बाइटडान्सको मूल्यांकन ३३० अर्ब डलर नाघ्यो, अमेरिकामा कानुनी चुनौती कायमै

अमेरिकी सरकारसँगको जारी कानुनी लडाईबीच टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्स फेरि चर्चामा आएको छ । यस पटकको चर्चा कम्पनीको बढ्दो बजार मूल्य र बलियो वित्तीय स्थितिका कारण भएको हो । कम्पनीको बजार मूल्य हाल ३ खर्ब ३० अर्ब आँकलन गरिएको छ । यो ६ महिना अघिको ३ खर्ब १५ अर्बभन्दा १५ अर्बले बढी हो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

ByteDance's valuation exceeds $330 billion, legal challenge in the US remains

What you should know

काठमाडौँ — बाइटडान्सले शेयर बाइब्याक (पुनःखरीद) कार्यक्रम ल्याउने तयारी गरेको छ । यो भनेको कम्पनीले आफ्ना कर्मचारीहरूबाट उनीहरूको शेयर फिर्ता किन्ने एउटा योजना हो । सार्वजनिक रूपमा सूचिकृत नभएका निजी कम्पनीका कर्मचारीहरूले आफ्नो शेयर सजिलैसँग बेच्न नपाउने भएकाले कम्पनीले नै बाइब्याक कार्यक्रम ल्याउँछन् । बाइटडान्सको बाइब्याक कार्यक्रमअन्तर्गत सेयरको मूल्य २ सय अमेरिकी डलर तोकिएको छ । 

कम्पनीको यो कदम दोस्रो त्रैमासिकमा भएको २५ प्रतिशत आम्दानी वृद्धिपछि आएको हो । दोस्रो त्रैमासमा बाइटडान्सले करिब ४८ अर्ब डलर आम्दानी गरेको छ । यो आम्दानी मेटाको भन्दा धेरै हो । यस अवधिमा मेटाको ४२.३ अर्ब डलर आम्दानी गरेको थियो । यस वर्षका दुवै त्रैमासिकको आम्दानीमा बाइटडान्सले मेटालाई पछि पारेको छ । तर, वित्तीय सफलताका बाबजुद कम्पनीलाई ठूलो चुनौती भने कायम छ । पछिल्लो अमेरिकी सरकारको निर्देशन अनुसार बाइटडान्सले आगामी ३ साताभित्र टिकटकको अमेरिकी व्यवस्थापन बेच्नुपर्नेछ, नभए अमेरिकामा देशव्यापी प्रतिबन्ध लाग्नेछ ।

ठूला प्रविधि कम्पनीहरूबीच करोडौँ डलर खर्चेर एक-अर्काका प्रतिभाशाली कर्मचारी र विशेषज्ञ भित्र्याउने होडबाजीबीच कम्पनीहरूले शेयर बाइब्याकजस्ता कार्यक्रमका लागि बाह्य लगानी खोज्ने गरेका छन् । तर, बाइटडान्सले आफ्नै कोषबाट यो कार्यक्रम सञ्चालन गर्नुले कम्पनीको बलियो वित्तीय अवस्था औँल्याउने विश्लेषण भइरहेका छन् । ब्लुमबर्ग र इन्भेजकी विश्लेषक नोरिस सोटोको धारणा छ, ‘बाइटडान्स नियामक चुनौतीसँग जुधिरहे पनि यो उल्लेख्य गतिमा फस्टाइरहेको छ ।’

आफ्नो स्थापनाको एक दशकभन्दा कम समयमै विश्वका कैयौँ देशमा प्रतिबन्ध लागे पनि सामाजिक सञ्जाल क्षेत्रमा बाइटडान्सले वर्चस्व कायम गरेको छ । हाल आम्दानीका हिसाबले यो विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल बन्न पुगेको छ । यसको वृद्धिको ठूलो हिस्सा चीनमा अकासिएको विज्ञापन मागका कारण हो । तर, टिकटकको अमेरिकी व्यवसाय भने घाटामा चलिरहेको छ । यसले घरेलु बजार र आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दो लगानीको महत्त्व देखाउने विश्लेषकहरूको अनुमान छ । कम्पनीले एनभिडियाका उन्नत चिप खरिद र एआई पूर्वाधार निर्माणमा अर्बौँ डलर खर्च गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

अमेरिकामा टिकटकसम्बन्धी बाइटडान्सको कानुनी अड्चन घटेको छैन । त्यहाँको सर्वोच्च अदालतले सरकारी कानुन सही भएको फैसलाअनुसार बाइटडान्सले टिकटकको अमेरिकी व्यवस्थापन बेच्ने वा प्रतिबन्धको सामना गर्ने मात्र विकल्प छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि सो समयसीमा पटक-पटक थपेर सेप्टेम्बरसम्म बढाएका छन् भने थप ढिलाइको संकेत दिएका छन् । अमेरिकी लगानीकर्ताहरूको समूहले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्ने प्रयास गरेको समाचारहरू आए पनि बाइटडान्सले केही स्वामित्व राख्ने अपेक्षा गरिएको छ । यसबीच बाइटडान्सले छुट्टै अमेरिकी संस्करणको टिकटक निर्माण र सञ्चालन गर्ने योजनाबारे समाचार आइरहेका छन् । तथापि, कम्पनीको अमेरिकी बजार अझै अनिश्चित देखिन्छ ।

विश्वव्यापी रूपमा झन्डै सवा २ अर्ब प्रयोगकर्ता रहेको टिकटिकको सक्रिय मासिक प्रयोगकर्ता डेढ अर्ब आसपास रहेको कम्पनीको तथ्यांक छ । अमेरिकामा १७ करोड आसपास प्रयोगकर्ता रहेको टिकटकका नेपाली प्रयोगकर्ताको संख्या २२ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ । कम्पनी आफैँले भने अमेरिकाबाहेक अन्य कुनै  देशको प्रयोगकर्ता संख्या खुलाउने गरेको छैन । टिकटकको वर्ष २०२५ को विज्ञापन आम्दानी मात्रै अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तर, कम्पनीको सफलता अमेरिकी सरकारसँगको कानुनी उल्झन कसरी समापन हुन्छ भन्नेमा निर्भर रहनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully