एआई कम्पनीहरूबीच ब्राउजर बनाउने होडबाजी

केही दिनअघि मात्रै दुई प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी, ओपनएआई र पर्प्लेक्सिटीले आफ्ना इन्टरनेट ब्राउजर सर्वसाधारणका लागि खुला गरे । यससँगै लामो समय गुगलको एकाधिकार रहेको ‘वेब ब्राउजिङ’ मा नयाँ मोड आएको विश्लेषण भइरहेको छ । 

कार्तिक २५, २०८२

एजेन्सी

AI companies race to create browsers

What you should know

काठमाडौँ — एआईसहितको नयाँ ब्राउजरमार्फत कम्पनीहरूले प्रयोगकर्ताको अनलाइन व्यवहार, रुचि, आनीबानी, स्वभाव बुझ्ने र सोहीअनुरुप रिजल्ट देखाउन खोजिरहेका छन् ।

झन्डै ७० करोड साप्ताहिक र लगभग २ करोड दैनिक प्रयोगकर्ता रहेको दाबी गर्ने ओपनआईले आफ्नो ब्राउजर ‘च्याटजीपीटी एटलस’ हालका लागि एप्पल प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ । त्यस्तै, २० लाख आसपास दैनिक प्रयोगकर्ता रहेको पर्प्लेक्सिटीले पनि आफ्नो ब्राउजर ‘कमेट’ अक्टोबरमै सार्वजनिक रूपमा उपलब्ध गराएको हो । माइक्रोसफ्टले आफ्नो ब्राउजर ‘एज’लाई च्याटजीपीटीको सहयोगले बजारको प्रतिस्पर्धामा फर्काएको छ । यति मात्र होइन, आर्क म्याक्स, एन्थ्रोपिक, ओपेरा, द ब्राउजर कम्पनी लगायतले एआई सुविधा सहितका ब्राउजर निर्माण गरेका छन् । 

ब्राउजर र सर्च इन्जिन बजारमा एक दशकयता एकछत्र राज गरिरहेको अल्फाबेट (गुगल)ले ‘क्रोम’लाई आफ्नो व्यवसायको प्रमुख आधार मान्छ । विश्वभर चल्तीका ब्राउजरमा दुई तिहाईभन्दा बढीले क्रोम ब्राउजर प्रयोग गर्छन् । यसका प्रयोगकर्ताको संख्या झन्डै साँढे ३ अर्ब रहेको मानिन्छ । ब्राउजर बजारमा दोस्रो स्थानमा रहेको ‘सफारी’मा डिफल्ट हुनका लागि मात्रै गुगलले अर्बौं डलर तिर्ने गरेको बताइन्छ । यसले पनि ब्राउजर व्यवसाय अल्फाबेटका लागि कति महत्त्वपूर्ण छ भन्ने अनुमान गर्न सकिन्छ ।

सन् २०२२ मा जेनेरेटिभ एआईको उदयसँगै सर्च इन्जिन र ब्राउजरहरू पनि फेरिएका छन् । पहिले प्रयोगकर्ताहरूले सोधेका प्रश्नको जवाफमा लिंकहरूको सूची उपलब्ध गराउने ब्राउजरहरू अब प्रयोगकर्ताका जिज्ञासाको ‘टु द प्वइन्ट’ उत्तर दिन थालेका छन्, कतिपयले प्रयोगकर्ताका लागि एजेन्टका रूपमा कामसमेत गरिदिन्छन् । एआईको सहयताले कुन ब्राउजर कति ‘स्मार्ट’ बनाउने भन्ने होडबाजी चलेको छ । उदाहरणका लागि प्रयोगकर्ताले आफ्नो इन्टरनेट ब्राउजरलाई यात्राको लागि होटल वा उडान बुकिङ गरिदिन वा इमेल पठाउन निर्देशन दिन सक्छन् । एआईले त्यो काम गरिदिन्छ ।

परप्लेक्सिटीको ‘कमेट’ र ओपेराको ‘नियोन' जस्ता नयाँ ब्राउजरहरूले प्रयोगकर्ताका कामहरू आफैँ गर्न थालिसकेका छन् । नयाँ ब्राउजरहरूको आगमनले गुगलको सर्च र एड (विज्ञापन) व्यापारलाई भने प्रभावित पार्ने अनुमान गरिएको छ । सर्च पेजमा देखिने विज्ञापन र स्पन्सर्ड कन्टेन्ट आउन छोडेपछि गुगलको अर्बौँ डलरको विज्ञापन व्यवसाय प्रभावित हुने ठानिएको छ । तर, एआई ब्राउजरहरूको प्रतिस्पर्धामा गुगलले पनि आफूलाई तयार गरिरहेको देखिन्छ । कम्पनीले आफ्नो एआई मोडल जेमिनाइलाई क्रोममा इन्टिग्रेट गरिरहेको छ । ओपनएआईको एटलस र पर्प्लेक्सिटीको कमेटले प्राविधिक जटिलता पन्छाउन गुगलकै ‘क्रोमियम’ प्रणालीमा आफ्ना ब्राउजर निर्माण गरेकाले गुगल निश्चिन्त पनि छ । 

एजेन्सी

Link copied successfully