अमेरिकामा चल्ने टिकटकमा अमेरिकी नियन्त्रण रहने

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको अमेरिकी सञ्चालन अब पूर्णरूपमा अमेरिकी नियन्त्रणमा आउने भएको छ । अमेरिका र चीनबीच भएको भनिएको सम्झौताअनुसार टिकटकको अमेरिकी सञ्चालन पुनर्संरचना गरिँदै छ । यसअनुरुप कम्पनीको प्रशासनिक निर्णय गर्ने बोर्ड सदस्यदेखि एपको सामग्री सिफारिस गर्ने प्रविधि (अल्गोरिदम) समेत अमेरिकी नियन्त्रणमा रहने भएको हो । 

आश्विन ६, २०८२

एजेन्सी

US-run Tiktok will remain under US control

काठमाडौँ — ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकारहरूलाई दिएको जानकारीअनुसार नयाँ संरचनामा ‘टिकटक यूएस बोर्ड’का कुल ७ सदस्यमध्ये ६ जना अमेरिकी नागरिक हुनेछन् । यसले एपको सञ्चालन र नीतिगत निर्णयमा अमेरिकी प्रभावलाई सुनिश्चित गर्ने रोयटर्सको समाचारमा उल्लेख छ ।

त्यस्तै, टिकटकको अल्गोरिदममा पनि अमेरिकाकै नियन्त्रणमा रहने छ । यसको अल्गोरिदम भनेको प्रयोगकर्तालाई एक-एकपछि अर्को भिडियो देखाउने प्रविधि हो । अमेरिकी प्रविधि कम्पनी ‘ओर्‍याकल’लाई टिकटकको डेटा व्यवस्थापनको जिम्मा दिइएको छ ।

टिकटकका अमेरिकी प्रयोगकर्ताहरूका डेटा अब ओर्‍याकलको प्रणालीमा रहनेछन् । हाल अमेरिकामा टिकटक चलाउनेको संख्या १७ करोड रहेको कम्पनीले आधिकारिक रूपमै बताएको छ । अन्य कुनै पनि देशको प्रयोगकर्ता संख्या खुलाउने गरेको छैन । 

सम्झौताअनुसार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले अब अमेरिकी टिकटक इकाईमा २० प्रतिशतभन्दा बढी स्वामित्व राख्न पाउने छैन । बाँकी ८० प्रतिशत स्वामित्व ओर्‍याकल, एन्डरसन होरोविच र सिल्भर लेक म्यानेजमेन्टजस्ता अमेरिकी लगानीकर्ताले लिनेछन् ।

ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग सेप्टेम्बर ११ मा भएको टेलिफोन वार्तामा यस्तो सम्झौतामा सहमति भएको दाबी गरेका छन् । तथापी, चीनले हालसम्म कुनै आधिकारिक प्रतिकृया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

ट्रम्पको अघिल्लो कार्यकालमै टिकटकमाथि निगरानीको विषय उठेको थियो ।  उनीपछिको बाइडेन सरकारले सन् २०२४ मा एउटा कानुन नै जारी गरेर अमेरिकामा टिकटकको सञ्चालन कि त अमेरिकी स्वामित्वकर्ताको सञ्चालनमा हुनुपर्ने नत्र प्रतिबन्ध खेप्न निर्देशन दिएको थियो । यसका लागि समयसीमा तोकिए पनि ट्रम्पले त्यसलाई बढाउँदै लगेका छन् । पछिल्लो पटक ट्रम्पले तोकेको समयसीमा यसै वर्षको डिसेम्बरसम्मलाई छ । 

चीनका सरकारी सञ्चार माध्यमहरूले यस सम्झौताका विषयमा दुवै पक्षका लागि ‘विन-विन’ अर्थात फाइदाजनक भएको दाबी गरेका छन् । बीबीसीमा सुरञ्जन तिवारी र अस्मन्ड सियाको समाचारअनुसार बाइटडान्सले भने आफ्नो पृथक र सबैभन्दा मूल्यवान प्रविधि अल्गोरिदम साझा गर्न अस्विकार गरिरहेको छ ।

चीनको साइबर सुरक्षा नियामकले बाइटडान्सको अल्गोरिदम र अन्य बौद्धिक सम्पत्ति पूर्ण रूपमा हस्तान्तरण नगरी यसको लाइसेन्स मात्रै दिने उपाय सुझाएको बताइन्छ । टिकटकको अल्गोरिदम निकै शक्त्तीशाली र प्रभावकारी मानिन्छ ।

एजेन्सी

Link copied successfully