काठमाडौँ — चीनको हेबेइ प्रान्तमा 'द ग्रेट वाल'का पर्खालको भौतिक अवस्था निरीक्षण गर्न एआई रोबट प्रयोग भइरहेको छ । धेरैलाई थाहा नहुन सक्छ, चीनको ग्रेट वाल हेबेइको समुद्री तटबाट सुरु हुँदै गान्सु प्रान्तको गोबी मरुभूमिमा अन्त्य हुन्छ । उत्तरी चीनको हेबेइ प्रान्तस्थित समुद्री तटीय सहर चिनह्वाङ्दाओमा पर्ने ग्रेट वालको सुरुवाती विन्दु, ‘शान्हाइ पास’मा चतुर चार खुट्टे रोबट (साइबर डग)हरू यतिखेर पर्खालको अवस्था जाँच गर्न व्यस्त देखिन्छन् ।
स्मार्ट सेन्सर, हाई-डेफिनेसन क्यामेरा र लाइडारजस्ता आधुनिक प्रविधिसहितका ती रोबटले पर्खालको चिरा पत्ता लगाउनुका साथै इँटा उप्किएका ठाउँ पहिल्याइरहेको छ । त्यस्ता समस्या भेट्नासाथ तुरुन्तै सम्बन्धित निकायलाई जानकारी पठाउँछ । ‘मानिसलाई गाह्रो पर्ने जटिल र अप्ठ्यारा ठाउँका यस्ता निरीक्षणमा रोबटले उत्कृष्ट काम गर्न सक्ने रहेछन्,’ हेबेइ प्रान्तको भूगर्भ तथा खनिज स्रोत विभागको अनुसन्धान समूहका प्रमुख लियु लियाङको अनुभव छ, ‘यसले ग्रेट वालको प्रभावकारी र गुणस्तरीय संरक्षणमा सुधार ल्याउनेछ ।’
बोहाइ समुद्रमाथिका पर्खालहरूमा एक-एक चर्किएको भाग पहिल्याउन सक्ने तेज आँखा भएको रोबटको प्रयोगले अत्याधुनिक प्रविधिमा चीनले गर्दै आएका प्रयासको प्रतिनिधित्व गर्छ । सुरुवातमा सैन्य प्रतिरक्षताका लागि निर्माण गरिएको ग्रेट वाल, आपसमा जोडिएका धेरै पर्खालहरूको श्रृंखला हो । यसका कतिपय पर्खाल २ हजार वर्षभन्दा पुराना रहेको स्थानीयवासी बताउँछन् । चीनका १५ वटा प्रान्तमा ग्रेट वालका पर्खाल फैलिएका छन् । यसमध्ये हेबइले सबैभन्दा राम्रो संरक्षण गरेको मानिन्छ । चिनह्वाङदाओमै ग्रेट वालका ‘आइकनिक’ खण्डहरू पनि छन् ।
चिनह्वाङ्दाओ शहरमै हालै मात्र 'ग्रेट वाल अफ चाइना संग्रहालय' समेत खोलिएको छ । राष्ट्रिय संग्रहालयका रूपमा वर्गिकृत ७ हेक्टर क्षेत्रफलमा फैलिएको यस संग्रहालयमा ११ हजारभन्दा धेरै सांस्कृतिक वस्तुहरू अवलोकनका लागि राखिएका छन् । चिनह्वाङ्दाओको नगर संस्कृति, पर्यटन, रेडियो तथा टेलिभिजन ब्युरोको तथ्यांकअनुसार बेइदाइहे, ओल्ड ड्रागन हेड, चिनह्वाङ्दाओ वन्यजन्तु आरक्षणजस्ता क्षेत्रको भ्रमणमा वार्षिक लाखौँ पर्यटक यहाँ आउने गरेका छन् ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ग्रेट वालको संरक्षणमा आइपर्ने चुनौतीहरूलाई प्रविधिको प्रयोगमार्फत कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चिनह्वाङदाओ सहर र हेबेइ प्रान्तले सक्रिय प्रयास गरिरहेको छ । सन् २०१७ देखि नै यस प्रान्तमा पर्ने ग्रेट वालका पर्खालको अवस्थिति निरीक्षण गर्न नियमित रूपमा ड्रोन प्रयोग गरिँदै आएको छ । ‘पहाडको डिलजस्ता मानिसहरूको पहुँच कठिन भएका पर्खालहरूको निगरानी गर्न ड्रोनले सहयोग गर्छ,’ यस अभ्यासमा संलग्न झाङ पेङले सिन्ह्वासँग भनेका छन्, ‘ड्रोनबाट संकलित सूचनाको आधारमा संरक्षणका उपायहरू निर्धारण गर्न गरिएको छ ।’ ड्रोन र रोबोटजस्ता प्रविधिले ग्रेट वालको भौतिक संरचना परीक्षण सहज बनाइरहेको उनी बताउँछन् ।
ग्रेट वालको संरक्षणमा मात्रै नभएर चिनह्वाङदाओमा यस सांस्कृतिक सम्पदाबारे जानकारी फैलाउनमा पनि विशेष प्रविधिको प्रयोग गरेको छ । सो प्रयोजनमा भर्चुअल रियालिटी र डिजिटल मोडलिङजस्ता प्रविधि अपनाइएको छ । हेबेइको ग्रेट वाल भ्रमण गर्ने पर्यटकहरूले त्यहाँका सांस्कृतिक सम्पदाहरूको पानोरामिक दृश्य अवलोकन गर्न सक्छन् । शिक्षा क्षेत्रमा पनि विभिन्न प्रयासहरू भइरहेका छन् । उदाहरणका लागि, हेबेइ जीईओ विश्वविद्यालयअन्तर्गत ग्रेट वाल अनुसन्धान संस्थाका प्रमुख डोङ याओहुइका अनुसार डिपसिकजस्ता आर्टिफिसियल इन्टेलिजेन्स टुल प्रयोग गरेर तयार पारिएका विशेष शैक्षिक कार्यक्रमहरू बालबालिकाका लागि विकास हुँदै छन् ।
प्रविधिमा अग्रणी अन्य चिनियाँ शहरजस्तै चिनह्वाङदाओमा स्मार्ट फायर सेफ्टी उत्पादनसमेत विकास गरिएको सिन्ह्वाले जनाएको छ । स्थानीय गल्फ सेक्युरिटी टेक्नोलोजिले चिनह्वाङदाओको विशेष औद्योगिक क्षेत्रका लागि स्वाचालित स्मोक डिटेक्टर निर्माण गरेको छ । यस शहरमा ११ वटा स्मार्ट फायर सेफ्टी कम्पनी रहेको र तिनले वार्षिक २ करोड युआन आम्दानी गरिरहेका छन् । चीनको स्मार्ट फायर सेफ्टी मार्केटमा चिनह्वाङ्दाओको ४० प्रतिशतभन्दा धेरै हिस्सा रहेको अनुमान गरिएको छ ।
