वाल अफ इन्स्पिरेसनमा ५० भन्दा बढी पाइथन प्रोजेक्ट

प्रोग्रामिजको वाल अफ इन्स्पिरेसनमा लाइभ डेमो र ओपन-सोर्समा रहेका पाइथन प्रोजेक्टहरू छन्।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Over 50 Python projects on the Wall of Inspiration

What you should know

काठमाडौँ — कम्प्युटर प्रोग्रामिङ सिकाउने प्रविधि कम्पनी, प्रोग्रामिजले ‘वाल अफ इन्स्पिरेसन’ नामक नयाँ प्लाटफर्म सार्वजनिक गरेको छ । कम्पनीले यसमा आफ्ना विद्यार्थी प्रयोगकर्ताहरूका पाइथन प्रोजेक्टहरू प्रदर्शनीमा राखेको छ । 

सो प्लाटफर्ममा हाल ५० भन्दा बढी परियोजनाहरू देखाइएका छन् । त्यसमा दैनिक रूपमा उपयोगी हुने प्राक्टिकल कमान्ड-लाइन टुलदेखि गेम र उन्नत एआई एप्लिकेसनहरू समावेश छन् । तस्बिरलाई स्केचमा बदल्ने, गणितका थियरमको भिजियोलाइजर, आज छाता बोक्नुपर्छ कि पर्दैन भन्नेबारे जानकारी दिने, टु-डु लिस्ट, पीडीएफबाट फाइल छुट्याइदिने, एसआईपी क्यालकुटेर, ह्याङ्गम्यान गेमजस्ता एप्लिकेसनका पाइथन स्क्रिप्टहरू वाल अफ इन्स्पिरेसनमा राखिएको छ । लाइभ डेमोसहित उपलब्ध यी परियोजनाहरू ओपेन-सोर्स मोडलमा छन् । 

‘सामान्य स्क्रिप्टहरू एआईले नै बनाइदिनसक्ने भएसँगै प्रोग्रामिङ सिकाउने तरिका परिवर्तन भइरहेको छ,’ प्रोग्रामिजले वक्तव्यमा भनेको छ, ‘पहिले प्रोग्रामिङ सिक्दा धेरैजसो कोडको नियम वा सिन्ट्याक्स एवं कमान्डहरू कस्तो क्रममा लेख्ने भनेर कण्ठ गर्न सिकाइन्थ्यो । तर, अब आवश्यक कोडिङ सीप सिकेर, त्यसलाई वास्तविक जीवनमा उपयोगी परियोजनाहरू बनाउन सिकाइन्छ ।’ आफूहरूको वाल अफ इन्स्पिरेसनमा यही अवधारणामा रहेर साधारण अटोमेशनदेखि उन्नत एआई परियोजनासम्मको यात्रा देखाएको प्रोग्रामिजले जनाएको छ ।

‘आजभोलिका विद्यार्थीहरू एआईको जमानामा कोडिङ किन सिक्ने भनेर धेरै सोध्छन्,’ प्रोग्रामिजका प्रमुख कार्यकारी अधिकृत पुनित जाजोडिया भन्छन्, ‘तर कुरा अब पाइथन स्क्रिप्ट लेख्ने मात्र होइन, एआईको सहयोगमा दैनिक जीवनमा काम लाग्ने टुलहरू बनाउने हो । वाल अफ इन्स्पिरेसनले  कोडमै अड्केर नबस, वास्तविक जीवनमा प्रभाव पार्न सक्ने समाधानमुखी टुल बनाउन प्रोत्साहन गर्छ ।’  

प्रोग्रामिजले जो कसैलाई पाइथन परियोजना बनाउन र प्रोग्रामिजको कोड प्लेग्राउन्डमा पठाउन भनेको छ । पठाइएका परियोजनामध्ये उत्कृष्टहरूलाई वाल अफ इन्स्पिरेसनमा राखिने र त्यसमा प्रयोगकर्ताहरूले सिधै चलाएर हेर्न मिल्ने डेमो पनि हुनेछ । कोड सबैले हेर्न र प्रयोग गर्न सक्ने गरी खुला राखिन्छ । 

कान्तिपुर

Link copied successfully