अमेरिकाका प्रभावशाली एआई लिडरको सूचीमा प्रवेश रिजाल 

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Rizal Enters America's Most Influential AI Leaders List

काठमाडौँ — अमेरिकाका प्रभावशाली एआई (आर्टिफिसियल इन्टेलिजेन्स) लिडरको सूचीमा क्रस रिभर बैंकका प्रमुख डेटा तथा एआई अधिकृत प्रवेश रिजाल समावेश भएका छन् । ‘एआई १०० अवार्डस्’ को सूचीमा परेका उनलाई शुक्रबार न्यु योर्कमा आयोजित ‘मेसिनकन २०२५’ समारोहमा ट्रफी प्रदान गरिएको थियो ।

विटनगरमा जन्मिएका रिजाल एआई, वित्तीय सेवा र नवप्रवर्तनका क्षेत्रमा आबद्ध छन् । विश्वका प्रमुख वित्तीय-प्रविधि (फिनटेक) कम्पनीहरूलाई डिजिटल सेवा प्रदान गर्ने क्रस रिभर बैंकमा उनी डेटा र एआई रणनीति तर्जुमा गर्ने जिम्मेवारीमा छन् ।

रिजालले आफ्नो करिअरको सुरुवात सीटी ग्रुपबाट गरेका थिए । त्यसपछि उनले क्रस रिभरको  ‘क्वान्टिटेटिभ स्ट्राटेटिज’ विभागको नेतृत्व गरेको विज्ञप्तिमा उल्लेख छ । उनले न्यु योर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । हाल फ्रान्सको  ईडीएचईसी बिजनेस स्कुलमा क्वान्टिटेटिभ फाइनान्समा विद्यावारिधि गर्दै छन् ।

एआई १०० अवार्डस्‌ले एआई र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारिक क्षेत्रको रूपान्तरणमा संलग्न व्यक्ति तथा संस्थालाई अग्रणी नेताका रूपमा सम्मान गर्दै आएको छ । विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन र जटिल उद्योगहरूमा एआईमा आधारित समाधानहरू लागू गर्ने क्षमताका आधारमा गरिने वेबसाइटमा उल्लेख छ । 

अवार्ड वितरण कार्यक्रममा आयोजकहरूले रिजाललाई ‘वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिन सक्ने साहसी र मल्टी-डिसिप्लिनरी नेता’ का रूपमा चित्रण गरेका थिए । अमेरिकाभरिका एआई क्षेत्रका अग्रणी व्यक्तीहरूले मन्तव्य व्यक्त गरेको उक्त समारोहमा रिजालले पनि आफ्ना राखेका थिए । यो अवार्ड एआईएम रिसर्चले आयोजना गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully