सन् २००० दशकको ‘डट–कम बबल बर्स्ट’ जस्तै एआईमा पनि त्यस्तै दुर्घटना निम्तिन सक्ने विश्लेषकहरूको बुझाइ छ, एआई कम्पनीहरूको बजार मूल्य पछिल्लो समय निरन्तर ओरालो लागेपछि ‘एआई बबल बर्स्ट’ को चर्चा हुन थालेको हो।
What you should know
काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रविधि क्षेत्रमा क्रान्ति ल्याउने ठानेर ठूला ‘टेक’ कम्पनीहरूबीच लगानीको होड चलिरहेको छ । तर, पछिल्लो समय एआई कम्पनीको बजार मूल्य निरन्तर ओरालो लागेपछि ‘एआई बबल बर्स्ट’ को चर्चा एकाएक चुलिएको छ । यसले आर्थिक अस्थिरता त निम्त्याउने होइन भन्ने चिन्तासमेत व्यक्त हुन थालेको छ ।
असाध्यै उत्साहित भएर एआईमा अन्धाधुन्ध लगानी गर्दै ‘बबल’ (फोका) सिर्जना गरिएको हुँदा यो कुनै पनि बेला बर्स्ट (फुट्न) हुन सक्ने आशंका गरिँदै आएको थियो । ‘एआई बबल बर्स्ट’ को चर्चासँगै प्रविधि क्षेत्रमा यसले पार्ने प्रभावका बारेमा विभिन्न कोणबाट विश्लेषणसमेत भइरहेका छन् ।
यसैबीच मंगलबार गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका प्रमुख सुन्दर पिचाईको एउटा टिप्प्णीले ‘एआई बबल बर्स्ट’ को चर्चालाई थप सघन बनाएको छ । उनले ‘एआई बबल’ विस्फोट भए गुगलसहित विश्वका सबै कम्पनी प्रभावित हुने बताएका छन् । बीबीसी न्युजसँगको विशेष कुराकानीमा उनले एआईमा भइरहेको लगानी ‘अभूतपूर्ण’ भए पनि यसमा केही हदसम्म ‘अनावश्यक उन्माद’ देखिएको अभिव्यक्ति दिए ।
सम्भावित एआई बबल बर्स्टबारे प्रविधि क्षेत्रमा चर्चा सुरु भइरहेकै बेला पिचाईको यस्तो भनाइ आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘त्यसको असर झेल्न हामीसहित कुनै पनि कम्पनी अछुतो रहने छैनन्,’ उनले भनेका छन्, ‘तर, गुगलले त्यो सम्भावित आँधी–बेहरीको सामना गर्न सक्ने क्षमता भने राख्छ ।’
के हो 'एआई बबल बर्स्ट’ ?
सन् २०२२ को नोभेम्बरमा ओपेनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि अब एआईले प्रविधि क्षेत्रमा क्रान्ति ल्याउँछ भन्ने विश्वासका साथ विश्वभर लगानीको बाढी नै आयो । सन् २०२४ मा मात्रै अमेजनले एन्थ्रोपिकमा करिब ४ अर्ब डलर, माइक्रोसफ्टले ओपनएआईमा ६.६ अर्ब, एनभिडिया र माइक्रोसफ्टले इलन मस्कको एक्सएआईमा ६ अर्ब डलर लगानी गरे ।
अमेरिकाले एआईका लागि करिब १०१.१ अर्ब डलर, चीनले ९.३ अर्ब डलर, युरोपले १२.८ डलर लगानी गरेको बुझिन्छ । यसले कम्पनीहरूको बजार मूल्यांकन पनि ह्वात्तै बढाइदियो । तर, यस्तो अधिक मूल्यांकन उनीहरूको वास्तविक आम्दानी, मुनाफा र दिगो व्यावसायिक सफलताका आधारमा नभई पानीको फोका (बबल) जस्तै बाहिरबाट हेर्दा सुन्दर तर भित्र खोक्रो रहेकाले कुनै पनि बेला प्वाट्ट फुट्ने आशंका गरिएको छ ।
ब्लुमबर्ग इन्टेलिजेन्सका अनुसार सन् २०२२ यता एआईसम्बन्धी कम्पनीहरूको बजार मूल्यमा करिब १७.५ ट्रिलियन डलर (करिब १८ खर्ब रुपैयाँ) थपिएको छ । चिप उत्पादक एनभिडियाको सेयर मूल्य सन् २०२३ को सुरुदेखि नै १३ गुणाले बढेको थियो । माइक्रोसफ्ट र अल्फाबेटको सेयर मूल्य पनि क्रमशः २.१ गुणा र ३.२ गुणाले वृद्धि भयो ।
मेटाजस्ता कम्पनीहरूले सन् २०२५ भित्र एआई पूर्वाधारमा ७० अर्ब डलरभन्दा बढी खर्च गर्ने योजना सार्वजनिक गरेका छन् । एआई उछालको मुख्य स्तम्भ मानिने, एनभिडिया त करिब ५० खर्ब अमेरिकी डलरको बजार मूल्यांकन पार गर्ने पहिलो कम्पनी बन्न पुग्यो । अब यो उत्साहमा दरार देखिन थालेपछि लगानीकर्ताहरू चिन्तित बनेका छन् ।
पछिल्ला घटनाक्रम र संकेतहरूले एआई बबल अर्थात् कृत्रिम वृद्धिबाट अत्यधिक ठूलो भएको बजार, कुनै पनि बेला फुट्न सक्नेतर्फ इंगित गरेको समाचार र विश्लेषणहरू बाक्लिएका छन् । अहिले अमेरिका–युरोपदेखि भारतसम्मका मिडियामा गएको वर्ष एआईमा भएको लगानी र अकासिएको बजार मूल्यबारे चर्चा बढेको छ ।
‘एआई बबल’ भन्नाले यस्तो अवस्था बुझिन्छ जब एआईसँग जोडिएका कम्पनीहरूको मूल्यांकन नाफा, आम्दानी वृद्धि वा वास्तविक मागजस्ता आधारभूत तत्त्वबाट भन्दा पनि हल्लीखल्ली, अतिआशावाद र भविष्यमा असीम विस्तारको कल्पना गरिन्छ । तर, सोचेभन्दा फरक नतिजा आएमा त्यो बर्स्ट भएको वा फोका फुटेको रूपमा लिइन्छ ।
इतिहास हेर्दा धेरैले अहिलेको अवस्थालाई सन् २००० को दशकमा भएको ‘डट–कम बबल’ सँग दाँजेर हेर्ने गरेका छन् । त्यसबेला इन्टरनेटकेन्द्रित कम्पनीहरूको मूल्य नाफाभन्दा वाचा र हल्लामै उक्सियो अनि अन्ततः त्यो एकाएक ओर्लंदा ५० खर्ब अमेरिकी डलरभन्दा बढीको बजार ध्वस्त भएको थियो । त्यसले विश्व अर्थतन्त्रमा लामो समयसम्म असर पार्यो । एआईमा पनि अब त्यस्तै दुर्घटना निम्तिन सक्ने कतिपयको बुझाइ छ । यसले गर्दा ‘एआई बबल बर्स्ट’ अर्थात् एआई कम्पनीहरूको बजार मूल्य ठूलो मात्रामा खस्किने चर्चा हुन थालेको हो ।
पछिल्ला हप्ताहरूमा प्रविधि र एआई कम्पनीहरूको सेयर मूल्य निरन्तर घटिरहेको छ । गत बिहीबार एकै दिन अमेरिकी प्रविधि कम्पनीका सेयर लगानीकर्ताहरूले लगभग १५ खर्ब अमेरिकी डलर गुमाएका थिए । प्रविधि कम्पनीहरूको वर्चस्व भएका प्रमुख सूचकांकहरूले झन्डै ३ प्रतिशत अर्थात् पछिल्ला केही महिनाको सबैभन्दा गहिरो गिरावट सामना गरे । न्यासड्याक कम्पोजिट २.३ प्रतिशतले ओरालो लाग्यो भने एसएन्डपी ५०० ले १.७ प्रतिशत गुमाएको थियो । एसियाली बजारहरू पनि प्रभावित बने । जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी पनि क्रमशः १.७ र २.२ प्रतिशतले खस्किए ।
यो साता पनि प्रविधि कम्पनीका सेयर मूल्य अस्थिर देखिएका छन् । गत वर्ष लगातार उकालो लाग्दै कीर्तिमानी उचाइमा पुगेका टेक कम्पनीहरूको मूल्य अहिले लगातार घटिरहँदा यसले सन् २००० को डट–कम बबल बर्स्टको स्मरण गराएको हो । सन् १९९० को दशकमा ‘डट–कम’ कम्पनी खोल्ने लहर चलेको थियो ।
इन्टरनेटको विकास र सम्भाव्यतालाई लिएर लगानीकर्ताहरू पनि अधिक उत्साहित थिए । त्यसकारण उनीहरूले डट–कम कम्पनीहरूमा मनग्गे लगानी गरे । सन् २००० को मार्चमा नासड्याक कम्पोजिट इन्डेक्स ५ हजार ४८ बिन्दुमा पुग्यो, त्यो अघिल्लो वर्षको भन्दा दोब्बर रहेको इन्ट्युसन ल्याब्समा प्रकाशित ‘एआई बबल भर्सेस डट–कम बबल’ प्रतिवेदनमा उल्लेख छ ।
सन् २००० को सुरुवातमा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेपछि लगानी पुँजी महँगो हुन पुग्यो । त्यसपछि डट–कम कम्पनीहरूको अधिक मूल्यांकन वा ओभरभ्यालुएसन भएको भन्दै यसमाथि प्रश्न उठ्न थाल्यो । डट–कम कम्पनीहरूको वित्तीय अवस्था र मुनाफाको सम्भाव्यताबारे शंका उब्जिएपछि सेयर बेचेर उम्किन खोज्ने माहोल बनेको थियो ।
मार्च २००० देखि अक्टोबर २००२ को बीचमा नासड्याक इन्डेक्स ५ हजार ४८ बाट घटेर १ हजार १ सय ३९ मा झरेको ‘एआई बलल भर्सेस डट–कम बलल’ प्रतिवेदनमा उल्लेख छ । यसलाई पहिलो इन्टरनेट बबल बर्स्टका रूपमा पनि लिइन्छ । त्यो बेला कतिपय कम्पनीहरूको बजार मूल्यमा ८० प्रतिशतभन्दा धेरैको गिरावट आएको थियो । लगानीकर्ताहरूले करिब ५ खर्ब डलर गुमाएको अनुमान गरिन्छ ।
चिन्ता र चेतावनी
द फाइनान्सिल टाइम्सको समाचारअनुसार गोल्डम्यान स्याक्सका विश्लेषक डोमिनिक विल्सन र भिकी चाङले आफ्ना क्लाइन्टलाई पठाएको सन्देशमा एआईमा गरिएको अत्यधिक लगानीले ‘१९९० को दशकका असन्तुलनहरू फेरि दोहिरिने’ जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । सन् २००८ को वित्तीय संकटको भविष्यवाणी गरेर चर्चा कमाएका लगानीकर्ता माइकल बरीले त एआई बबल बर्स्टको सम्भावना औंल्याउँदै आफ्नो हेज फन्ड नै बन्द गर्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘सुरक्षाको दृष्टिले हेर्दा मेरो मूल्यांकन अहिलेको बजारसँग मेल खाँदैन ।’ उनले अमेरिकी सरकारी निकायले प्रयोग गर्ने एआई पूर्वाधार निर्माता प्यालन्टिर र एआई चिप निर्माता एनभिडियाजस्ता ठूला एआई कम्पनीहरूको सेयर उल्लेख्य घट्ने बाजी नै लगाएका छन् । जेपी मोर्गन चेजका प्रमुख जेमी डिमोन र अन्य बैंक प्रमुखहरूले पनि आगामी दुई वर्षभित्र बजारमा गम्भीर परिवर्तन आउन सक्ने चेतावनी दिएका छन् ।
अहिले धेरै कन्टेन्ट क्रिएटर, प्रविधि विश्लेषक र बजारका जानकारहरूले पनि एआई ट्याग लागेका कम्पनीहरूले आफ्नो भव्य सफलताको कथा दोहोर्याउन लागेको हो कि भन्ने बलियो आशंका सुरु गरेका छन् । उनीहरूले अहिलेको लहर अत्यधिक अकासिएको र आम्दानी–खर्चको सन्तुलन र सम्भाव्यताको हिसाबले पनि यो प्राक्तृिक नदेखिएको चेतावनी दिइरहेका छन् ।
उदाहरणका लागि चर्चित धनाढ्य बिल गेट्सले समेत वर्तमान अवस्था मूल्यांकन गर्दा आफूलाई डट–कम युगको याद आएको भन्दै ‘मूल्य अत्यन्तै उच्च भएको र यीमध्ये केही कम्पनीहरू अन्ततः डुब्ने’ प्रतिक्रिया दिएका छन् । गएका केही महिनामा गेट्स संलग्न फाउन्डेसनले झन्डै ९ अर्ब अमेरिकी डलरको १ करोड ७० लाख एआई कम्पनीहरूसँग सम्बन्धित सेयर बिक्री गरेको थियो । यसले पनि एआई बजारमा तत्कालै केही हुन सक्ने आकलन गर्न सकिन्छ ।
एआई उद्योगसम्बन्धी टिप्पणीहरूमा ब्लुमबर्गले प्रस्तुत गरेको एउटा ग्राफिक चर्चित बनेको छ । त्यसमा एआई कम्पनीहरूले कसरी एकआपसमा नै सेवा उत्पादन र आपूर्ति गरी एकअर्काको बजार मूल्य बढाउन सघाएका छन् भन्ने देखाइएको छ । एउटा कमजोर कडी च्यातिँदा पूरै शृंखलामा असर पर्ने जोखिम बढ्ने र अकासिएको मूल्यांकन, अन्योलपूर्ण व्यावसायिक मोडेलसँगै अन्धाधुन्ध गरिएको खर्चले ठूलो दुर्घटना नित्म्याउन सक्ने संकेत गरेको ब्लुमबर्गको निष्कर्ष छ ।
कर्पोरेटस्तरमा एआईको वास्तविक प्रयोग वा अडप्सन सुस्त हुनु, खर्च अत्यधिक बढिरहनु र त्यस अनुपातमा नाफा नआउनु नै मुख्य समस्या रहेको मानिन्छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल–बेनेडिक्ट फ्रेले डीडब्लूलाई बताएअनुसार एआई पूर्वाधारमा ठूलो लगानी गरिएको छ तर धेरै अमेरिकी सर्वेक्षणहरूले एआई उपकरणको प्रयोग वास्तवमा गर्मीयामदेखि घटेको देखाउँछन् । उनले नयाँ र बलियो उपयोगिताका क्षेत्रहरू छिट्टै देखा नपरेमा बबल फुट्न सक्ने उल्लेख गरेका छन् ।
डीडब्लूसँगै कुराकानीमा लन्डन स्कुल अफ इकोनोमिक्सका वरिष्ठ फेलो, स्टुअर्ट मिल्सले पनि एआईमा गरिएको लगानी र त्यसबाट भइरहेको आम्दानीबीचको अन्तरले आफूलाई चिन्तित बनाएको बताएका छन् । ओपनएआईले गत वर्ष ८ देखि ९ अर्ब डलर खर्च गरेर जम्मा ३.७ अर्ब डलर मात्र आम्दानी कमाएको थियो ।
समाचार संस्था ‘द इन्फर्मेसन’ को तथ्यांकअनुसार च्याटजीपीटी निर्माता, सो कम्पनीले सन् २०२९ अघि नै १२९ अर्ब डलर खर्च गर्ने अनुमान छ । बेलायतको म्याक्रो स्ट्राटेजी पार्टनरसिपका साझेदार जुलियन ग्यारानले एआईमा गरिएको लगानीलाई ‘पुँजीको ठूलो दुरुपयोग’ भन्दै यसले विगतका होडबाजीलाई उछिनेको बताएका छन् । उनले यो दुरुपयोगको मात्रा सन् २००८ को वित्तीय संकटअघिको हाउजिङ बबलभन्दा चार गुणा र डट–कम बबलभन्दा १७ गुणा ठूलो रहेको अनुमान गरेका छन् ।
यसैगरी, न्यु योर्क विश्वविद्यालयका प्राध्यापक ग्यारी मार्कसको टिप्पणीमा अधिकांश जेनेरेटिभ एआई कम्पनीहरूको अधिक मूल्यांकन र अधिक चर्चा गरिएको छ । उनी एनभिडियालाई भने ‘सुन किन्ने दौड चलिरहँदा बेल्चा बेच्न सफल’ भन्दै चलाख संस्थाका रूपमा ठट्टा गर्छन् ।
न्युयोर्कस्थित मार्केट इन्टेलिजेन्स फर्म, अल्फासेन्सकी सारा हफम्यानले एआईमा ‘भयानक बबल विस्फोट’ नभई ‘बजार सुधार’ नहुने भविष्यवाणी गरेकी छन् । त्यसो भएमा एआई बजारको कुनै पनि अस्थिरता धान्न सक्ने गुगलको दाबी साँचो ठहरिन्छ कि झूट, छर्लङ्गै देखिनेछ ।
– एजेन्सीको सहयोगमा
