टेस्लाले गर्‍यो सामसङसँग एआई चिप्स किन्न १६.५ अर्ब डलरको सम्झौता

यस घोषणासँगै सोमबार सामसङको सेयर मूल्य ६.८ प्रतिशतले वृद्धि भएको थियो भने टेस्लाको चाहिँ ४.२ प्रतिशतले घटेको थियो । चालकरहित स्वचालित गाडी र अप्टिमस ह्युमनोइड रोबट्समा जडान गरिने ‘एआई सिक्स’ जस्ता एआई इन्फरेन्स चिप्समार्फत आगामी दिनमा टेस्लाका गाडीमा बृहत् रूपान्तरण देखिने मस्कको अपेक्षा छ ।

श्रावण १४, २०८२

एजेन्सी

Tesla signs $16.5 billion deal with Samsung to buy AI chips

What you should know

काठमाडौँ — अमेरिकी विद्युतीय कार निर्माता कम्पनी, टेस्लाका लागि दक्षिण कोरियाली ब्रान्ड सामसङ इलेक्ट्रोनिक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप बनाइदिने भएको छ । टेस्लाका संस्थापक, इलन मस्कले यस कदमको स्वागत गर्दै एक्समा पोस्ट गरेका छन् ।

उनका अनुसार सामसङले टेक्ससस्थित टेस्लाको नयाँ कारखानामा बन्ने आगामी मोडलका कारहरूलाई ‘एआई सिक्स’ चिप्स बनाउन सहमति जनाएको छ ।

टेस्लाले सामसङसँग १६.५ अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । मस्कले यस सम्झौताको रणनीतिक महत्त्वलाई कम आँक्न नमिल्ने प्रतिक्रिया दिएका छन् । यसबाट सामसङलाई केही व्यावसायिक फाइदा भए पनि टेस्लालाई भने थप विद्युतीय सवारी (ईभी) निर्माण गर्न र रोबोट्याक्सी परियोजना छिटो कार्यान्वन गर्न खासै मद्दत नमिल्ने रोयटर्सको विश्लेषण छ । प्रमुख ठूला ग्राहक जोगाउन नसकिरहेको सामसङलाई यस सम्झौताले राहत दिने अनुमान गरिएको छ ।

यस घोषणासँगै सोमबार सामसङको सेयर मूल्य ६.८ प्रतिशतले वृद्धि भएको थियो । मंगलबार पनि ०.२८ प्रतिशतले बढेर प्रतिकित्ता ७० हजार ६ सय कोरियाली वन पुगेको छ । टेस्लासँगको ‘डिल’ ले कम्पनीलाई एआई चिप्स निर्माणमा टीएसएमसीजस्ता प्रतिस्पर्धी कम्पनीभन्दा अघि पुर्‍याउने आशा पनि गरिएको छ । 

चिप निर्माणलाई वर्षौँ समय लाग्ने भएकाले टेस्लाले भने तुरुन्तै लाभ उठाइहाल्न नसक्ने देखिन्छ । हाल टेस्लाका ईभीको बजार सुस्ताइरहेको छ भने कम्पनीले रोबोट्याक्सी सेवा विस्तार गर्न सकिरहेको छैन । सोमबार मात्रै टेस्लाको शेयर मूल्य ४.२ प्रतिशतले घटेको थियो । मस्कले भने चालकरहित स्वाचालित गाडी र अप्टिमस ह्युमनोइड रोबट्समा जडान गरिने ‘एआई सिक्स’ जस्ता एआई इन्फरेन्स चिप्समार्फत आगामी दिनमा टेस्लामा बृहत् रुपान्तरण देखिने आशय प्रकट गरेका छन् ।

गत डिसेम्बरमा तत्कालीन बाइडेन प्रशासनले टेक्ससमा रहेको सामसङको कारखानालाई सेमिकन्डक्टर चिप उत्पादनका लागि ४.७५ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको थियो । टेस्ला र सामसङबीचको यो सम्झौता दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको व्यापार वार्तासँग सम्बन्धित छ कि छैन भन्ने चाहिँ स्पष्ट भएको छैन । अमेरिकाले लगाउने भनेको सम्भावित २५ प्रतिशत भन्सार शुल्क हटाउने वा घटाउनका लागि सियोलले चिप्स र जहाज निर्माणमा अमेरिकासँग साझेदारी खोजिरहेको छ ।

एजेन्सी

Link copied successfully