एआई डेटा सेन्टरका लागि ५ अर्ब डलर लगानी गर्दै गौतम अडानी

विश्वका २७ औँ धनाढ्य, भारतीय व्यवसायी गौतम अडानीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधारमा आक्रामक लगानी गर्ने भएका छन् । उनले एन्ड्र्रोइड निर्माता, गुगलको एआई डेटा सेन्टरका लागि करिब ५ अर्ब डलर लगानी गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

मंसिर १५, २०८२

एजेन्सी

Gautam Adani investing $5 billion for AI data center

What you should know

काठमाडौँ — गुगलले दक्षिण भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्नममा नयाँ एआई डेटा सेन्टर बनाउन लागेको छ । अडानी समूहका प्रमुख वित्तीय अधिकृत जुगसिन्दर सिंहले ब्लुमबर्गलाई दिएको जानकारीअनुसार यो लगानी अडानी कनेक्स प्रालिसँगको सहकार्यमा हुनेछ । यसले अडानी समूहलाई गुगल क्याम्पसका प्रमुख भारतीय साझेदारमध्ये एक बनाउने सिंहले बताएका छन् ।

‘अहिले आक्रामक रूपमा बढिरहेको क्लाउड र एआई पूर्वाधार बजारमा हामी पनि ठूलो उपस्थिति जमाउन चाहिरहेका छौँ, यो लगानी त्यसकै संकेत हो,’ अडानी समूहका सिंहले पत्रकारहरूसँग भनेका भन्, ‘गुगल मात्र होइन, गिगावाटभन्दा माथि क्षमताका डेटा सेन्टर बनाउन हामीसँग काम गर्न चाहने अरू धेरै कम्पनी छन् ।’

यसअघि अक्टोबरमा अल्फाबेट (गुगल)ले आन्ध्र प्रदेशमा १ गिगावाट क्षमताको एआई हब बनाउन पाँच वर्षमा १५ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको थियो । रोयटर्सका अनुसार, गुगल अहिले विश्वभर डेटा केन्द्र विस्तारका लागि झन्डै ८५ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने तयारीमा छ । 

अडानी मात्र होइन, भारतमा उद्योगपतिहरूबीच एआई पूर्वाधारमा लगानी गर्ने होड तीव्र बन्दै गएको छ । मुकेश अम्बानी नेतृत्वको रिलायन्स इन्डस्ट्रिजले हालै ब्रुकफिल्ड र अमेरिकी ट्रस्ट डिजिटल रियल्टीसँग मिलेर पाँच वर्षमा करिब ११ अर्ब अमेरिकी डलर लगानी गरी आन्ध्र प्रदेशमै १ गिगावाट क्षमताको एआई डेटा क्याम्पस निर्माण गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । उनीहरूले विसाखापट्टनममा झन्डै ३ हजार रोपनीमा एआई-नेटिभ क्याम्पस बनाउन लागेका छन् ।

अम्बानीले टेलिकमदेखि रिटेल र क्लाउड सेवासम्म, आफ्ना सम्पूर्ण व्यवसायलाई एआईमा आधारित बनाउने लक्ष्य राखेका छन् । रिलायन्सले पछिल्लो समय एआई पूर्वाधार र आधारभूत एआई सेवामा गम्भीरतापूर्वक लगानी र रणनीतिक साझेदारी गरिरहेको छ । अन्य भारतीय व्यावसायिक समूहहरूले पनि अन्तर्राष्ट्रिय टेक कम्पनीहरूसँगको साझेदारीमा एआई मोडल, क्लाउड कम्प्युटिङ र उच्च क्षमताका अन्य दीर्घकालीन प्रविधिमा एकपछि अर्को लगानी बढाउँदै लगेका छन् । 

टाटा कन्सल्टेन्सी सर्भिसेस र टीपीजीले २ अर्ब अमेरिकी डलरको संयुक्त लगानीमार्फत एआई-उन्मुख डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेका छन् । अन्य औद्योगिक समूह र निजी लगानीकर्ताहरूले हाइपर स्केल क्याम्पस, एज कम्प्युटिङ, ऊर्जा आपूर्ति र कुलिङ पूर्वाधारमा लगानी गर्न खोजिरहेका खबर सार्वजनिक भइरहेका छन् । विश्लेषकहरूका अनुसार भारतको डेटा सेन्टर क्षमता अहिलेको तुलनामा सन् २०३० सम्म तीन गुणासम्म बढेर करिब ४.५ गिगावाट पुग्न सक्छ । त्यसको मुख्य कारण एआई र क्लाउडको तीव्र माग हुने अनुमान गरिएको  छ । 

यी लगानीहरू भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन् । तटवर्ती र सहरी क्षेत्रमा रोजगारी र उद्यम वृद्धिदेखि अन्तर्राष्ट्रिय क्लाउड कम्पनीहरूलाई देशमै पर्याप्त क्षमता उपलब्ध गराउनेसम्मका काममा भारतको संघीय र प्रदेश सरकारहरूले आक्रामक सहुलियत र सुविधा घोषणा गर्ने गरेका छन् । उदाहारणका लागि विभिन्न प्रविधि र अन्य कम्पनीहरूका प्रतिनिधिलाई आफैं भेट्न निस्किएका तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले एआई र अन्य प्रविधिसँगै हजारौँ करोड लगानी आफ्नो राज्यमा भित्र्याएको घोषणा गरिसकेका छन् । 

डेटा सेन्टरबाट हुने स्थिर आम्दानी र घरेलु संस्थाहरूलाई ‘डेटा रेसिडेन्सी’को अवधारणमा एआई सेवा बेच्ने सम्भावनासँगै बढ्दो बजारको फाइदा देखेर अडानी, अम्बानीलगायत उद्यमीहरू प्रतिस्पर्धामा ओर्लिएका हुन् । तर, एआईमा देखिएको यो आक्रामक लगानी विस्तारसँगै आलोचना पनि बढ्दो छ । यस्तो तीव्र विस्तारले ऊर्जा आपूर्ति, जमिन व्यवस्थापन र नियामकीय क्षमतामा चुनौती थप्ने एकथरीको तर्क छ । 

तथापि, १५ अर्ब डलरको गुगल योजना, ५ अर्ब डलरको अडानी लगानी र ११ अर्ब डलरको रिलायन्स कार्यक्रमका साथै अन्य भारतीय र विदेशी लगानीकर्ता मिलेर अर्बौं डलरको पूँजी आर्कषित गरिरहँदा भारतले कसरी एआईको अवसरलाई बजारमा परिणत गर्दै छ भन्ने पनि प्रस्ट हुँदै गएको छ । भारतीय व्यवसायीहरू पनि एआईको चुलिँदो बजारमा विस्तारै प्रभुत्व निर्माण गर्दै गर्ने ध्याउन्नमा देखिन्छन् । 

एजेन्सी

Link copied successfully