एआईले जित्यो गणित ओलम्पियाडमा स्वर्ण पदक

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

AI wins gold medal at Mathematical Olympiad

What you should know

काठमाडौँ — हालै सम्पन्न अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ)मा दुईवटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलले स्वर्ण पदक जितेका छन् । उच्च माध्यमिक विद्यालयका विद्यार्थीबीच भएको प्रतियोगितामा गुगल र ओपनएआईका मोडलले उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण जितेको घोषणा गरेका हुन् ।

दुवै कम्पनीका एआई मोडलले ६ वटा गणित प्रश्नमध्ये ५ वटा सही रूपमा हल गरेका थिए । उनीहरूले सामान्य प्रयोजनको ‘रिजनिङ’ मोडलहरू प्रयोग गरेर न्याचुरल ल्याङ्ग्वेजमा गणितीय अवधारणा सुल्झाएको रोयर्टर्सल जनाएको छ । गणित ओलम्पियाडमा पहिले पनि एआई मोडलहरू सहभागी भए पनि यसपटक स्वर्ण जितेर ह्युमन इन्टेलिजेन्ससँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता प्रस्तुत गरेका हुन् ।

प्रतियोगितामा गुगलले आफ्नो जेमिनाइ डिप थिंक मोडल प्रयोग गरेको थियो । ओपनएआईको ‘टेस्ट-टाइम कम्प्युट’मा आधारित नयाँ प्रयोगात्मक मोडल प्रतिस्पर्धामा सहभागी थियो । यस उपलब्धिसँगै कतिपय गणितज्ञ र अन्य वैज्ञानिकहरूले अब आफ्ना अध्ययन-अनुसन्धानमा एआई मोडलहरूलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने अपेक्षा व्यक्त गरेका छन् ।

अस्ट्रेलियाको क्विन्सल्यान्डमा भएको ६६ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा कुल ६३० जना विद्यार्थी सहभागी थिए । तीमध्ये ६७ जना अर्थात करिब ११ प्रतिशत विद्यार्थीले स्वर्ण पदक जितेका थिए । यस वर्षको प्रतियोगितामा एआई मोडलहरूले विद्यार्थीहरूसरह उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गर्नुलाई ‍महत्वपूर्ण उपलब्धी मानिएको हो । 

गत वर्ष गुगलको डिपमाइन्ड एआई युनिटको गणित-विशेष एआई मोडलले रजत पदक जितेको थियो । गुगलको ब्लग पोस्टअनुसार पहिलेका मोडलहरू फर्मल ल्याङ्वेज र लम्बेतान गणनामा आधारित थिए । तर, यसवर्ष गुगलले पूर्णरूपमा न्याचुरल ल्याङ्वेज एआई मोडल विकास गरेको र यसले निर्धारित ४.५ घण्टाको समय सीमाभित्रै गणितीय समस्या समाधान गरेको जनाएको छ ।

ओपनएआईले पनि यस प्रतियोगिताका लागि आफ्नो विशेष ‘रिजनिङ मोडल’ को प्रयोगात्मक संस्करण तयार पारेको थियो । शोधकर्ता अलेक्जेन्डर वेईले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ओपनएआईले यति उच्च गणितीय क्षमता भएको प्रोडक्ट तत्काल सार्वजनिक गर्ने योजना नरहेको बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully