महिलामाथि हुने हिंसा अचेल अँध्यारो सडक वा एकान्त गल्लीमा नभई डिजिटल डिभाइस र सामाजिक सञ्जालमार्फत भइरहेको नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर-हाम्डीले बताएकी छन् । उनले ‘डिजिटल हिंसा’लाई महिलाविरुद्ध हुने हिंसाको नयाँ स्वरूपका रूपमा चित्ररण गरिन् ।
What you should know
काठमाडौँ — महिला तथा बालिकाहरूविरुद्ध हुने डिजिटल हिंसा अन्त्य गर्ने उद्देश्यसहित मंगलबारबाट सुरु भएको ‘१६ दिने अभियान’ का सन्दर्भमा संयुक्त राष्ट्रसंघ नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रसंघकी आवासीय संयोजक सिंगर-हाम्डीले अनलाइन सुरक्षा मानिसको सुविधा नभई अधिकार भएको उल्लेख गरिन् ।
संयुक्त राष्ट्रसंघ भवन, ललितपुरमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थिति थिए । यस वर्षको अभियानको विश्वव्यापी नारा ‘सबै महिला तथा बालिकाहरूमाथि हुने डिजिटल हिंसाको अन्त्यका लागि एकजुट होऔं’ भन्ने रहेको छ ।
महिलामाथि हुने डिजिटल हिंसाको अवस्थामा नेपालमा बढ्दो छन् । पछिल्लो वर्ष मात्र साइबर ब्युरोमा १८ हजार ९ सय २६ साइबर अपराधका घटनाहरू दर्ता भएकोमा ती मध्ये ७ हजार ९०० भन्दा बढी उजुरी महिलाहरूबाट आएका थिए । यसमा १ हजार ८०० अनलाइन दुर्व्यवहार, ४ सय ९५ घृणास्पद अभिव्यक्ति, ८४ यौन दुराचार (सेक्सटोर्सन) र २७ वटा डिपफेक तथा इमेज मर्फिङका घटना समावेश थिए । विश्वव्यापी रूपमा लगभग ६० प्रतिशत महिलाहरूले डिजिटल दुर्व्यवहारको सामना गरिरहेको राष्ट्र संघको तथ्यांक छ ।
कार्यक्रममा सञ्चारमन्त्री खरेलले कैयौँ महिला तथा बालिकाहरूका लागि डिजिटल स्पेस अवसरभन्दा जोखिमले भरिएको असुरक्षित स्थान बनेको बताए । अनलाइन दुर्व्यवहार, साइबर स्टकिङ, घृणास्पद अभिव्यक्ति र ट्रोलिङले महिलाका आवाजलाई मौन बनाउने र उनीहरूको अभिव्यक्ति, सूचना र सहभागिताको मौलिक अधिकारलाई नियन्त्रित गर्ने उनको भनाइ थियो । ‘प्रत्येक नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तिकरण गर्ने डिजिटल इकोसिस्टम निर्माण गर्नु सरकारको उदेश्य रहेको छ,’ उनले भने, ‘डिजिटल हिंसाविरुद्धको लडाइ सरकार एक्लैले जित्न नसक्ने भएकाले सबै साथ आवश्यक छ ।’
मन्त्री खरेलले डिजिटल हिंसाको सामना गर्न र पिडकलाई जवाफदेही बनाउन साइबर कानुन र नीतिहरूको समीक्षा र सुदृढीकरण गरिने बताए । डिजिटल साक्षरता बढाउन शिक्षा क्षेत्रसँग मिले पाठ्यक्रममै यसबारे समावेश गरिने उनको भनाइ थियो । सुरक्षित प्लाटफर्म, रिपोर्टिङ र शैक्षिक एपहरू जस्ता समाधानहरू विकास गर्न स्टार्टअपहरू र निजी क्षेत्रलाई आह्वान गर्नुका साथै संयुक्त राष्ट्रसंघ, सरकार, नागरिक समाज र युवाहरूबीचको साझेदारीलाई निरन्तरता दिइनेमा उनले जोड दिए ।
नोभेम्बर २५ को उद्घाटन कार्यक्रममा डिजिटल भित्तेचित्र (म्युरल) अनावरण गरिएको थियो । दमकल चोकबाट झम्सिखेलतर्फ जाँदा देखिने भित्तामा बनाइएको म्युरलमा कलाकारहरूले डिजिटल हिंसाबाट उम्किएर अन्तरिक्षमा सवार महिलाको आकृति कुँदेका छन् । कार्यक्रममा डिजिटल हिंसासम्बन्धी सचेतना फैलाउने भिडियोहरू देखाइएको थियो । मन्त्री खरेलले १६ दिने अभियानको सुरुवातसँगै सबै महिला तथा बालिकाहरूका लागि डिजिटल स्पेस सुरक्षित र उज्यालो बनाउने संकल्प गर्न आह्वान पनि गरे ।
