इलन मस्कलाई टेस्लाबाट ट्रिलियन डलरको पे-प्याकेज स्वीकृत

टेस्लाका ७५ प्रतिशतभन्दा बढी शेयरधनीको समर्थनपछि इलन मस्कलाई कम्तीमा सात वर्ष टिकाइराख्नेगरी ट्रिलियन डलरको पे प्याकेज अनुमोदन भएको छ ।

कार्तिक २१, २०८२

एजेन्सी

Elon Musk approved a trillion-dollar pay package from Tesla

What you should know

काठमाडौँ — विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्क अब विश्वकै पहिलो ट्रिलियनियर बन्ने सम्भावना देखिएको छ । बिहीबार टेस्लाका सेयरधनीहरूले मस्कलाई भव्य बोनस प्याकेज उपब्ध गराउने विषयमा स्वीकृत दिएपछि उनी ट्रिलिनियर बन्ने बाटो खुलेको हो । उनले केही दीर्घकालीन लक्ष्य पूरा गरेमा १ ट्रिलियन डलर कमाउनेछन् ।  

टेस्लाको टेक्सासस्थित मुख्यालयमा बसेको शेयरधनीहरूको बैठकमा भएको मतदानपछि मस्कलाई ट्रिलियन डलरको पे प्याकेज दिने निर्णय भएको हो । शेयरधनीमध्ये ७५ प्रतिशतभन्दा धेरैले मस्कको पक्षमा मत दिएका थिए । उनलाई टेस्लामा टिकाइराख्न यस्तो निर्णय गरिएको हो । मस्कका अनुसार टेस्लाको प्रगति एआई, सेल्फ-ड्राइभिङ प्रविधि र रोबोटिक्समा निर्भर छ । 

हाल मस्कको नेटवर्थ (कुल सम्पत्ती) ५ सय बिलियन डलर छ । उनी फोर्ब्सको रियल-टाइम बिलिनियरको सूचीमा पहिलो नम्बरमा छन् । टेस्लाको बजार मूल्य २ ट्रिलियन पुगेपछि मस्कलाई बोनस प्याकेजको पहिलो अंश पाउनेछन् । त्यस्तै, टेस्लाको बिक्री २ करोड पुगेपछि उनलाई बोनस प्याकेजअन्तर्गत अर्को पे प्याकेज प्रदान गरिनेछ । कम्पनीले मस्कलाई कम्तिमा साँढे ७ वर्ष टिकाइराख्ने गरी यस्तो प्याकेज तयार पारेको छ ।     

यो मस्कका लागि ठूलै जित भए पनि टेस्ला अहिले दबाबमा छ । बिक्री संख्या, बजार हिस्सा र नाफा घटिरहेका छन् । यस्तो हुनुको केही कारणमध्ये मस्क स्वयं जिम्मेवार रहेको बताइन्छ । उनले पछिल्लो समय अमेरिकी र युरोपेली राजनीतिमा सक्रियता बढाएपछि कतिपय ग्राहक टेस्लाबाट टाढिएका छन् । मस्कका राजनीतिक र सामाजिक टिप्पणीहरूप्रति चिढिएका कतिपय अमेरिकी ग्राहकले केही समयअघि आफ्ना टेस्ला गाडीको लोगोमाथि टोयोटा, अडी, माज्दाजस्ता अन्य ब्रान्डको लोगो टाँसेका थिए । 

मतदानको तीन दिनअघि मात्र युरोपमा टेस्ला कारको बिक्री पुनः घटेको रिपोर्ट आएको थियो । जर्मनीमा त ५० प्रतिशतसम्म बिक्री घटेको देखिएको छ । तथापी, धेरै लगानीकर्ताले मस्कलाई चामत्कारिक उद्यमीको रूपमा हेर्छन् किनभने केही वर्षअघि उनले टाट पल्टिएर बन्द हुने स्थितिमा पुगेको टेस्लालाई पुन: माथि उठाएर विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पुर्‍याएका थिए । 

एजेन्सी

Link copied successfully