मेटाको स्केल एआईमा लगानीले सिलिकन भ्यालीमा हलचल

अलेक्जेन्डर वाङ बन्दै छन् मेटाको सुपरइन्टेलिजेन्स इकाइका प्रमुख

असार ३, २०८२

कान्तिपुर संवाददाता

Meta's Investment in Scale AI Stirs Silicon Valley

काठमाडौँ — विश्वका ठूाला प्रविधि कम्पनीहरूबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकासमा प्रतिस्पर्धा र लगानी बढ्दो छ । यो माहोललाई थप तताउँदै फेसबुकको प्यारेन्ट कम्पनी, मेटाले हालै मात्र स्केल एआईमा १४.३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

डेटा क्युरेसन एवं डेटासेट व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको ४९ प्रतिशत स्वामित्व खरिद गर्ने कम्पनीको निर्णयसँगै कम्पनीका २८ वर्षिय संस्थापक अलेक्जेन्डर वाङको चर्चा चुलिएको छ ।

वाङ अब मेटाको नयाँ ‘सुपरइन्टेलिजेन्स’ इकाइका प्रमुख हुने तय भएको छ । यो घोषणाले स्केल एआईका प्रतिस्पर्धी कम्पनीको माग ह्वात्तै बढाइदिएको छ भने गुगल, ओपनएआई लगायतले स्केलसँग सम्बन्ध तोड्ने भएका छन् । स्केल एआईमा उल्लेख्य लगानी गरेसँगै मेटाले उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत वाङलाई आफ्नो नयाँ ‘सुपरइन्टेलिजेन्स’ अनुसन्धान प्रयोगशालाको नेतृत्व गर्न नियुक्त गरेको हो । 

वाङ यस्ता व्यक्ति हुन् जसले न्युरालिंकको ब्रेन-कम्प्युटर इन्टरफेस तयार नहुन्जेल सन्तान नजन्माउने प्रतिक्रिया दिँदै आएका छन् । आगामी पुस्तामा सुपरइन्टेलिजेन्स समाहित गर्ने उनको उदेश्य यसबाट बुझ्न सकिन्छ । अर्बपति इलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा राख्नलाई सिक्का आकारको माइक्रोचिप्स विकास गरिरहेको छ । कम्पनीले हाल तीनजना व्यक्तीको मस्तिष्कमा यस्तो चिप जडान गरिसकेको छ । 

स्केल एआईले यसअघि ओपेनएआई, माइक्रोसफ्ट, एनभिडिया र अमेरिकी सरकारसँगै साझेदारी गरेको थियो । स्केल एआईले अमेरिकी रक्षा मन्त्रालय, वायु सेना र सेनासँग मिलेर सैन्य प्रयोजनका लागि प्रविधि परीक्षण गर्ने काममा समेत संलग्न हुँदै आएको छ । वाङले भविष्यका युद्धहरूमा एआईले निर्णायक भूमिका खेल्नेछ भनेर खुलेरै भन्ने गरेका छन् । उनले एआई क्षेत्रमा चीनभन्दा अमेरिका अघि हुनुपर्ने कुरामासमेत जोड दिँदै आएका छन् । 

ओपेन एआई, मेटा र गुगलजस्ता बिग टेक कम्पनीहरू अहिले प्रयोगकर्तालाई डिजिटल सहायकका रूफमा साथीसरह संवाद गर्न सक्ने एआई प्रविधि बनाउन तल्लिन छन् । स्मार्ट चस्मा, स्मार्ट स्पिकर, सुपर कम्प्युटर, र स्मार्टफोनहरूमा जेनेरेटिभ एआईको समावेशसँगै यस्ता उपकरणहरूले इमेलको जवाफ दिनेदेखि सामग्रीको सारांश निकाल्ने जस्ता कार्य गर्न सक्छन् । यसै क्रममा ओपेनएआईले एप्पलका पूर्वप्रमुख डिजाइन अफिसर जोनी आइभलाई आफूसँग ल्याएको छ । ओपेनएआईका प्रमुख साम अल्टम्यानले  जोनी आइभले देखाएको प्रोटोटाइप ‘संसारले अहिलेसम्म देखेको सबैभन्दा उत्कृष्ट प्रविधि’ हुनसक्ने बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully