टिकटकले सार्वजनिक गर्‍यो कन्टेन्ट क्रिएटरका लागि यी नयाँ फिचर

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकले कन्टेन्ट क्रिएटर (सर्जकहरू)का लागि थप लोकप्रिय र प्रयोगकर्तामैत्री कन्टेन्ट बनाउन नयाँ सुविधाहरू थपेको जनाएको छ ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ फिचरमा क्रिएटर केयर मोड, लाइभ म्युटिङ टुल, कन्टेन्ट चेक लाइट,  क्रिएटर इनबक्स र क्रिएटर च्याटरुमजस्ता सेवा उपलब्ध छन् ।   

क्रिएटर केयर मोडले कमेन्ट सेक्सन व्यवस्थापनमा सहज बनाउने टिकटकले जनाएको छ । यो मोड एक्टिभेट गर्दा पहिले रिपोर्ट वा मेटाइएको कमेन्टहरूका आधारमा अश्लील, दुर्व्यवहारपूर्ण वा अपमानजनक कमेन्टहरू स्वचालित रूपमा हाइड हुन्छन् वा लुक्छन् । यसले क्रिएटरलाई कमेन्ट मोडरेसनमा समय खर्च गर्नुभन्दा भिडियो सिर्जना गर्न केन्द्रित हुन सजिलो बनाउने कम्पनीको दाबी छ ।

लाइभ स्ट्रिम गर्ने सर्जकहरूका लागि टिकटकले म्युट फिचर अपग्रेड वा सुधार गरेको छ । यसबाट लाइभका बेला अपाच्य शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई म्युट वा ब्लक गर्न सकिन्छ । सर्जक वा मोडरेटरले कुनै शब्द वा वाक्य सेट गरेपछि, त्यसरी कमेन्ट गर्ने प्रयोगकर्तालाई तोकिएको समयसम्म म्युट गरिनेछ ।

वेबमार्फत टिकटक स्टुडियोमा उपलब्ध कन्टेन्ट चेक लाइट फिचरले क्रिएटरलाई भिडियोको पहुँच सीमित गर्नसक्ने संकेत देखाउँछ । यसले सर्जकलाई पोस्ट गर्नुअघि सामग्री सम्पादन गर्न मद्दत गर्छ । टिकटकको कम्युनिटी गाइडलाइन उल्लंघन नहुने गरी कन्टेन्ट पोस्ट गर्न प्रोत्साहन गर्ने गरी यो सुविधा थपिएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, क्रिटएर इनबक्स नामक नयाँ म्यासेजिङ हबले क्रिएटरलाई फ्यानसँग छिटो र सजिलै संवाद गर्न सुविधा दिन्छ ।

कान्तिपुर

Link copied successfully