अमेरिकी अर्बपति इलन मस्कको अन्तरिक्षसम्बन्धी कम्पनी, स्पेस एक्सले आईपीओ निष्कासन गर्दै छ र त्यसबाट संकलित रकम अन्तरिक्षमा डेटा सेन्टर निर्माण तथा चिप खरिदमा प्रयोग गरिने मस्कको भनाइ छ।
What you should know
काठमाडौँ — स्पेस एक्सले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पूँजी बजारमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आईपीओमार्फत करिब ३० अर्ब डलर संकलन गर्ने लक्ष्यसहित मस्कले १.५ ट्रिलियन डलर मूल्यांकनमा कम्पनी सूचीकृत गराउन खोजेका छन् ।
सन् २०२६ मै आईपीओ जारी गर्ने योजनासहित स्पेस एक्सका कर्मचारी र सल्लाहकारहरूले काम गरिरहेको ब्लुमबर्गले जनाएको छ । तर, बजारको अवस्था र अन्य कारणले समय तलमाथि हुनसक्ने ठानिएको छ । तथापि,सन् २०२७ सम्ममा स्पेस एक्सलाई निजीबाट सार्वजनिक कम्पनी बनाउने गरी प्रक्रिया अघि बढाइएको छ ।
मस्कले सन् २०२० मै स्टारलिंकको आम्दानी स्थिर भएपछि स्पेस एक्सलाई पूँजी बजारमा सूचिकृत गर्ने बताएका थिए । स्टारलिंक स्पेस एक्सअन्तर्गतकै स्याटलाइट-इन्टरनेट सेवा प्रदायक इकाइ हो । आईपीओबाट उठाइने रकम स्पेस एक्सले अन्तरिक्षमा डेटा सेन्टर बनाउन र त्यसलाई आवश्यक चिप खरिद गर्ने प्रयोजनमा लगाउने योजना बनाएको छ ।
सौर्य ऊर्जा र प्राकृतिक कुलिङ उपलब्ध हुनुका साथै ठूलो क्षेत्रफल, पानी र बिजुली नचाहिने भएकाले अन्तरिक्षमा डेटा सेन्टर बनाउनु उपयुक्त हुने मस्कको धारणा छ । ध्वनी प्रदुषण, ताप र पर्यावरणीय नियमको चुनौतीसमेत नहुने भन्दै उनले भविष्यमा डेटा सेन्टरहरू अन्तरिक्षमा सर्ने र यो परियोजना स्पेस एक्सले सम्भव तुल्याउने बताउने गरेका छन् । उनका अनुसार स्टारलिंकको भीथ्री स्याटलाइटलाई इन्टरनेट सेवाका लागि मात्र नभइ डेटा प्रोसेसिङ क्षमता सहितका ‘स्पेस-बेस्ड डेटा सेन्टर’ को रूपमा विस्तार गरिँदै छ ।
सन् २०२५ मा स्पेस एक्सले करिब १५ अर्ब डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो सन् २०२६ मा बढेर २२ देखि २४ अर्ब डलरसम्म पुग्ने अपेक्षा गरिएको छ । यसमध्ये अधिकांश आम्दानी स्टारलिंकबाट आउने ठानिएको छ । हाल विश्वभर स्टारलिंकका लगभग ८० लाख ग्राहक छन् ।
