१० करोड डलर 'साइनिङ एमाउन्ट' सहित आईआईटी कानपुरका त्रपिट बंसल मेटामा आबद्ध

असार २०, २०८२

एजेन्सी

IIT Kanpur's Tripit Bansal joins Meta with $100 million 'signing amount'

काठमाडौँ — ओपनएआई छोडेर मेटा (फेसबुक) को सुपरइन्टेलिजेन्स इकाइमा आबद्ध हुन मार्क जकरबर्गले भारतीय मूलका त्रपिट बंसललाई १० करोड डलर ‘साइनिङ एमाउन्ट’ दिएपछि यो खबर अहिले प्रविधि क्षेत्रमा व्यापक छाएको छ ।

 बंसलले यसै साता आफू मेटासँग जोडिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट पनि गरेका थिए । पछिल्लो समय सिलिकन भ्यालीका कम्पनीहरूमा आकर्षक 'ट्रान्सफर एमाउन्ट' सहित एक-अर्काका कर्मचारी तान्ने प्रवृत्ति बढेको छ ।   

च्याटजीपीटी निर्माता, ओपनएआईका प्रमुख साम अल्टम्यानले बंसलसहित विभिन्न प्रविधि कम्पनीका उच्च तहका कर्मचारी र अनुसन्धानकर्तालाई मेटाले १ सय मिलियन डलर (१३ अर्ब रूपैयाँभन्दा धेरै) ‘ज्वइनिङ बोनस प्याकेज’ सहित धमाधम आफ्नो कम्पनीमा भर्ति रहेको बताएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा छलाङ मार्न छोजिरहेको मेटाले केही समयअघि स्केल एआईमा १४.३ अर्ब डलर लगानी गर्ने घोषणासहित स्केलका २८ वर्षिय संस्थापक अलेक्जेन्डर वाङलाई पनि ‘सुपरइन्टेलिजेन्स’ इकाइको प्रमुख नियुक्त गरेको थियो ।    

भारतको आईआईटी कानपुरमा स्नातक गरेका बन्सलले सन् २०२२ मा ओपनएआई प्रवेश गरेका थिए । त्यहाँ  उनले  ‘रिनफोर्समेन्ट लर्निङ र एआई रिजनिङ मोडल’ को विकासमा काम गरेका थिए । प्रविधिसम्बन्धी समाचार पोर्टल ‘टेकक्रन्च’ले उनलाई ‘ओपनएआईका प्रभावशाली अनुसन्धानकर्ता’ का रूपमा वर्णन गरेको छ । उनले न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, डिप लर्निङ र मेटा-लर्निङमा विशेष अनुसन्धान गरेका छन् । 

एनडीटीभीका अनुसार बंसलले आईआईटी कानपुरमा गणित र तथ्याङ्कशास्त्रमा स्नातक गरेको र युनिभर्सिटी अफ म्यासाचुसेट्स एमहर्स्टबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर र सोही विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी गरेका छन् । उनले अध्ययनकै क्रममा आईआईएससी बेंगलुरु, फेसबुक, गुगल र माइक्रोसफ्टमा इन्टर्नसिप गरेका थिए । सन् २०१७ मा स्नातक अध्ययनकै क्रममा उनले चार महिना ओपनएआईमा पनि इन्टर्नका रूपमा काम गरेका थिए । 

ओपनएआईका प्रमुख अल्टम्यानले आफ्ना कर्मचारीहरू मेटाले लगिरहेको आरोप लगाएपछि मेटाले यो कुरा सत्य नभएको प्रतिकृया दिएको छ । मेटाका सीटीओ एन्ड्रयु बोसओर्थले अल्टम्यानका दाबीहरूलाई ‘असत्य’ र बढाइचढाइ गरेको बताएका हुन् । उनले नयाँ कर्मचारीलाई ‘प्याकेज प्रस्ताव’ गरिएको कुरामा सत्यता नभएको दाबी गरेका छन् । 

एजेन्सी

Link copied successfully