लडाकु समूहले एआईको सहयोगमा हमला, प्रचार, सदस्य भर्ना र मिथ्या सूचना फैलाउने कामलाई छिटो र शक्तिशाली बनाउँदै लगेका छन् । यसले साइबर सुरक्षामा गम्भीर जोखिम थपेको छ ।
What you should know
काठमाडौँ — विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । कतिपय विद्रोही समूहहरूले ओपेन एआईको च्याटजीपीटीजस्ता एआई च्याटबटसँगै तस्बीर र भिडियो जेनेरेट गर्ने टुलहरू प्रयोग गरी साइबर हमला, जासुसी, मिथ्या सूचना प्रवाह गर्ने गरेको सुरक्षाविद्हरूले औँल्याएका छन् ।
अघिल्लो हप्ता मात्रै अमेरिकी संसद्को ‘कमिटि अन होमल्यान्ड सेक्युरिटी’ को बैठकमा सांसदहरूले आइसिस र अल-कायदाजस्ता समूहले कसरी प्रविधको प्रयोग गरिरहेका छन् भन्नेबारे कुरा उठाएका थिए । यस्ता समूहले आफ्ना सदस्य र समर्थकलाई एआई कसरी चलाउने भन्नेबारे प्रशिक्षण दिन कार्याशाला नै आयोजना गर्ने गरेको सांसदहरूले बताएका थिए । आकर्षक र विश्वासिलो देखिने भिडियो र लेखहरू बनाउने तरिका, सुरक्षा निकायले पत्ता लगाउन नसक्ने गरी सन्देश पठाउने वा कोडिङका तरिकाबारे कार्याशालामा सिकाउने गरेका रहेछन् ।
उनीहरूले प्रचार सामग्री बनाउन, समर्थकलक्षित पोस्ट गर्न र आफ्ना समूहमा नयाँ सदस्य भर्ती गर्नसमेत आजभोली एआई प्रविधिको सहयोग लिइरहेको द एसोसिएटेड प्रेसको समाचारमा उल्लेख छ । एआई टुलहरू सजिलै उपलब्ध भएकाले र सानै लगानीले ठूलो स्तरमा प्रभाव पार्न सकिने भएकाले उनीहरू एआईतर्फ आर्कषित भएको बुझिन्छ । ‘उनीहरूले नक्कली समाचार र डिपफेकजस्ता सामग्री बनाएर मानिसहरूलाई भड्काउने र नागरिक समाजविरुद्ध काम गर्न प्रेरित गर्ने प्रयास गरिरहेका छन्,’ भारतीय सञ्चार माध्यम द हिन्दुले आफ्नो न्युज लेटरमा उल्लेख गरेको छ ।
लडाकु संगठनहरूले मात्र होइन, उनीहरूका समर्थकले पनि आतंकवादी गतिविधिका लागि एआई टुलको प्रयोगबारे प्रचारप्रसार गरेको पाइएको छ । उदहारणका लागि, गत नोभेम्बरमा इस्लामिक स्टेट (आईएस) समर्थक एक अनलाइन समूहमा एकजना प्रयोगकर्ताले अन्य समर्थकलाई एआईको प्रयोगलाई आफ्ना गतिविधिको हिस्सा बनाउन आग्रह गरेका थिए ।
दुई वर्षअघि इजरायल-हमास युद्धका बेला बमले ध्वस्त बनेको भवनमा अलपत्र परेका रक्ताम्मे देखिने बालबालिकाको तस्बिर एआईमार्फत बनाएर पोस्ट गरिएको थियो । मध्यपूर्वका उग्रवादी समूहहरूले त्यही तस्बिर देखाउँदै नयाँ सदस्यहरू भर्ती गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसबारे समयमै सचेत हुन साइबर सुरक्षा विज्ञहरूले सरकारहरूलाई झकझक्याएका छन् ।
अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वएजेन्टसमेत रहेका साइबर सुरक्षा कम्पनी ‘डार्कट्रेस फेडरल’का प्रमुख कार्यकारी अधिकृत मार्कस फाउलरका अनुसार, एआई प्रयोगको सन्दर्भमा उग्रवादी समूहहरू चीन, रूस वा इरानजस्ता देशहरूभन्दा निकै पछाडी रहेको यसको परिष्कृत प्रयोग उनीहरूका लागि ‘महत्वाकांक्षा’ मात्रै हो । तर, सस्तो र शक्तिशाली एआई प्रविधिमा पहुँच बढ्दै जाँदा यसबाट निम्तिने जोखिम असाध्यै भयावह हुने भएकाले यस विषयलाई अहिले बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ ।
अहिले नै ह्याकरहरूले ‘फिसिङ’ का लागि एआईबाट बनाइएका नक्कली आवाज र भिडियोहरू प्रयोग गरिरहेका छन् । उनीहरूले कुनै ठूलो व्यापारिक संस्था वा सरकारी नेताको भेष बदलेर मानिसहरूलाई झुक्याउने र गोप्य नेटवर्कमा पहुँच बनाउने कोसिस गर्छन् । उनीहरूले हानिकारक सफ्टवेयर वा साइबर आक्रमणका प्रक्रियालाई स्वचालित बनाउन एआईको प्रयोग गर्न सक्ने जोखिम रहेको साइबर सुरक्षाविज्ञको चेतावनी छ ।
‘थप चिन्ताको विषय चाहिँ, उग्रवादी समूहहरूले जैविक वा रासायनिक हतियार बनाउन एआईको सहयोग लिन सक्छन्,’ द एसोसिएटेड प्रेसले डिसेम्बर १५ मा तयार पोस्ट गरेको समाचारमा भनिएको छ, ‘यस्ता विषयमा आवश्यक प्राविधिक ज्ञानको कमीलाई एआईले पूरा गरिदिने डर छ ।’ सो समाचारअनुसार यो जोखिमलाई अमेरिकी गृह मन्त्रालयको हालैको ‘थ्रेट एसेसमेन्ट रिपोर्ट’मा पनि समावेश गरिएको छ ।
साइबर सुरक्षा विज्ञ फाउलर थप्छन्, ‘जसरी आईसिसले सुरुवाती दिनमै ट्विटर र सोसल मिडियाबाट फाइदा उठाउने उपाय पत्ता लगाएको थियो, त्यसैगरी यस्ता समूहहरू आफ्ना हात/हतियारको भण्डार बढाउन नयाँ-नयाँ प्रविधिको खोजीमा रहन्छन् ।’
अमेरिकी सांसद्हरूले यो समस्या तत्काल सम्बोधन गर्न विभिन्न उपायहरू सुझाएका छन् । भर्जिनियाका सांसद् मार्क वार्नरले एआई कम्पनीहरूसँग उनीहरूको प्रविधि कसले र कसरी प्रयोग गरिरहेको छ भन्ने तथ्याङ्क हुने भएकाले कुनै अपराधी वा विदेशी जासुसले एआई प्रयोग गरेर साइबर आक्रमणको योजना बनाइरहेको छ भने, तुरुन्तै त्यसको जानकारी सुरक्षा निकायहरूलाई दिनुपर्ने बताएका छन् ।
