'इन्टरनेटकी गेमर हजुरआमा' एग्नेसको निधन

सोसल मिडियामा गेमिङसम्बन्धी कन्टेन्टमार्फत लोकप्रियता हासिल गरेकी स्कटल्यान्डकी टिकटक स्टार ‘एपिक गेमर ग्रान्ड मा’ भनेर चिनिने एग्नेसको ७८ वर्षको उमेरमा निधन भएको छ । उनलाई धेरैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Agnes, the 'gamer grandma of the internet', passes away

What you should know

काठमाडौँ — बीबीसीका अनुसार एग्नेसको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका परिवारले स्वास्थ्यसम्बन्धी जटिलताका कारण उनको अवस्था बिग्रँदै गएको र निधनको समाचार पुष्टि गरेका छन् । 

एग्नेसलाई अनलाइन दुनियाँमा चिनाउने काम उनका नाति कुल्सान्सले गरेका थिए। बीबीसीका अनुसार उनले हजुरआमा भिडियो गेम खेल्दै गरेको दृश्य टिकटकमा अपलोड गरेपछि एग्नेस छोटो समयमै भाइरल बनेकी थिइन् । टिकटकमा उनका २५ लाखभन्दा बढी फलोअर र आठ करोडभन्दा धेरै लाइक थिए । युट्युबमा पनि उनका एक लाखभन्दा बढी सब्सक्राइबर छन् ।

भिडियो गेम खेल्दै हल्काफुल्का व्यंग्य, जीवनका अनुभव र आत्मीय कुराकानी प्रस्तुत गर्ने उनको शैलीले युवा पुस्तादेखि वृद्धसम्मलाई आकर्षित गरेको थियो। बीबीसीसँग कुरा गर्दै कुल्सान्सले हजुरआमाले जीवनको उत्तरार्धमा यस्तो लोकप्रियता पाउँदा अत्यन्त खुसी रहेको र उनले आफूलाई कहिल्यै सीमित नठानेको बताएका छन् ।

एग्नेसको निधनपछि टिकटक, इन्स्टाग्राम र एक्समा श्रद्धाञ्जली सन्देशहरू बाक्लै पोस्ट भएका छन् । बीबीसीका अनुसार उनका प्रशंसकहरूले उनलाई ‘इन्टरनेटको हजुरआमा’ भन्दै सम्झिएका छन् । धेरै प्रयोगकर्ताले उमेरले सिर्जनशीलता र प्रविधिसँगको सम्बन्धलाई रोक्दैन भन्ने उदाहरण एग्नेसले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । केही टिकटक क्रियटरहरूले एग्नेसले वृद्ध पुस्तालाई डिजिटल स्पेसमा देखिने आत्मविश्वास दिएको उल्लेख गरेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार एग्नेसले गेम खेल्ने मात्र नभएर, आफ्नो स्वास्थ्य अवस्था, जीवनका कठिन क्षण र एक्लोपनाबारे पनि खुलेर बोलेकी थिइन् । उनका भिडियोहरूले विशेषगरी महामारीका बेला धेरैलाई मानसिक रूपमा साथ दिएको प्रतिक्रिया आएको छ । एग्नेसले अनलाइनमार्फत बनाएको समुदायप्रति उनको परिवारले पनि आभार व्यक्त गरेका छन् । आफ्नो स्वास्थ्य बिग्रनुअघिको अन्तिम पोस्टमा पनि उनले चुट्किला र गेमिङलाई जोडेर नै पोस्ट गरेकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully