गुगल म्याप्सले नेपालमा सुरु गर्‍यो स्ट्रिट भ्यु फिचर

गुगल स्ट्रिट भ्युमार्फत दुनियाँका जुनसुकै ठाउँबाट काठमाडौंका गल्ली, मन्दिर र बजारसम्म भर्चुअल यात्रा गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Google Maps has launched Street View feature in Nepal

काठमाडौँ — गुगल म्याप्सले नेपालमा स्ट्रिट भ्यु फिचर सुरु गरिएको घोषणा गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसरमा यस्तो सुरुवात गरिएको जनाएको छ । अब संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सको  स्ट्रिट भ्यु चित्रमार्फत नेपालका अद्भुत भू-दृश्य र समृद्ध सांस्कृतिक दृश्य भर्चुअल रूपमा अवलोकन गर्न सक्ने दाबी गरिएको छ ।

गुगल स्ट्रट भ्युमार्फत विश्वको जुनसुकै ठाउँमा बसेर काठमाडौँका सडक र गल्लीहरूमा टहलिन सकिनेछ । 'तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ, हिउँले ढाकिएका हिमालहरूको भव्य मनोरम दृश्य चहार्न सक्नुहुनेछ,' विज्ञप्तिमा भनिएको छ, 'तपाईंको फोन वा कम्प्युटरबाट नेपालको भर्चुअल यात्रा गर्न सक्नुहुन्छ ।'

यसले नेपालको वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ । नेपालका नवीनतम दृश्यहरू हेर्न, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोलेर 360° view  वा पहेँलो स्ट्रिट भ्यु पेगम्यानमा क्लिक गर्नुपर्छ । त्यसपछि यात्रा सुरु गर्न सकिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully