पोल्यान्डमा राष्ट्रपतिले सहायता विधेयकमा भिटो लगाएपछि युक्रेनमा स्टारलिंक सेवा बन्द हुन सक्ने

पोल्यान्ड सरकार र राष्ट्रपतिबीच टकराव बढेसँगै राष्ट्रपति करोल नवरोकीले शरणार्थी सहायतासम्बन्धी सरकारले प्रस्ताव गरेको विधेयकमा भिटो लगाएका छन् । सो विधेयकमा युक्रेनले प्रयोग गर्दै आएको स्याटलाइट इन्टरनेट सेवा, स्टारलिंकसम्बन्धी व्यवस्था भएकाले, विधेयक अस्विकार भएपछि उक्त सेवा बन्द हुने स्थिति आइपुगेको छ ।

भाद्र १०, २०८२

एजेन्सी

Starlink service in Ukraine may be suspended after Polish president vetoes aid bill

What you should know

काठमाडौँ — पोल्यान्ड सरकारले युक्रेनी शरणार्थीहरूलाई सहायता प्रदान गर्न तयार गरेको उक्त विधेयकमाथि राष्ट्रपति नवरोकीले भिटो लगाएका हुन् । योसँगै पोल्यान्डले युक्रेनलाई उपलब्ध गराइरहेको महत्त्वपूर्ण स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक अवरुद्ध हुने लागेको रोयटर्सले जनाएको छ ।

पोल्यान्ड र युक्रेन मित्र राष्ट्र हुन् । पोल्यान्डले युक्रेनलाई रुसी आक्रमणविरुद्ध लड्न सहायता प्रदान गर्दै आएको छ । त्यसमा आर्थिक र सैन्य सहयोग दुवै छन् । पोल्यान्डले युक्रेनलाई स्टारलिंक सेवाको भुक्तानीमा पनि मद्दत गर्दै आएको छ । परम्परागत सञ्चार प्रणाली ध्वस्त भएका, युद्धग्रस्त स्थानहरूमा युक्रेनका लागि स्टारलिंकको सेवा असाध्यै महत्त्वपूर्ण रहँदै आएको छ । 

पोल्यान्डका राष्ट्रपति नवरोकीले शरणार्थी सहायतासम्बन्धी विधेयकमाथि भिटो लगाएकाले युक्रेनले इलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको पहुँच गुमाउन सक्ने पोल्यान्डका उपप्रधानमन्त्रीले बताएका छन् । राष्ट्रपति नवरोकी र पोल्यान्ड सरकारबीच राजनीतिक द्वन्द्व चलिरहँदा त्यसको मार युक्रेनका स्टारलिंक प्रयोगकर्तालाई पर्न लागेको हो । 

रुसी आक्रमणलाई रोक्ने कोसिस गरिरहेको युक्रेनका लागि स्टारलिंकले नै इन्टरनेट र सैन्य सञ्चार सुविधा प्रदान गरिरहेको छ । राष्ट्रपति नवरोकीले भने युक्रेनी शरणार्थीहरूलाई दिइने सरकारी आर्थिक सहयोग विस्तार गर्ने विधेयकमाथि सोमबार भिटो लगाएका हुन् । उनीहरूलाई दिइने बाल सुविधा र स्वास्थ्य सेवा पनि कटौती गर्ने योजना सार्वजनिक गरेका छन् ।

उपप्रधानमन्त्री र डिजिटल मामिलामन्त्री क्रिस्टोफ गाव्कोव्स्कीका अनुसार, राष्ट्रपतिले भिटो लगाएको विधेयकमा युक्रेनलाई स्टारलिंक प्रदान गर्ने कानुनी आधार पनि थियो । ‘युक्रेनले युद्ध गरिरहेको बेला पोल्यान्डले दिइरहेको स्टारलिंक इन्टरनेट अब बन्द हुनेछ,’ उनले एक्समा लेखेका छन् । 

युक्रेनको सरकारी प्रसारण संस्था, सुस्पिल्नेले युक्रेनको डिजिटल मामिला मन्त्रालयलाई उदृत गर्दै किभले स्टारलिंक भुक्तानीबारे पोल्यान्डसँग कुराकानी गरिरहेको जनाएको छ । सन् २०२२ मा रुसले आक्रमण गरेपछि पोल्यान्ड युक्रेनको सबैभन्दा बलियो समर्थक रहँदै आएको छ । प्रधानमन्त्री डोनाल्ड टस्कको नेतृत्वमा रहेको सरकार र नवरोकीको नेतृत्वमा रहेको कन्जरभेटिभ नेस्नलिस्ट दुवै पक्ष युक्रेनलाई मद्दत गर्न सहमत छन् । तर, अहिले पोल्यान्डमा बसिरहेका अनुमानित १५ लाख युक्रेनीहरूलाई सहयोग गर्न कठिनाइ भइरहेको राष्ट्रपति पक्षधरको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्रभावित नवरोकीले यस वर्षको आफ्नो चुनावी अभियानमा ‘पोल्यान्ड फर्स्ट’ को नारा अँगाल्नुका साथै पोल्यान्डमा रहेका विदेशीहरूको अधिकार सीमित गर्ने वाचा गरेका थिए । युक्रेनी शरणार्थीहरूले हाल आफ्ना बच्चाबच्चीलाई पोल्यान्डका विद्यालयमा पठाउँदा प्रतिबच्चा मासिक ८०० ज्वोटी (२१९ डलर) पारिवारिक सुविधा पाउने गरेका छन् । जर्मनी लगायत युरोपेली संघका अन्य  देशहरूले यस्तो सुविधा कटौती गर्ने प्रस्ताव गरेका छन् ।

पोल्यान्डमा राष्ट्रपतिले विधेयक प्रस्ताव गर्न र सरकारको विधेयकमाथि भिटो लगाउन सक्छन् । त्यसैगरी, सरकारले पनि राष्ट्रपतिको प्रस्तावलाई रोक्न सक्छ ।

एजेन्सी

Link copied successfully