एक्सको लोकेसन फिचर : पारदर्शिता कि गोपनीयताको उपहास ?

नयाँ फिचरले प्रयोगकर्ताको अनुमतिविपरीत नै प्राविधिक डेटाबाट लोकेसन निकालेर सार्वजनिक प्रोफाइलमा अनिवार्य रूपमा प्रदर्शन गर्छ । त्यसैले यो विवादित बनेको हो ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

X's Location Feature: Transparency or a Mockery of Privacy?

What you should know

काठमाडौँ — अर्बपति उद्यमी इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)ले गत साता लागू गरेको नयाँ फिचर विवादमा परेको छ । एक्सको नयाँ फिचर 'एबाउट दिस अकाउन्ट'ले डिजिटल पारदर्शिता र गोपनीयता अधिकारबीचको बहस सतहमा आएको छ । 

एक साताअघि अर्थात् नोभेम्बर २२ देखि सुरु गरिएको यस फिचरले प्रत्येक एक्स प्रयोगकर्ताको ‘जिओ लोकेसन’ सार्वजनिक गर्न थालेपछि विश्वव्यापी विवाद सुरु भएको हो । एक्सका उत्पादन प्रमुख निकिता बिएरका अनुसार यस ‘फिचर’लाई बट अकाउन्ट (सफ्टवेयरको मद्दतमा स्वचालित अकाउन्ट), वैदेशिक हस्तक्षेप र मिथ्या सूचना नियन्त्रणका लागि भूमिका खेल्ने 'पहलो कदम' भनेका छन् । 

नयाँ फिचर अनुसार प्रयोगकर्ताले कुनै पनि सार्वजनिक प्रोफाइलमा 'जोइन्ड डेट'मा क्लिक गर्दा 'एबाउट दिस' सेक्सन खुल्छ । जहाँ प्रयोगकर्ता कुन देश वा क्षेत्रबाट अकाउन्ट सञ्चालन गरिरहेको छ, कहिलेदेखि एक्समा सक्रिय भएको, प्रयोगकर्ताले कति पटक नाम परिवर्तन गरेको, कहिले भेरिफाई भएको, कुन डिभाइस वा प्लेटफर्मबाट जोडिएको, भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) वा ‘प्रोक्सी’ प्रयोग भएको छ कि छैन भन्ने खुल्छ ।

एक्सले इन्टरनेट प्रोटोकल एड्रेस (आइपी एड्रेस), ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) कोअर्डिनेट्स र पछिल्लो ३० दिनको ‘लगइन मोडल’लाई आधार मानेर लोकेसन निर्धारण गरिएको एक्सले जनाएको छ । यही कारण पनि एक्सले नयाँ फिचर ल्याएको एक हप्ता बित्दा नबित्दै विवादित बनेको हो । 

एक्सका प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा देश वा महादेश छनोट गर्न सकिने बताए पनि लोकेसन फिचर बन्द गर्न भने सक्दैनन् । यद्यपि सरकारी 'ग्रे चेक' खाताहरूमा लोकेसन हेर्न सकिँदैन । 'सरकारविरुद्ध आतंकवादी कार्य रोक्न'का लागि 'ग्रे चेक' खाताहरुको लोकेसन बन्द गरिएको एक्सका उत्पादन प्रमुख बिएरले जनाएका छन् ।

प्रभावशाली अकाउन्टको खुलासा

एक्सको नयाँ फिचर सार्वजनिक भएको पहिलो सातामा नै विभिन्न प्रभावशाली खाताहरुको खुलासा भएको छ । आफूलाई अमेरिकी नागरिक भनेर चिनाउने र अमेरिकी राजनीतिमा सक्रिय टिप्पणी गर्ने धेरै फलोअर्स भएका एक्स प्रयोगकर्ताहरुको खाताको खुलासा भएको हो । बीबीसी भेरिफाईका अनुसार ती खाताहरु भारत, थाइल्यान्ड, बंगलादेश, रुस र नाइजेरियाबाट सञ्चालित भएको पाइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधर र विरोधी दुवै खाले एक्स प्रयोगकर्ताहरुको खुलासा भएको हो । अमेरिकी राजदूत निक्की हेलीले यसलाई 'पारदर्शिता र अमेरिकी सुरक्षाका लागि जित' भनेर प्रशंसा गरे । त्यस्तै, हजारौं बट (स्वचालित अकाउन्ट) अकान्ट र प्रभावित पार्ने खाताहरु पहिचान भएको हो । यद्यपि, विभिन्न कतिपयले यसलाई सामान्य रुपमा लिएका छन् । विदेशी ‘अपरेटिभ’हरूले लामो समयदेखि एक्स प्रयोग गरेर अमेरिकी राजनीतिमा टिप्पणी गर्दै आएको कुरा खासै नौलो नभएको टिप्पणी गरेका छन् । 

गोपनीयता उपहास 

यसरी विभिन्न खाताको खुलासा गरेको कारणले यसलाई पारदर्शिताका माध्यमबाट राम्रो मानिएपनि प्रयोगकर्ताहरुको गोपनीयतासँग पनि सम्बन्धित छ । नयाँ फिचरले प्रयोगकर्ताको अनुमतिविपरीत नै प्राविधिक डेटाबाट लोकेसन निकालेर सार्वजनिक प्रोफाइलमा अनिवार्य रूपमा प्रदर्शन गर्छ । त्यसैले यो थप विवादित बनेको हो । 

एक्सको यो फिचरले प्रयोगकर्ताहरुको गोपनीयताको अवहेलना गरेको विश्लेषकहरुले जनाएका छन् । एक्सको यो फिचरले 'डक्सिङ' (अनुमतिबिना अरुको गोपनीयता खुलाउने) गरेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएको छ । यस फिचरले सरकारविरोधी आवाजहरु रोक्न सक्ने भन्दै  मानवअधिकार समूहहरूले विरोध जनाएका छन् । 

अल जजिराका अनुसार यो फिचर सामान्य प्रयोगकर्ताका लागि पनि जोखिमपूर्ण छ । घरेलु हिंसाबाट भाग्ने, स्टकरबाट लुक्ने, वा गुमनाम रूपमा बोल्न चाहने व्यक्तिलाई यसले खतरामा पार्ने अलजजिराले एक रिपोर्टमा उल्लेख गरेको छ ।

लोकेसन फिचर एक्समा मात्रै हो त ? होइन । सामाजिक सञ्जालमा लोकेनस देखाउने फिचर नौलो भने होइन, तर एक्स को दृष्टिकोण भने फरक छ ।  मेटाको फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्तालाई स्वैच्छिक रूपमा लोकेसन सेयर गर्न दिन्छ । 'स्न्यापच्याट'को 'स्न्याप म्याप'मा पनि प्रयोगकर्ताले चाहे मात्रै लाइभ लोकेसन सेयर गर्न सकिन्छ । यसको मतलब मेटा र स्न्यापच्याटमा लोकेसन सेयर गर्ने पूर्ण अधिकार प्रयोगकर्तासँग नै हुन्छ ।  

त्यस्तै, लिङ्क्डइनले पेसागत नेटवर्किङका लागि सामान्य स्थान देखाउँछ, जुन प्रयोगकर्ता स्वयंले खुलाएको हुन्छ । र टिकटकले देश देखाए पनि आइपि एड्रेसमा आधारित ट्र्याकिङ अनिवार्य रूपमा सार्वजनिक गर्दैन । एक्सको लोकेसन फिचर फरक छ । 

विश्लेषकहरुका अनुसार शक्ति राष्ट्रहरुले एक्सको यो फिचरलाई दुरुपयोग गर्न सक्ने आसंका व्यक्त गरका छन् । सार्वजनिक रूपमा उपलब्ध यो जानकारीलाई गुप्तचर एजेन्सीहरुले प्रयोग गर्न सक्नेछन् । क्लेम्सन युनिभर्सिटीका मिडिया फोरेन्सिक हबका सह-निर्देशक ड्यारेन लिनभिलले भने- 'फिचरले व्यक्तिगत गोपनियता छताछुल्ल भएको छ र यसको दुरुपयोग हुनेछ ।'

लिनभिलका अनुसार प्रयोगकर्ताहरुले पनि गोपनियता कायम गर्नका लागि भर्चुअल प्राइभेट प्रोपर्टी (भीपीएन)को प्रयोग बढ्न सक्ने छ । 

(एजेन्सीहरुको सहयोगमा)

कान्तिपुर संवाददाता

Link copied successfully