अन्तरिक्षमा पुगिन् ह्वीलचेयर प्रयोगकर्ता

३३ वर्षीया इन्जिनियरसँग निजी क्षेत्रका चार व्यवसायी र स्पेस एक्समा एक पूर्व प्रबन्धकसमेत अन्तरिक्ष यात्रामा थिए । उनीहरूले केही बेर माइक्रोग्य्राभिटी वा तौलविहीन अनुभव गरेको बताएका छन् ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Wheelchair user reaches space

What you should know

काठमाडौँ — जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् ।

करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् ।

‘असाध्यै अद्‍भुत अनुभव भयो, मलाई लाग्छ हामीले कहिले पनि आफ्नो सपना पूरा हुँदैन कि भनेर हार मान्नु हुँदैन,’ यात्रापछि प्यारासुट र रेट्रो-थ्रस्ट प्रणाली प्रयोग गरी पश्चिमी टेक्ससको मरुभूमि क्षेत्रमा अवतरण गर्नासाथ मिखाइलाले भनेकी थिइन्, ‘कहिलेकाहीँ न्यून सम्भावनाबीच पनि सपना पूरा हुने रहेछन् ।’ 

यी ३३ वर्षीया इन्जिनियरसँग निजी क्षेत्रका चार व्यवसायी र स्पेस एक्समा एक पूर्व प्रबन्धकसमेत अन्तरिक्ष यात्रामा थिए । उनीहरूले केही बेर माइक्रोग्य्राभिटी वा तौलविहीन अनुभव गरेको बताएका छन् ।     

मिखाइला युरोपेली स्पेस एजेन्सी (ईएसए) की एरोस्पेस तथा मेकाट्रोनिक्स इन्जिनियर हुन् । उनी २६ वर्षकी हुँदा माउन्टेन बाइक दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेपछि ह्वीलचेयरमा निर्भर हुनुपरेको थियो । ‘दुर्घटनापछि मैले के बुझेँ भने हाम्रो संसार अझै पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छैन,’ उनले ब्लु ओरिजिनको भिडियोमा भनेकी छन्, ‘हामी समावेशी समाज चाहन्छौँ भने अन्तरिक्ष पनि सबैका लागि खुला हुनुपर्छ ।’

मिखाइलाको यो यात्रा व्यक्तिगत उपलब्धि मात्र नभएर, अन्तरिक्ष पर्यटन र अनुसन्धानमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्ने दिशामा ठूलो उपलब्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यसअघि अन्तरिक्ष यात्राका लागि शारीरिक क्षमता मापन गरिन्थ्यो । उनको यात्राले आगामी दिनमा अन्तरिक्ष मिसनहरू विविधतायुक्त र समावेशी बन्ने अपेक्षा गरिएको छ ।  

अन्तरिक्ष पर्यटनसम्बन्धी गतिविधिमा ब्लु अरिजिनले यसअघि पप गायिक केटी पेरी, अभिनेता विलियम साट्नरलगायतलाई अन्तरिक्षमा पुर्‍याएको थियो । यसले इलन मस्कको स्पेस एक्ससँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully