भारतमा टिकटक चल्न थालेको हो ?

सन् २०२० मा भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Has Tiktok started running in India?

What you should know

काठमाडौँ — पछिल्ला केही दिनयता भारतमा चिनियाँ एप, टिकटक चल्न थालेको हल्ला व्यापक फैलिएको छ । केही प्रयोगकर्ताले भीपीएनबेगर नै डेस्कटप ब्राउजरमा टिकटक खुलेको बताएका छन्प । उनीहरूले टिकटकको वेबसाइट खोलेर त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । तर, भारत सरकारले टिकटकमाथिको प्रतिबन्ध हटेको कुरा पूर्ण रूपमा असत्य र भ्रामक भएको भन्दै खण्डन गरिसकेको छ ।

शुक्रबारदेखि टिकटकको ‘अबाउट’ पेज देखिन थालेपछि प्रयोगकर्ताले यसलाई भारतमा टिकटक चल्ने संकेतका रूपमा लिएका थिए । प्रयोगकर्ताहरूले सो पेजका स्क्रिनसट सामाजिक सञ्जालमा साझा गरेपछि हल्ला झन् फैलिएको हो । तर, वेबसाइटभित्र लग इन गर्न वा भिडियो अपलोड गर्न भने मिलेको थिएन । भारतमा गुगल प्लेस्टोर र एप्पलको एपस्टोरमा पनि टिकटक उपलब्ध छैन ।

त्यहाँको सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै टिकटक ‘अनब्लक’ (प्रतिबन्ध हटाउने) कुनै पनि आदेश जारी नभएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार आंशिक रूपमा देखिएको टिकटक पेज प्राविधिक त्रुटि मात्रै हो । तथापी, एनडीटीभीका अनुसार हाल कतिपय प्रयोगकर्ताले चिनियाँ अनलाइन सपिङ साइट, अलिएक्स्प्रेस पनि खोल्न सकिरहेका छन् ।  

सन् २०२० को जुन महिनामा भारत र चीनबीच गलवान उपत्यकामा सैन्य झडप भएपछि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो । ती एपहरूले भारतीय प्रयोगकर्ताका संवेदनशील डेटा संकलन गरी चीन सरकारलाई पठाउने भन्दै प्रतिबन्ध लगाइएको थियो । सन् २०२१ को जनवरीमा सूचना प्रविधि ऐन, २००० को दफा ६९(ए) अन्तर्गत भारतले यस प्रतिबन्धलाई स्थायी बनाएको थियो ।

अहिले भारत-चीन सम्बन्ध क्रमश: सुधारिँदै गएको बेला चिनियाँ एपहरू फाट्टफुट्ट चल्न थाल्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । दुबै देशले व्यापारिक सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत, नेपाल र चीनबीचको त्रिदेशीय विन्दु, लिपुलेक पासबाट सीमा व्यापार खोल्ने विषयमा नेपालाई सहभागी नगराई उनीहरूले व्यापार सहमति गरेकोमा नेपालमा असन्तुष्टिका स्वरसमेत बढिरहेको छ ।  

प्रधानमन्त्री नरेन्द्र मोदी भने यही महिनाको अन्त्यतिर चीनको तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन सम्मेलनमा सहभागी हुन चीन जाँदै छन् ।   

कान्तिपुर संवाददाता

Link copied successfully