'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप

कम्पनीले २३ जुलाई २०२३ मा एलन मस्कले सामाजिक सञ्जालमा गरेको पोस्टलाई आधार मानेको छ, जसमा मस्कले सामाजिक सञ्जालले चाँडै 'ट्विटर ब्रान्डलाई बिदाई गर्ने' उल्लेख गरेका थिए ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

'X's' legal battle to protect monopoly after 'Operation Bluebird' claims 'Twitter' brand

What you should know

काठमाडौँ — एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्स (पुरानो ट्विटर) ले आफ्नो सेवा सर्त (ट्रम्स अफ सर्भिसेस) संशोधन गर्दै 'ट्विटर' नाम र त्यससँग सम्बन्धित सबै ट्रेडमार्कमा आफ्नो अधिकार कायमै रहेको स्पष्ट पारेको छ ।

अमेरिकी स्टार्टअप कम्पनीले 'ट्विटर' शब्दलाई ट्रेडमार्कका रूपमा दर्ता गराउन पहल गरेपछि एक्सले यस्तो कदम चालेको हो ।

भर्जिनियामा आधारित स्टार्टअप 'अपरेसन ब्लूबर्ड'ले एक्सले 'ट्विटर' ब्रान्ड त्यागिसकेको दाबी गर्दै अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा डिसेम्बर २ मा निवेदन दर्ता गराएको थियो । कम्पनीले २३ जुलाई २०२३ मा एलन मस्कले सामाजिक सञ्जालमा गरेको पोस्टलाई आधार मानेको छ, जसमा मस्कले सामाजिक सञ्जालले चाँडै 'ट्विटर ब्रान्डलाई बिदाई गर्ने' उल्लेख गरेका थिए ।

तर एक्सले उक्त दाबी अस्वीकार गर्दै प्रतिवाद दायर गरेको हो । टेकक्रन्चका अनुसार उक्त बौद्धिक सम्पत्ति तथा ट्रेडमार्क कानुनसम्बन्धी फर्म 'गर्बेन आईपी' मार्फत सार्वजनिक गरिएको हो, यद्यपि समाचार प्रकाशन हुँदासम्म उक्त कागजात अमेरिकी अदालतको आधिकारिक प्रणालीमा देखिएको थिएन । प्रतिवादमा एक्सले 'ट्विटर' र 'ट्विट' ट्रेडमार्क तथा नीलो चराको लोगोमा आफ्नो एकाधिकार स्वामित्व रहेको जनाएको छ ।

उसो त अपरेसन ब्लूबर्डले निवेदन दर्ता गरेसँगै 'Twitter.new' नामको वेबसाइटमार्फत सम्भावित प्रयोगकर्ताको नाम दर्ता पनि सुरु गरेको छ। यस प्रयासको नेतृत्व इलिनोइसस्थित वकिल माइकल पेरोफ र ट्विटरका पूर्व ट्रेडमार्क वकिल स्टिफन कोट्सले गरिरहेका छन् । उनीहरूको पृष्ठभूमिलाई हेर्दा एक्ससँग प्रतिस्पर्धा गर्ने नयाँ सामाजिक सञ्जाल सुरु गर्नेभन्दा पनि 'ट्विटर' ट्रेडमार्क हात पार्ने उद्देश्य रहेको हुन सक्ने विश्लेषण गरिएको छ ।

यही जोखिमलाई ध्यानमा राख्दै एक्सले आफ्नो सेवा सर्त संशोधन गरेको हो । यसअघि सेवा सर्तमा 'एक्स' मात्र उल्लेख गरिएको थियो, 'ट्विटर' नामको कुनै सन्दर्भ थिएन । संशोधित सेवा सर्तमा युरोपेली संघका कानुन र सामग्री उत्पादनसम्बन्धी अद्यावधिक पनि समावेश गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully