युक्रेनमा स्टारलिंक बन्द गर्न निर्देशन दिएको खुलासापछि विवादमा परे इलन

यसअघि रोयटर्सलाई ‘फटाहा’ भनेका मस्कले पछिल्लो खुलासाबारे केही बोलेका छैनन्

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Ilan got into controversy after it was revealed that he ordered the closure of Starlink in Ukraine

What you should know

काठमाडौँ — स्पेस एक्सका प्रमुखसमेत रहेका खर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै उनी विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा बन्द गर्न भनेको पाइएको छ । अहिले पनि बिहिबार साढे दुई घण्टा स्टारलिंक सेवा अवरुद्ध हुँदा युक्रेनी सेनाको सञ्चार प्रभावित भएको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार सन् २०२२ को अन्त्यतिर युक्रेनले आफ्नो गुमेका भूभाग फिर्ता गर्ने अभियान बलियो बन्दै गरेको समयमा इलनले आफ्नो कम्पनीका वरिष्ठ इन्जिनियरलाई त्यहाँको सेवा बन्द गर्न भनेका थिए । युक्रेनी सेनाले रुसी सेनालाई घेर्न लागेको समयमा एकाएक सिग्नल बन्द भएपछि ड्रोन, तोप र सेनाबीचको सम्पर्क अवरुद्ध भएको थियो । एक युक्रेनी सैन्य अधिकृतलाई उद्रित गर्दै रोयटर्सले लेखेको छ, ‘सञ्चार समन्वय हुन नसक्दा घेराबन्दी ठ्याप्पै रोकियो र हामी असफल हुन पुग्यौँ ।’

दशककै प्रमुख युद्धकाबीच यति ठूलो तहको हस्तक्षेप र त्यो पनि एकजना निजी खर्बपतिको रूचिको भरमा हुनुले प्रविधि कम्पनीहरूको शक्ति र स्वायत्ततामाथि गम्भीर प्रश्न उठेको छ । मस्कले यस्तो निर्णय लिनुको पछाडि रुसको सम्भावित आणविक हतियार सहितको प्रतिक्रिया हुनसक्ने अनुमान गरिएको छ । तर, स्पेस एक्सले यी समाचारलाई ‘मिथ्या’ भनेको छ । मस्कले भने यससम्बन्धी विस्तृत प्रतिक्रिया दिएका छैनन् ।

रुसले सन् २०२२ मा देखि युक्रेनी भूमिमा आक्रमण गरेयता युक्रेनी सेनाका लागि स्टारलिंकको सञ्चार सेवा एकदमै महत्वपूर्ण बन्दै आएको छ । यस क्रममा अहिले प्रयोग भएका करिब ५० हजार टर्मिनलमध्ये आधाजसो पोल्यान्डले खरिद गरेर उपलब्ध गराइदिएको हो । यही प्रविधिका भरमा युक्रेनी सेनाले ड्रोन उडाउने, सुरक्षित सञ्चार गर्ने र युद्धका मोर्चा लगायतमा समन्वय कायम गर्दै आएको छ । मस्क आफैँले दाबी गर्दै आएका छन्, ‘मैले यो सेवा बन्द गरे उनीहरूको पूरै मोर्चा भत्कन्छ ।’

तर, यही सेवा बन्द हुँदा युद्ध मोर्चामा त्यसको असर कतिसम्म गम्भीर हुन सक्छ भन्ने उदाहरण रोयटर्सको खुलासा र यसै साताको सेवा अवरोधले पनि देखाएको छ । बिहीबार भएको विश्वव्यापी स्टारलिंक अवरोधले युक्रेनी सेनाको सम्पर्क झण्डै अढाई घण्टा भन्दा बढी अवरुद्ध हुन पुगेको थियो । युक्रेनी सेनाका ड्रोन कमाण्डर रोबर्ट ब्रोव्डीले भनेका छन्, ‘लडाइँबिना भिडियो फिड नै अगाडि बढाउनुपर्यो र त्यसको सिधा असर युद्धका मोर्चामा पर्न गयो ।’ उनले वैकल्पिक प्रणाली तयार पार्नुपर्ने आवश्यकतासमेत औंल्याएका थिए । 

हालैका दिनमा युक्रेनले केही भूभाग फिर्ता लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो दुरीका हतियारहरू उपलब्ध गराउने अमेरिकाको सहयोग पुनः सुचारू गर्ने घोषणापछि युक्रेनले खेरसनका केही भाग फिर्ता लिएको छ । रुसी नियन्त्रणमा रहेका क्षेत्रमा ड्रोन आक्रमण पनि तीव्र बनाएका छ । स्टडी अफ वार इन्स्टिच्युटका अनुसार युक्रेनले हालसम्म ७ प्रतिशत क्षेत्र फिर्ता लिइसकेको छ भने करिब १९ प्रतिशत भूभाग अझै रुसको नियन्त्रणमा छ ।

स्टारलिंकले युक्रेनी सरकारलाई दिँदै आएको सञ्चार सेवा मासिक लगभग एक करोड अमेरिकी डलर बराबरको भएको र वार्षिक १२ करोड डलरभन्दा बढीको सेवा मस्कको कम्पनीले उपलब्ध गराउँदै आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यसमा सञ्चार सेवासँगै त्यसको मर्मत र सञ्चालन खर्च पनि समावेश छन् । सबैभन्दा ठूलो योगदानकर्ता पोल्यान्डसँगै अमेरिका, तत्कालीन यूएसएड र अन्यले सो सञ्चार जारी राखेबापतको खर्च बेहोर्दै आएका थिए । 

गत वर्ष मस्कले स्टारलिंकसम्बन्धी विवादपछि पोल्यान्डका परराष्ट्रमन्त्रीसँग सामाजिक सञ्जालमै झगडा गरेका थिए । मन्त्रीले आलोचना गरेपछि मस्कले लेखे, ‘तिमीहरू चुप लागेर बस, तिमीहरूले गर्ने खर्च त खास लागतको एक अंश मात्रै हो । स्टारलिंकको विकल्प छैन ।’ पछि उनले फेरि सेवा बन्द नहुने आश्वासन दिएका थिए । तर, पछिल्लो खुलासाले यति गम्भीर भूराजनीतिक द्वन्द्वमा कुनै टेक-खर्बपतिले नियन्त्रण गर्दाको जोखिम उजागर गरिदिएको छ । 

रोयटर्सलाई फेब्रुअरीमै ‘फटाहा’ भन्दै ग्राफिक्स पोस्ट गरेका मस्कले पछिल्लो खुलासाबारे केही बोलेका छैनन् ।

कान्तिपुर

Link copied successfully