युरोपेली संघअन्तर्गतको साइबर सेक्युरिटी एजेन्सी अर्थात इनिसाले पुष्टि गरेअनुसार कोलिन्स एरोस्पेस नामक चेक-इन र बोर्डिङ सफ्टवेयर निर्माता कम्पनीमा भएको र्यानसमवेयर आक्रमणका कारण युरोपका प्रमुख विमानस्थलका उडान अस्तव्यस्त बनेका छन् । विश्वभरका विमानस्थलहरू भद्रगोल बनाउने गरी ह्याकरहरूले आक्रमण गरेको इनिसाले जनाएको छ ।
काठमाडौँ — युरोपेली संघका विभिन्न देश र बेलायतमा गरिएको साइबर आक्रमणका कारण युरोपका हवाइ उडानहरू प्रभावित भएका छन् । सेप्टेम्बर १९ बाट शुरु भएको साइबर आक्रमणका कारण सेप्टेम्बर २० मा मात्रै ६ सय हवाइ उडानहरू रद्द र ढिलाइ भएका थिए । कहाँबाट यस्तो साइबर आक्रमण भइरहेको छ भन्नेबारे विवरण आइसकेको छैन ।
चेक-इन र बोर्डिङ सफ्टवेयर निर्माता, कोलिन्सले प्रभावित विमानस्थलहरूको सिस्टम रिस्टोर गर्ने काम भइरहेको जनाएको छ । युरोपको सबैभन्दा व्यस्त विमानस्थल लन्डन हिथ्रो र ब्रसेल्स विमानस्थल पनि प्रभावित छन् । बर्लिन म्याराथनका कारण सोमबार सामान्यभन्दा धेरै यात्रु जम्मा भएको बर्लिन विमानस्थलमा अझैसम्म चेक-इन प्रणाली सुरु हुन सकेको छैन । यसले गर्दा प्रस्थान कक्षमा भिडभाड हुनुका साथै एक घण्टाभन्दा धेरै समय उडान डिले (ढिलाइ) भएको समाचार आइरहेका छन् ।
अनलाइन प्रणाली नचलेपछि हातैले लेखेर बोर्डिङ पासहरू दिइएको थियो । यसलाई युरोपेली यात्रुले इन्टरनेटअघिको युगमा फर्केको महसुस भएको प्रतिकृया दिइरहेका छन् । साइबर अपराधीहरूले विश्वभरका विमानस्थलमा अराजकता फैलाउन र्यानसमवेयर विधि प्रयोग गरिरहेको युरोपियन संघको साइबर सुरक्षा एजेन्सीको बुझाइ छ । ह्याकरहरूले विमानस्थलका डिजिटल प्रणाली ठप्प पारेपछि थप क्षति हुन नदिन बिटक्वाइनमा फिरौती मागेका छन् ।
‘हामी सक्रिय रूपमा काम गरिरहेका छौँ,’ ब्रसेल्स विमानस्थलको विज्ञप्तिमा भनिएको छ, ‘तर, यो समस्या कहिले समाधान हुन्छ त्यो अझै अनिश्चित छ ।’ एपी समाचार एजेन्सीका अनुसार ब्रसेल्स र हिथ्रु विमानस्थलले सोमबारका लागि २७६ मध्ये करिब १४० उडान रद्द गर्न एयरलाइन्सलाई अनुरोध गरेका थिए ।
बर्लिन विमानस्थलले बीबीसीलाई जनाएअनुसार केही एयरलाइन्सले यात्रुहरूलाई हातैले लेखेर बोर्डिङ पास उपलब्ध गराइरहेका छन् र इलेक्ट्रोनिक प्रणाली कहिले पुनःसञ्चालनमा आउँछ भन्ने जानकारी छैन । साइबर आक्रमणकारीहरूले म्युज नामक चर्चित चेक-इन सफ्टवेयरलाई निशाना बनाएका छन् । यसबारे कोलिन्स एयरोस्पेसले भने विस्तृत विवरण खुलाएको छैन । विमानस्थलका अनलाइन प्रणाली कहिले रिस्टोर भइसक्छन् भन्नेबार पनि कोलिन्सले कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्लो समय विश्वभर संस्थाहरूका लागि र्यानसमवेयर आक्रमण ठूलो समस्या बन्दै गएको छ । यसबाट साइबर क्रिमिनलहरूले वार्षिक सयौँ लाख डलर आम्दानी गरिरहेका छन् । गत अप्रिलमा, बेलायती ई-कमर्स प्लाटफर्म, मार्क्स एन्ड स्पेन्सर पनि र्यानन्समवेयर आक्रमणको शिकार बनेको थियो । महिनौँसम्म सेवा अवरुद्ध हुनुका साथै त्यसबाट कम्तीमा ४०० मिलियन पाउन्ड बराबरको नोक्सानी भएको सो प्लाटफर्मले जनाएको छ । कम्पनीले आक्रमणकारीलाई फिरौती तिर्यो कि तिरेन भन्ने चाहिँ खुलाएको छैन ।
फ्रान्सेली एयरोस्पेस कम्पनी थालेसको हालैको प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा विमान क्षेत्रमा साइबर आक्रमण ६०० प्रतिशतले बढेको छ । यसमा पनि र्यानसमवेयर आक्रमणका घटना धेरै हुने गरेका छन् । र्यान्समवेयर भनेको यस्तो कम्प्युटर भाइरस हो जसले फाइल वा प्रणालीलाई लक गरिदिन्छ । त्यो लक खोलिदिन आक्रमणकारीले पैसा (फिरौती) माग्छन् । सीएनएनका अनुसार जर्मनको एक उद्योग समूह बिटकमले गरेको सर्वेक्षणअनुसार र्यानसमवेयर आक्रमणमा परेका ७ मध्ये एउटा कम्पनीले मात्रै पैसा तिरेर आफ्नो डेटा फिर्ता पाएको प्रतिक्रिया दिएका छन् ।
