इलन मस्कको नयाँ सहर ‘स्टारबेस’

बोकाचिका समुद्री तट बन्द गर्न नहुने भन्दै विरोध प्रदर्शन

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Elon Musk's New City 'Starbase'

काठमाडौँ — अर्बपति इलन मस्कको चाहनाअनुसार अमेरिकी राज्य टेक्सासमा एउटा नयाँ सहर सिर्जना गरिएको छ, ‘स्टारबेस।’ हालै सम्पन्न मतदानमा स्टारबेसलाई आधिकारिक सहरका रूपमा स्थापित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि मस्क उत्साहित भएका छन्।

तर, कतिपय आदिवासी समुदायले त्यहाँको बोकाचिका समुद्री तट र वन्यजन्तु आरक्ष मस्कको नियन्त्रणमा गई सर्वसाधारणका लागि बन्द गरिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

स्टारबेसलाई सहर बनाउने प्रस्तावमा भएको मतदानमा क्यामरन काउन्टी निर्वाचन विभागले अनलाइनमा प्रकाशित गरेको नतिजाअनुसार कुल २१२ मत पक्षमा र ६ मत विपक्षमा परेका थिए। त्यहाँ बसोबास गर्ने अधिकांश मतदाताहरू मस्कको कम्पनी स्पेसएक्सका कर्मचारी र तिनका परिवार सदस्य रहेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ मा पोस्ट गर्दै स्टारबेस अब साँच्चिकै सहर बनेकोमा खुशी व्यक्त गरेका छन्। यस सहरमा स्पेसएक्सका अन्तरिक्षयानसम्बन्धी प्रमुख उपकरण र परियोजनाहरू तयार हुने गरेका छन्। अमेरिकी रक्षा मन्त्रालय र अमेरिकी अन्तरिक्ष केन्द्र नासासँगको सम्झौताअनुसार स्पेसएक्सले चन्द्रमामा मानव पठाउन र भविष्यमा मंगल ग्रहमै पुग्ने लक्ष्यसहित ती उपकरण र परियोजना तयार गरिरहेको जनाइएको छ।

मस्कले सन् २०२१ मा पहिलोपटक स्टारबेसको अवधारणा सार्वजनिक गरेका थिए। यो नयाँ सहर बन्ने कुरा लगभग निश्चित थियो किनभने त्यहाँका २८३ मतदातामध्ये अधिकांश स्पेसएक्सका कामदार थिए। मस्कको कम्पनीले नै सहर बसाएपछि त्यहाँ उनको नियन्त्रण अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ। विशेषगरी अन्तरिक्षयान प्रक्षेपणका लागि लोकप्रिय रहेको दक्षिण टेक्सासको समुद्री तट र बोकाचिका स्टेट पार्कसमेत मस्कले अन्यका लागि बन्द गर्न सक्ने शंका गरिएको छ।

स्पेसएक्सले दक्षिण टेक्सासबाट वार्षिक प्रक्षेपण संख्या ५ बाट २५ पुर्‍याउन संघीय निकायहरूसँग अनुमति मागिरहेको छ। मेक्सिकोसँग सीमा जोडिएको टेक्सासको यो सहर करिब १.५ वर्ग माइल (३.९ वर्ग किलोमिटर) क्षेत्रफलमा फैलिएको छ। स्पेसएक्सले किन ‘कम्पनी सहर’ आवश्यक पर्‍यो भन्नेबारे स्पष्ट खुलाएको वा प्रतिक्रिया दिएको छैन।

तर, स्टारबेसकी महाप्रबन्धक क्याथरिन ल्युडर्सले सन् २०२४ मा स्थानीय अधिकारीहरूलाई पठाएको पत्रमा स्टारबेसलाई समुदायका रूपमा विकसित गर्न आवश्यक रहेको उल्लेख गरेकी थिइन्। स्पेसएक्सका अधिकारीहरूले समुद्री तट बन्द गर्ने अधिकार सहर विशेषलाई नै दिँदा प्रक्षेपण प्रक्रिया सरल हुने बताएका छन्। अहिले रकेट प्रक्षेपण, इन्जिन परीक्षण र उपकरणहरू सार्दा स्थानीय सडक र बोकाचिका स्टेट पार्क बन्द गरिने गरिएको छ।

विज्ञहरूले भने समुद्री तट बन्द गर्ने अधिकार काउन्टी सरकारमै निहित रहनुपर्ने धारणा राख्दै आएका छन्। क्यामरन काउन्टीका न्यायाधीश एडी ट्रेभिनो जुनियरले स्पेसएक्सले सहज रूपमा काम गरिरहेको र यसमा कुनै फेरबदल आवश्यक नभएको बताएका छन्। सहर निर्माणविरुद्ध र समुद्री तटमा पहुँच सुनिश्चितताका लागि आवाज उठाउँदै आएको ‘साउथ टेक्सास इन्भाइरनमेन्टल जस्टिस नेटवर्क’ले हालै मात्र पनि विरोध प्रदर्शन गरेको जनाएको छ।

कान्तिपुर

Link copied successfully