काठमाडौँ — इलन मस्कको स्पेसएक्सअन्तर्गत सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’ले बंगलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । त्यहाँको हुलाक, दुरसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रमुख सल्लाहकार फैज अहमद तैयेबले मंगलबार फेसबुकमार्फत यसबारे जानकारी दिँदै सेवा सुरु भएको घोषणा गरेका हुन् ।
तैयेबका अनुसार सोमबार दिउँसो स्टारलिंकका प्रतिनिधिले सेवा सुरु गरिएको जानकारी दिएका थिए । मंगलबार बिहान कम्पनीले आफ्नो एक्स ह्यान्डलमार्फत यसको औपचारिक पुष्टि पनि गरेको थियो ।
स्टारलिंकले बंगलादेशमा प्रारम्भिक चरणमा ‘रेजिडेन्सियल’ र ‘रेजिडेन्सियल लाइट’ गरी दुईवटा प्याकेज सार्वजनिक गरेको द डेली स्टारले जनाएको छ । रेजिडेन्सियल प्याकेजको मासिक शुल्क ६ हजार टाका (झन्डै ८ हजार नेपाली रुपैयाँ) र रेजिडेन्सियल लाइट को ४ हजार २ सय टाका तोकिएको छ । दुवै सेवाका लागि सुरुमा उपकरण सेटअप खर्च ४७ हजार टाका लाग्ने सो समाचारमा उल्लेख छ ।
तैयेबका अनुसार यी सेवामा कुनै स्पिड लिमिट वा डेटा क्याप छैन । ग्राहकहरूले ३ सय एमबीपीएस स्पिडमा असीमित इन्टरनेट प्रयोग गर्न सक्ने उनले बताएका छन् । ‘हुन त यो महँगो सेवा हो तर यसले उच्च गुणस्तरीय र तीव्र गतिको इन्टरनेट सेवा चाहने प्रिमियम ग्राहकहरूका लागि दिगो विकल्प सिर्जना गरेको छ,’ उनले भनेका छन्, ‘यस सेवाबाट फाइबर वा उच्च गतिको इन्टरनेट पुग्न नसकेको क्षेत्रहरूमा व्यवसाय विस्तार गर्न चाहने कम्पनी, एनजीओ, फ्रिलान्सर तथा उद्यमीहरू पनि लाभान्वित हुने हाम्रो विश्वास छ ।’
बंगलादेशको अन्तरिम सरकार प्रमुख प्रा. मुहम्मद युनुस नेतृत्वको सरकारले स्लाटरलिंकलाई सेवा सञ्चालनको स्वीकृति दिएको हो । प्रा. युनुसले २५ मार्चमा सम्बन्धित निकायलाई ९० दिनभित्र सेवा सुरु गर्न निर्देशन दिएका थिए। उक्त निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको र अप्रिल २८ मा स्टारलिंकलाई आधिकारिक लाइसेन्स प्रदान गरिएको हो ।
यससँगै बंगलादेश दक्षिण एसियामा श्रीलंकापछि स्टारलिंक सेवा सुरु गर्ने दोस्रो देश बनेको छ। प्रा. युनुसले सेवा सुरु भएको अवसरमा समावेश सबैलाई बधाई दिँदै यसले देशका दुर्गम तथा पहुँचविहीन क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
स्टारलिंकको सेवाले बंगलादेशको डेटा सार्वभौमिकतामा कुनै प्रभाव नपार्ने सरकारको दाबी छ । त्यहाँको स्थानीय इन्टरनेट गेटवेमार्फत सञ्चालित हुने भएकाले सबै डेटा ट्राफिक देशभित्रै सिमित रहने बताइएको छ । स्टारलिंकले सरकारलाई प्रतिडिभाइस १ डलर शुल्क बुझाउने तय भएको छ । बंगलादेशले पहिलोपटक ९० दिनभित्रै कुनै सेवा प्रदायकलाई नन-जियोस्टेसनरी अर्बिट (एनजीएसओ) को अनुमतीपत्र दिएको हो ।
