युरोपेली आयोगले एक्सलाई १४ करोड डलर जरिवाना तिर्न निर्देशन दिएपछि मस्क र ट्रम्पले युरोपेली संघको आलोचना गरेका छन् ।
What you should know
काठमाडौँ — अर्बपति इलन मस्कले युरोपेली संघ खारेज हुनुपर्ने बताएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युरोप आजभोल गलत दिशातर्फ लम्किरहेको प्रतिक्रिया दिएका छन् । संघअन्तर्गतको युरोपेली आयोगले एक्स (ट्विटर) लाई १४ करोड डलर जरिवाना तिर्ने निर्देशन दिएपछि मस्क र ट्रम्प दुवैले युरोपको आलोचना गरेका हुन् ।
कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘वान बिग ब्युटिफुल बिल’ का विषयमा मतभेद भएपछि एक-अर्कालाई सार्वजनिक रूपमै कटाक्ष गरेर अलग्गिएका ट्रम्प र मस्क युरोपको आलोचनामा एकजुट भएका हुन् । मस्कको सामाजिक सञ्जाल प्लाटफर्म एक्सले जो कोहीलाई पैसा तिरेपछि निलो चेकमार्क दिएर आम प्रयोकर्तालाई आधिकारिक खाताका विषयमा झुक्काइरहेको भन्दै युरोपेली आयोगले कम्पनीलाई जरिवाना तिर्न भनेको छ ।
युरोपेली संघका २७ वटा देशमा लागू ‘डिजिटल सर्भिस एक्ट’ अन्तर्गतका तीन फरक व्यवस्थाहरू एक्सले उल्लंघन गरेको आयोगको ठहर छ । एक्सको नीलो चेकमार्क अर्थात भेरिफाइड एकाउन्टसम्बन्धी प्रक्रियामा रहेको अस्पष्टतालाई कारण देखाउँदै आयोगले जरिवानाको निर्णय सार्वजनिक गरेको हो । नीलो चेकमार्क दिँदा झुक्याउने खालको विधि अपनाउने गरिएको र यसले प्रयोगकर्तालाई ठगी र भ्रममा पार्नसक्ने आयोगको दाबी छ ।
जरिवानासम्बन्धी आयोगले गरेको पोस्टमा कमेन्ट गर्दै मस्कले ‘वाहियात’ भनेका छन् । उनी र ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकी प्रविधिलाई निरुत्साहित गर्ने नियतले युरोपले डिजिटल सेवा ऐन लागू गरेको बताउँदै आएका छन् । मस्कले लेखेका छन्, ‘युरोपेली संघ खारेज गरेर देशहरूको सार्वभौमसत्ता फिर्ता गर्नुपर्छ ताकि सरकारहरूले आफ्ना नागरिकको सही ढंगले प्रतिनिधित्व गर्न सकून् ।’
मस्कले एक्समा युरोपेली आयोगका विज्ञापनहरू पोस्ट गर्न बन्देज लगाइदिएका छन् । आयोगले आफ्ना पोस्टहरूको प्रचार गर्न एक्सकै प्रणालीमा भएको कमजोरीको फाइदा उठाएको भन्दै आयोगको एकाउन्ट बन्द गरिदिएको एक्सका उच्च पदस्थ कर्मचारी निकिता बियरको भनाइ छ ।
एक्सलाई जरिवाना तिर्न लगाउने आयोगको कदमलाई ट्रम्पले ‘त्यो साह्रै खराब’ भएको प्रतिक्रिया दिएका छन् । युरोपले सावधानीपूर्वक कदम चाल्नुपर्ने उनको भनाइ छ । यस विषयमा मस्कले पनि आफूसँग सहयोग नमागेको ट्रम्पले पत्रकारहरूलाई बताएका छन् । ‘यसबारे पूरा विवरण लिएर म पछि थप बोल्नेछु,’ उनले भनेका छन्, ‘तर, युरोपलाई यस्तो कदम चाल्न सजिलो छैन । खै उनीहरूले कसरी पो गर्छन् ।’
