जेमिनाई एआईले गुगल म्याम्प्सलाई बनायो थप स्मार्ट

म्याप्सको क्यामेरामा अन गरेर फोनलाई वरिपरिको ठाउँतर्फ देखाउनेबित्तिकै एआईले त्यहाँका पसल, रेस्टुरेन्ट वा अन्य प्रसिद्ध ठाउँबारे जानकारी दिन्छ ।

कार्तिक २०, २०८२

एजेन्सी

Gemini AI makes Google Maps smarter

काठमाडौँ — गुगलले आफ्नो चर्चित नेभिगेसन एप, गुगल म्याप्समा जेमिनाई एआई आबद्ध गर्दै म्याप्सलाई थप स्मार्ट र अन्तर्क्रियात्मक बनाएको छ । प्रयोगकर्ताले अब म्याप्समा बोलेरै ठाउँ खोज्न सक्छन्, टाइप गरिरहनु पर्दैन ।

म्याप्सको क्यामेरामा अन गरेर फोनलाई वरिपरिको ठाउँतर्फ देखाउने बित्तिकै एआईले त्यहाँका पसल, रेस्टुरेन्ट वा अन्य प्रसिद्ध ठाउँबारे जानकारी दिन्छ ।

कम्पनीका अनुसार गुगल म्याप्स अब बाटो देखाउन मात्र नभइ प्रयोगकर्ताका हरेक प्रश्नको जवाफ दिने, सडक पूर्वाधारको विज्ञझैं बनेको छ । 

जेमिनाई इन्टिग्रेट गरिएपछि गुगल म्याप्सले पहिलोपटक ह्यान्ड्स-फ्री वा दोहोरो संवाद गर्न मिल्ने सुविधा प्रदान गरेको छ । चालकले स्टेयरिङबाट हात नहटाई जेमिनाईसँग कुराकानी गर्न सक्छन् । यो नयाँ सुविधाले पुग्न चाहेको स्थानहरू खोज्न, ईभी चार्जरहरू पत्ता लगाउन वा एन्ड्रोइड प्रयोगकर्ताका लागि आफू आइपुग्ने समय (एस्टिमेटेड टाइम अफ अराइभल- ईटीए) साथीभाइलाई सेयर गर्न सरल बनाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

चालकले ‘मेरो रुटमा सस्तो, साकाहारी रेस्टुरेन्ट कहाँ छ, त्यो केही माइलभित्र होस् र त्यहाँ पार्किङ कस्तो छ ?’ भनेर सोध्न सक्छन् । र, जेमिनाईले त्यसको जवाफ दिएपछि ‘हुन्छ, त्यतै जाऊँ’ भनेर संवाद गर्ने सक्छन् । प्रयोगकर्ताले जेमिनाईको सहयोगमै गुगल म्याम्पलाई क्यालेन्डरसँग पनि जोड्न सक्छन् । म्याप र क्यालेन्डर जोड्ने अनुमति दिएपछि ‘भोलि ५ बजेको फुटबल अभ्यासका लागि क्यालेन्डरमा इभेन्ट थपिदेऊ’ जस्ता कामहरू स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै, चालकहरूले रेस्टुरेन्टमा कुन परिकार लोकप्रिय छन् भनेर सोध्न वा अघिल्लो रातको खेल वा समाचार सुन्न सक्छन् । 

नेभिगेसनमा आएको अर्को महत्वपूर्ण सुधार भनेको ‘५०० फिटपछि दायाँ मोडिनुहोस्’ भन्ने पुरानो शैलीको निर्देशनको सट्टा लाइभ लोकेसन प्रयोग गर्न मिल्ने गुगलले जनाएको छ । जेमिनाईको सहयोगले अब गुगल म्याप्समा ट्राफिक बत्ती र स्टप साइन मात्र नभएर पेट्रोल पम्प, रेस्टुरेन्ट र प्रसिद्ध भवनहरूका चिह्न पनि देखिनेछन् । अचानक ट्राफिक जाम वा अप्रत्याशित सडक बन्दजस्ता समस्याहरू आउनुअघि नै जेमिनाईले चालकलाई अलर्ट पठाउनेछ ।

एजेन्सी

Link copied successfully