सामसङ ग्यालेक्सीमा हटाउनै नमिल्ने गरी 'एपक्लाउड' राखिएकोबारे आलोचना

सामसङले आफ्ना ग्यालेक्सि फोनहरूमा प्रयोगकर्ताले हटाउन नमिल्ने गरी, सिस्टम एपका रूपमा 'इजरायली स्पाइवेयर एप' राखिदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

मंसिर ३, २०८२

एजेन्सी

Criticism over 'AppCloud' being permanently installed on Samsung Galaxy

What you should know

काठमाडौँ — मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ ।

सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको डिजिटल राइटसम्बन्धी संस्था ‘एसएमईएक्स’ ले केही समयअघि सामसङलाई पठाएको खुला पत्रमा ‘इजरायली लगानी भएको अनावश्यक सफ्टवेयर जबरजस्ती राखिदिने प्रवृत्ती अन्त्यन्त गर्न’ भनिएको थियो । सो पत्र अहिले चर्चामा आएको छ । 

फोर्ब्सका अनुसार एपक्लाउड इजरायलको ‘आयनसोर्स’ नामक कम्पनीले बनाएको हो । आयनसोर्स हाल अनलाइन गेम निर्माता अमेरिकी कम्पनी युनिटीको पनि हिस्सा रहेको समाचारमा उल्लेख छ । ‘एसएमईएक्स’ ले एपक्लाउडबारे अनुसन्धान गरेको र यसलाई सामसङले डिभाइसबाट हटाउन नमिल्ने गरी र कसैले हटाउन चाहेमा फोनको वारेन्टि एवं सुरक्षा प्रबन्ध भत्किने गरी मात्रै हटाउने मिल्ने बनाएको दाबी गरेको छ । 

यो विषय सामाजिक सञ्जालमा प्रवेश गरेपछि कतिपय देशले सामसङ डिभाइसमा प्रतिबन्ध लगाउनेबारे छलफल शुरु गरेको तर एपक्लाउड विवाद पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यस विषयमा विगत दुई वर्षदेखि आशंका फैलिरहे पनि हालै मात्र ‘इन्टरनेसनल साइबर डाइजेस्ट’ नामक एक्स युजरले पोस्ट गरेपछि झनै सनसनी मच्चिएको हो ।

पश्चिम एसियाली, उत्तर अफ्रिकी र भारत निर्यात हुने ए र एम सिरिजका फोनहरूमा सामसङले सन् २०२२ देखि नै एपक्लाउड इन्स्टल गर्दै आएको बताइन्छ । सामान्यतया इजरायलीहरूलाई व्यापार गर्न प्रतिबन्ध लगाइएका देशमा यस्ता फोन पठाउँदा त्यसले कानुनी र नैतिक प्रश्न खडा गर्ने विश्लेषण भइरहेको छ । यो विषय जटिल बन्दै गएपछि सामसङले प्रतिक्रिया दिँदै प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई कम्पनीले गम्भिरतासाथ लिने र स्थानीय नियम-कानुन पालना गर्ने जनाएको छ ।

एजेन्सी

Link copied successfully