एआईको उच्च मागले र्‍याम र एसएसडीको मूल्य बढ्यो

उच्च क्षमताको एचबीएम र्‍याम उत्पादनमा जोड दिँदा सामान्य डीर्‍यामको आपूर्ति घटेर विश्वभर मूल्यवृद्धि भएको अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

High demand for AI drives up prices of RAM and SSD

What you should know

काठमाडौँ — कम्प्युटर, स्मार्टफोन, डिजिटल क्यामरा, राउटर, स्मार्ट टीभी, प्रिन्टर लगायत लगभग सबै आधुनिक विद्युतीय उपकरणमा प्रयोग हुने र्‍याम (र्‍यान्डम एक्सेस मेमोरी) चिपको शुल्क निरन्तर बढिरहेको छ । यसले गर्दा डिभाइसहरूको पनि मूल्य बढेपछि विश्वभरका ग्राहक मर्कामा परेका छन् ।नेपालमा पनि पछिल्लो समय ग्याजेटहरूको मूल्यवृद्धि भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको उच्च मागसँगै उत्पादन र आपूर्ति घटेकाले र्‍याम र एसएसडी (स्टोरेज) को मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अहिले विश्वभर ठूला टेक कम्पनीहरूले च्याटजीपीटी, जेमिनाइजस्ता एआई प्रणाली चलाउन ठूल्ठूला डेटा सेन्टर बनाइरहेका छन् । यी एआई सर्भरहरूलाई ठूलो मात्रामा ‘एचबीएम’ भनिने उच्च क्षमताको र्‍याम आवश्यक पर्छ । 

एआई चलाउन ग्राफिक्स कार्ड वा जीपीयू चाहिन्छ, जीपीयूले जटिल हिसाब-किताब छिटो गर्न मद्दत गर्छ । जीपीयू चल्न हाई स्पिड र्‍याम (एचबीएम) चाहिन्छ । माइक्रोसफ्ट, गुगल, अमेजन लगायतले आफ्ना एआई सर्भरहरूका लागि यिनै एचबीएम र्‍याम ठूलो मात्रामा किनिरहेका छन् । यसले गर्दा ल्यापटप, स्मार्टफोन वा साधारण कम्प्युटरमा प्रयोग गरिने सामान्य ‘डीर्‍याम’ भने बजारमा कम उपलब्ध हुन थालेका छन् । यसले गर्दा र्‍यामको समग्र भाउ अकासिएको छ ।

डीर्‍याम निर्माण गर्ने तीन मुख्य कम्पनी- सामसङ, माइक्रोन र एसके हाइनिक्सले स्मार्टफोन वा ल्यापटपमा प्रयोग हुने सामान्य र्‍यामको सट्टा एआई सर्भरमा प्रयोग हुने एचबीएम र अन्य उच्च क्षमताका चिप उत्पादनमा जोड दिइरहेका छन् । यसबाट उनीहरूलाई बढी मुनाफा हुने भएकाले सामान्य र्‍यामको उत्पादन घटेको छ । यससँगै आपूर्ति घट्ने तर माग उस्तै रहँदा, कन्जुमर-ग्रेड र्‍याम, एसएसडी र डिजिटल डिभाइसकै मूल्य भने ह्वात्तै बढेको छ ।   

नेपालमा भने सबै विद्युतीय उपकरण विदेशबाट आयात गरिने हुँदा डलर भाउ बढेकाले आयातको लागत बढेर डिभाइसको बजार मूल्य पनि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालमा ३ अर्ब १९ करोड ७४ लाख ६४ हजार रूपैयाँमा ४७ हजार ४६ वटा ल्यापटप र नोटबुक आयात गरिएको छ । 

कान्तिपुर

Link copied successfully