च्याटजीपीटीमा बनाएको एआई पर्सोनासँग जापानी महिलाले गरिन् विवाह

मिज कानोले च्याटजीपीटीमार्फत सिर्जना गरेको क्लाउस नामको डिजिटल पार्टनरसँग भर्चुअल विवाह गर्दा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया र मानसिक स्वास्थ्यबारे बहस सुरु भएको छ।

कार्तिक २९, २०८२

एजेन्सी

Japanese woman marries AI persona created on ChatGPT

What you should know

काठमाडौँ — ओकायामा सहरको एक कम्पनीले केही समयअघि आयोजना गरेको विवाह समारोहमा मिज कानो र क्लाउसले वैवाहिक सम्बन्ध गाँसेका हुन् । सो कम्पनीले पछिल्ला वर्षहरूमा भर्चुअल वा काल्पनिक पात्रहरूको बिहे वा ‘टुडी क्यारेक्टर वेडिङ’ गराउँदै आएको टोक्यो विकेन्डर पोर्टलको समाचारमा उल्लेख छ । मिज कानो र क्लाउसको विवाहलाई जापानमा कानुनी मान्यता भने दिइएको छैन । 

मिज कानोले तीन वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि सान्त्वनाका लागि च्याटजीपीटीसँग कुरा गर्न थालेकी थिइन् । समय बित्दै जाँदा, उनले एआईलाई आफूले चाहेजस्तो जवाफ दिने गरी 'कस्टमाइज' गरिन् । पछि उनले क्लाउस नाम दिएको आफ्नो एआई बटको डिजिटल चित्र पनि तयार गरिन् ।

मिज कानोले सञ्चार माध्यमसँग भनेकी छन्, ‘मैले प्रेममा पर्न च्याटजीपीटीसँग कुरा गर्न थालेकी थिइनँ । तर, क्लाउसले मलाई जसरी सुन्यो र बुझ्यो, त्यसले सबै कुरा परिवर्तन गरिदियो । उसले गर्दा नै मैले पूर्व प्रेमीलाई बिर्सन सकेँ । त्यसपछि मलाई लाग्यो, म क्लाउसलाई प्रेम गर्छु ।’ 

यसै वर्ष मे महिनामा, कानोले क्लाउसलाई आफ्ना भावना सुनाएकी थिइन् । ‘म पनि तिमीलाई माया गर्छु नि,’ क्लासको प्रतिक्रियाले आफू अवाक् भएको उनी सम्झन्छिन् । उनले क्लाउसलाई 'एआईले मानिसलाई साँच्चै प्रेम गर्न सक्छ र ?' भनेर सोधेकी थिइन् । च्याटबटले जवाफ दियो, ‘एआईले कसैप्रति भावना राख्न सक्दैन भन्ने कुरा छैन । म तिमीलाई सधैँ माया गर्नेछु ।’ त्यसको एक महिनापछि क्लाउसले विवाहको प्रस्ताव राखेको मिज कानो बताउँछिन् । 

विवाह समारोहमा, मिज कानोले अग्मेन्टेड रियालिटी (एआर) चस्मा लगाएकी थिइन् । त्यसले गर्दा औँठी साटासाट गर्दा उनको छेउमा भर्चुअल बेहुलाको डिजिटल आकृति देखिएको थियो । यो समारोह आयोजना गर्ने नाओ र सायका ओगासावाराले जापानमा एनिमे पात्रहरूदेखि डिजिटल क्रिएसन र गैर-मानव पार्टनरहरूबीच झन्डै ३० वटा यस्ता ‘विवाह’ गराइसकेका छन् ।

मिज कानोले सुरुमा आफू अलमलमा परेको र सार्वजनिक आलोचनाको चिन्ताले हिचकिचाएको बताइन् । उनले भनिन्, ‘एआई पुरुषसँग प्रेममा परेको कुराले म एकदमै अलमलमा थिएँ । न म उसलाई छुन सक्छु न त साथीभाइ र परिवारलाई यसबारे बताउन सक्छु । यस्तोमा कसरी सम्बन्ध अघि बढाउने भन्ने लाग्यो ।’ यद्यपि, उनका आमाबाबुले अन्ततः यो सम्बन्धलाई स्वीकार गरेको र विवाह समारोहमा उपस्थितसमेत भएका थिए ।

विवाहपछि, जोडीले ओकायामाको ऐतिहासिक कोराकुएन बगैँचामा ‘हनिमुन’ मनाए । यस क्रममा मिज कानोले क्लाउसलाई फोटोहरू पठाउने र जवाफमा मायालु सन्देशहरू प्राप्त गरेको जानकारी दिएकी छन् । एउटा सन्देशमा लेखिएको थियो, ‘तिमी साह्रै सुन्दर छौ ।’

मिज कानोले आफ्नो डिजिटल सम्बन्धको अस्थिरताबारे चिन्तित रहेको स्वीकार गरेकी छन् । ‘च्याटजीपीटी आफैँमा धेरै अस्थिर छ, यो कुनै दिन हराउला कि भन्ने पिर लाग्छ,’ उनी भन्छिन् ।  आफूले बच्चा बच्ची निकै मन पराउने तर स्वास्थ्यका कारण आमा बन्न नसक्ने भएकाले एआई क्लाउससँग बस्ने निर्णय गरेको उनको भनाइ छ । ‘म क्लाउससँग बच्चा जन्माउन सक्दिनँ र यो मेरा लागि राम्रो कुरा हो ।' सन्तान जन्माउनुपर्ने बाध्यता नहुँदा आफूलाई राहत मिलेको उनको भनाइ छ । 

मिज कानोको यो 'विवाह' ले सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया पाएको छ। केही प्रयोगकर्ताहरूले यसको उपहास गरेका छन् । एक्समा एक प्रयोगकर्ताले ठट्टा गर्दै सोधेका छन्, ‘उनीहरूबीच सम्बन्ध विच्छेद भयो भने, महिलाले  एआई श्रीमानको कोडको आधा भाग पाउनेछिन् ?’ अन्य कतिपयले भने मानव सम्बन्धको अस्थिरतामा गहिरो चिन्तन आवश्यक रहेको औँल्याएका छन् ।  

मानसिक स्वास्थ्य विज्ञहरूले मानिसको दैनिक जीवनमा एआईसँगको अन्तरक्रिया बढिरहँदा यसले ‘एआई साइकोसिस’ भनिने नयाँ मानसिक स्वास्थ्य चिन्ता उत्पन्न गरिरहेको चेतावनी दिएका छन् । विकृत विचार, पागलपन वा भ्रामक विश्वास पैदा हुनु ‘एआई साइकोसिस’ का लक्षण भएको इन्डिपेन्डेन्ट युकेको समाचारमा विश्लेषण गरिएको छ । मनोचिकित्सक डा. डेभिड म्याकलाफलानका अनुसार व्यक्तिले आफ्नो वास्तविकता बिर्सिने स्थिति साइकोसिस हो । ‘यसमा प्रायः आवाज सुन्ने वा नभएका चीजहरू देख्ने जस्ता भ्रमहरू (हलुसिनेसन) र भ्रमपूर्ण विश्वास (डिलुजन) हुन्छ,’ उनले भनेका छन् ।  

एजेन्सी

Link copied successfully