माइक्रोसफ्टमा इजरायल विरोधी प्रदर्शन, १८ कर्मचारी हिरासतमा

इजरायलसँगको प्राविधिक साझेदारीको विरोधमा माइक्रोसफ्टका कर्मचारीले मुख्यालयमा विरोध गरेपछि, प्रहरीले उनीहरूलाई अनधिकृत प्रवेशको अभियोगमा समातेको छ ।

भाद्र ६, २०८२

एजेन्सी

Anti-Israel protest at Microsoft, 18 employees detained

What you should know

काठमाडौँ — गाजामा जारी युद्धमा माइक्रोसफ्टका प्रविधि प्रयोग रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका कम्पनीका १८ जना कर्मचारीलाई प्रहरी बुधबार मुख्यालयबाटै पक्राउ गरेको छ । योसँगै कम्पनीले गाजामा जारी युद्धमा इजरायली सेनाले माइक्रोसफ्टको प्रविधि प्रयोग गरेको विषयमा ‘तत्काल’ समीक्षा गर्ने बताएको छ ।

इजरायलसँगको सम्बन्ध तोड्न माग गर्दै माइक्रोसफ्टका लगभग ३५ जना कर्मचारीले लगातार दुई दिनदेखि विरोध प्रदर्शन गरेका थिए । तेस्रो दिन कर्मचारीहरूले मुख्यालय छाड्न अस्वीकार गर्दै ‘आक्रामक’ बनेपछि माइक्रोसफ्टले उनीहरूलाई अनधिकृत प्रवेशको आरोपमा प्रहरीमा उजुरी गरेको सीएनएनले जनाएको छ ।

रेडमन्ड प्रहरी विभागका अनुसार प्रदर्शनकारीहरूले कम्पनीको लोगोमा रातो रङ्ग छ्यापेका थिए । उनीहरूलाई ‘अनधिकृत प्रवेश, खराब नियत, पक्राउको प्रतिरोध र अवरोध’ लगायत विभिन्न आरोपमा हिरासतमा लिइएको छ ।

इजरालयली रक्षा बलले गाजा र वेस्ट ब्यांकका प्यालेस्टिनीहरूको सामूहिक निगरानीबाट प्राप्त कल रेकर्डिङ लगायत डेटा भण्डारणका लागि माइक्रोसफ्टको एजुर क्लाउड कम्प्युटिङ प्लाटफर्म प्रयोग गर्ने गरेको विषयमा बेलायती सञ्चार माध्यम, द गार्जियनले समाचार प्रकाशन गरेको थियो । यस आरोपबारे अनुसन्धान गर्न कम्पनीले गत हप्ता एक कानुनी फर्मलाई जिम्मा दिएको बताएको थियो । 

यसअघि गत फेब्रुअरीमा द एसोसिएटेड प्रेस (एपी)ले पनि माइक्रोसफ्टले इजरायली सेनासँग प्राविधिक साझेदारी गरेको रिपोर्ट प्रकाशन गरेको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासमाथि गरिएको आक्रमणपश्चात इजरायली सेनाले प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्ट करिब २ सय गुणाले बढेको द एपीले जनाएको थियो ।    

उक्त समाचारका अनुसार इजरायली सेनाले प्यालेस्टिनी नागरिकका डेटा शब्दमा उतार्न, अनुवाद गर्न र गोप्य विवरण विश्लेषणका लागि एजुर प्रयोग गर्ने गरेका छन् । त्यसबेला माइक्रोसफ्टले आफ्ना सैन्य एप्लिकेसनबारे स्विकार गरे पनि  एजुर वा आफ्ना कुनै पनि एआई प्रविधिहरू गाजाका बासिन्दालाई लक्षित गरेर वा हानि पुर्‍याउने गरी प्रयोग नभएको दाबी गरेको थियो ।

यसै विषयमा, गत मे महिनाको एक कार्यक्रममा माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्या नडेलाको भाषणमा बाधा पुर्‍याएको भन्दै कम्पनीले आफ्ना एक कर्मचारीलाई बर्खास्त गरेको थियो ।

एजेन्सी

Link copied successfully