर्नुपर्छ,’ कम्पनीले सुझाव दिएको छ, ‘त्यसपछि, आफ्नो वित्तीय कारोबारहरू जाँच गर्ने, इमेल, बैंकिङ र सामाजिक सञ्जाल खाताहरूको पासवर्डहरू अद्यावधिक गर्नुपर्छ ।’ मल्टी-फ्याक्टर अथेन्टिकेसन इनेबल गर्न र सो घटनाबारे दूरसञ्चार सेवा प्रदायक, बैंक र प्रहरीलाई उजुरी गर्न भनेको छ ।

एनसेलले प्राप्त गर्ने उजुरीहरूसम्बन्धित ओटीटी प्रदायकसमक्ष पनि पुर्‍याइने कम्पनीले स्पष्ट पारेको छ । साथै, यी एपहरूमा ठगी र स्क्यामबारे सिधै रिपोर्ट गर्न मिल्ने सुविधा भएकाले त्यसको प्रयोग गर्न सुझाएको छ । ह्वाट्सएप र भाइबरजस्ता ओटीटी प्लाटफर्महरूको सन्दर्भमा यी एपहरू दूरसञ्चार कम्पनीहरूको नियन्त्रणभन्दा बाहिर काम गर्ने एनसेलको भनाइ छ ।

‘सिमकार्ड बन्द वा ब्लक गरिएको खण्डमा पनि उक्त नम्बरसँग जोडिएको एप एकाउन्टमा ठगहरूको पहुँच रहिरहन सक्छ,’ कान्तिपुरसँगको संवादमा एनसलेले भनेको छ, ‘प्रविधिमा भइरहेको द्रुत विकास, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स र स्याटलाइट कनेक्टिभिटीका कारण धेरै सेवाहरू राष्ट्रिय सीमा र नियामकीय नियन्त्रणभन्दा बाहिर सञ्चालन भइरहेकाले यसलाई पूर्ण रूपमा व्यवस्थापन गर्न चुनौतीपूर्ण छ ।’

सिमकार्डको दुरुपयोग रोक्न एनसेलले आफ्नै नाममा दर्ता भएको सिम मात्र प्रयोग गर्न आग्रह गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, प्रहरी, विद्यालय र सञ्चार माध्यमहरूसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।

कम्पनीले चौबिसै घण्टा नेटवर्क अनुगमन गर्ने, शंकास्पद गतिविधिहरू रियल टाइममा पत्ता लगाउने र एसएमएस अलर्ट तथा सार्वजनिक सूचनामार्फत प्रयोगकर्तालाई ठगीका जोखिमहरूबारे सुसूचित गराइरहेको दाबी गरेको छ ।

कम्पनीका अनुसार धेरैजसो ठगीहरू ‘सोसल इन्जिनियरिङ’ का रूप भइरहेकाले ग्राहकहरूलाई साइबर सुरक्षाका विषयमा जानकारी बढाउन आवश्यक रहेको औँल्याएको छ ।

नेपाल खुला विश्विद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख तथा सहायक प्राध्यापक भोजराज घिमिरेका अनुसार कसैलाई थर्काएर, फकाएर, लोभ्याएर वा भावनात्मक रूपमा प्रभावित पारेर उसका युजर नेम, पासवर्ड, ओटीपी, लिंक वा कुनै पनि सूचना लिने तरिकालाई सोसल इन्जिनियरिङ भनिन्छ ।

‘अर्काको घरको कुरा थुत्नुपर्‍यो भने उसैको जस्तो पीडा देखाएर हुन्छ कि उसलाई मन नपरेको मान्छेको कुरा काटेर हुन्छ कि, त्यस्ता तरिका अपनाएझैँ डिजिटल संसारमा त्यस्तै उपाय अपनाउनुलाई सोसल इन्जिनियरिङ भनिएको हो,’ प्राध्यापक घिमिरेले कान्तिपुरसँगको अन्तर्वार्तामा भनेका छन्, ‘सार्वजनिक स्थलमा तपाईंले प्रयोग गरेका ल्यापटप, मोबाइलमा काँध पछाडि वा छेउबाट आँखा तन्काएर हेरिन्छ, त्यसरी सूचना चोर्नेलाई पनि सोसल इन्जिनियरिङ हो ।’ यसमा कुनै प्रविधि वा सफ्टवेयर ह्याक गर्नुको सट्टा मान्छेको विश्वास ह्याक गर्ने शैली अपनाइन्छ ।

कान्तिपुर

Link copied successfully