एनभिडियाले दुई हप्ताअघि अमेरिकी सरकारसमक्ष आफ्नो एच ट्वेन्टी ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) चीनमा बेच्न अनुमति मागेको थियो ।
What you should know
काठमाडौँ — अमेरिकी सरकारले चीनमा उन्नत एआई चिप निर्यात गर्न एनभिडियालाई अनुमति दिएको छ । अमेरिकी प्रशासनले यसअघि अप्रिलमा लगाएको निर्यात प्रतिबन्ध हटाउँदै बिक्री सुचारु गर्न स्वीकृति दिएको हो ।
ह्वाइट हाउसका राष्ट्रिय आर्थिक सल्लाहकार केभिन ह्यासटले फक्स न्युज च्यानललाई बताएअनुसार प्रविधि क्षेत्रमा अमेरिकाको प्रभुत्व कायम राख्न राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले एनभिडियाका एच ट्वेन्टी चिप्सलाई चीन जान दिने निर्णय गरेको हो । चीनले अमेरिकासँग चिप्स नकिनेमा उनीहरूले आफ्नै चिप्स बनाउन सक्ने र यसले चिप्सको दौडमा चीन अगाडि बढ्ने जोखिम रहेको ह्यासटले उल्लेख गरेका छन् ।
एनभिडियाले दुई हप्ताअघि अमेरिकी सरकारसमक्ष आफ्नो एच ट्वेन्टी ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) चीनमा बेच्न अनुमति मागेको थियो । यसका लागि छुट्टै लाइसेन्स पाउने आश्वासनसमेत दिइएको कम्पनीले जनाएको थियो । एनभिडियाले चीनमा बेच्न पाउने सबैभन्दा उन्नत चिपमध्यै एच ट्वेन्टी पनि हुन् । ट्रम्पको पहिलो प्रशासन र त्यसपछि राष्ट्रपति जो बाइडेनले लगाएका प्रतिबन्धका कारण चीनबाहिर बिक्री हुने एनभिडियाका चिपहरूको तुलनामा एच ट्वेन्टीको कम्प्युटिङ पावर केही कम रहेको बताइन्छ ।
फाइनान्सियल टाइम्सले गत बिहीबार प्रकाशन गरेको समाचारअनुसार वासिङ्टनले चिप निर्यात नियन्त्रणमा कडाइ गरेपछि तीन महिना नै कम्तीमा १ अर्ब डलर बराबरका एनभिडियाका उन्नत एआई चिप्स चीनमा तस्करी भएका थिए । चीनमा बिक्री गर्न प्रतिबन्धित एनभिडियाको बी२०० प्रोसेसर थाइल्यान्ड हुँदै चीनको कालो बजारमा व्यापक रूपमा उपलब्ध रहेको समाचारमा उल्लेख छ ।
त्यसरी तस्करी गरिएका चिप प्रयोग गरेर डेटा सेन्टर निर्माण गर्नु प्राविधिक र आर्थिक दुवै हिसाबले गलत भएको र कम्पनीले आधिकारिक उत्पादनहरूका लागि मात्र सेवा र समर्थन प्रदान गर्ने एनभिडियाको प्रतिकृया छ । अमेरिकी वाणिज्य विभागले सेप्टेम्बरदेखि थाइल्याण्डजस्ता देशहरूमा उन्नत एआई चिपहरूको निर्यात नियन्त्रणमा थप कडाइ गर्ने विषयमा छलफल भइहरेको जनाएको छ ।
