एक्सले पैसा तिरेर जो कोहीलाई निलो चेकमार्क किन्न दिँदा त्यसले प्रयोगकर्तालाई झुक्याइरहेको भन्दै युरोपेली संघअन्तर्गतको आयोगले जरिवानाको निर्णय गरेको हो । यस निर्णयप्रति अमेरिका रुष्ट बनेको छ ।
What you should know
काठमाडौँ — युरोपेली संघका नियामकहरूले इलन मस्कको सामाजिक सञ्जाल कम्पनी, एक्सलाई आफ्ना डिजिटल कानुन पालना नगरेको भन्दै १२ करोड युरोज (१४ करोड अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । दुई वर्ष लगाएर गरिएको अनुशान्धानपछि युरोपेली आयोगले शुक्रबार यस्तो निर्णय सुनाएको हो ।
युरोपेली संघका २७ वटा देशमा लागू ‘डिजिटल सर्भिस एक्ट’ अन्तर्गतका तीन फरक व्यवस्थाहरू एक्सले उल्लंघन गरेको आयोगको ठहर छ । सो ऐनले अनिवार्य गरेको पारदर्शितासम्बन्धी प्रावधान पालना नगरेको भन्दै ठूलो जरिवाना तोकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संघले सन् २०२२ मा ऐन लागू गरेयता पहिलोपटक कुनै प्रविधि कम्पनीलाई यस्तो कारबाहीको निर्णय गरेको हो ।
युरोपेली आयोगको यो निर्णयले युरोप र अमेरिकाबीच तनाव बढाउनसक्ने अनुमान गरिएको छ । विशेषगरी युरोपेली देश र डिजिटल सेवा नियमनको व्यवस्था भएका देशविरुद्ध अमेरिकी राष्ट्रपति र उनको प्रशासनले आलोचना गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले डिजिटल सेवा करजस्ता प्रावधानमार्फत विभिन्न देशले अमेरिकी प्रविधि कम्पनीहरूलाई अन्यायपूर्वक निसाना बनाएको र अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षलाई तोडमरोड गरेको आरोप लगाउने गरेका छन् ।
युरोपेली देशहरूले अमेरिकी प्रविध कम्पनीहरूलाई निसाना बनाए आफूले बदला लिने ट्रम्पले चेतावनीसमेत दिँदै आएका छन् । उपराष्ट्रपति जेडी भान्सले भने युरोपेली आयोगले एक्समाथि जरिवानाको निर्णय सेन्सरसिप नमानेका कारण आएको भन्दै आयोगको आलोचना गरेका थिए । ‘युरोपेली संघले अमेरिकी कम्पनीहरूलाई अनावश्यक विषयमा दु:ख दिनुको साटो अभिव्यक्ती स्वतन्त्रतालाई समर्थन गर्नुपर्ने हो,’ भान्सले आफ्नो एक्स एकाउन्टमा लेखेका छन् ।
आयोगले भने ठूला प्रविधि कम्पनीहरूलाई दबाबमा राख्न वा प्रयोगकर्ताको मुख थुन्ने नियत नभएको सञ्चार माध्यमलाई प्रतिकृया दिएका छन् । ‘आयोगले कसैलाई निसाना बनाएको होइन, कुनै कम्पनीलाई टार्गेट गरेको होइन, कसैको रङ वा कुनै निश्चित देशका कम्पनी भनेर निसाना बनाइएको होइन,’ प्रवक्ता थमस रेग्नियरले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘यो निर्णय प्रक्रिया, लोकतान्त्रिक प्रक्रियामा आधारित छ ।’
एक्सको निलो चेकमार्क अर्थात भेरिफाइड एकाउन्टसम्बन्धी प्रक्रियामा रहेको अस्पष्टतालाई कारण देखाउँदै आयोगले जरिवानाको निर्णय सार्वजनिक गरेको जनाएको छ । निलो चेकमार्क दिँदा झुक्याउने खालको डिजाइन अवलम्बन गरिएको र यसले प्रयोगकर्तालाई ठगी र भ्रममा पार्नसक्ने आयोगको दाबी छ ।
सन् २०२२ मा मस्कले तत्कालिन ट्वीटर खरिद गरेपछि मासिक ८ डलर तिरेर निलो चेकमार्क किन्नसक्ने बनाएका थिए । त्यसअघि चर्चित व्यक्ती र सेलेब्रिटीले मात्रै यस्तो चेकमार्क पाउँथे । पैसा तिरेर चेकमार्क किन्न मिल्ने भएपछि एकाउन्ट र त्यसमा पोस्ट हुने कन्टेन्टको आधिकारिता पहिचान गर्न कठीन बनेको आयोगले जारी गरेको पत्रमा भनिएको छ । एक्सले आफ्ना विज्ञापनदाताहरूको डेटाबेस उपलब्ध नगराएको र स्क्याम तथा नक्कली विज्ञापनहरूबारे अध्ययन गर्ने अनुसन्धानकर्तालाई सहयोग नगरेको भन्दै आयोगले कम्पनीलाई कारबाही गरेको हो ।
