च्याटजीपीटीलाई टक्कर दिन मेटाले ल्यायो मेटा एआई

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Meta AI has been introduced by Meta to compete with ChatGPT

काठमाडौँ — ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक र म्यासेन्जरमा एआई सुविधा समावेश गरिसकेको मेटाले यो साता छुट्टै एआई एप पनि सार्वजनिक गरेको छ । कम्पनीको ‘लामा कन’ कार्यक्रममा मेटा एआई नामक च्याटजीपीटीजस्तै प्लाटफर्म सार्वजनिक गरेको थियो । 

मेटा एआईले प्रयोगकर्ताहरूलाई लामा एआई मोडलभित्रका साथीभाइसँग स्वत: जोडिदिने कम्पनीको दाबी छ । मार्क जकरबर्गका अनुसार मेटा एआईमा अहिले नै अर्बौँ प्रयोगकर्ता छन् तर अहिलेलाई एप साधारण देखिन्छ । यसलाई निरन्तर प्रयोग गर्दै जाँदा प्रयोगकर्तालाई सान्दर्भिक प्रतिकृया र सेवा यसले दिने जकरबर्गको भनाइ छ । 

मेेटा एआईभित्र सोसल मिडिया फिड भएकाले अन्य प्रयोगकर्ता वा साथीभाइले बनाएको एआई जेनेरेटेड पोस्टहरू हेर्न सकिन्छ । प्रयोगकर्ताले आफ्ना ‘प्रम्ट’ र एआई कला यसमा पोस्ट गर्न सक्छन् । रे-ब्यान मेटा स्मार्ट ग्लास प्रयोग गर्नेहरूले आफ्नो त्यो चस्मालाई मेटा एआईसँग इन्टिग्रेट गर्न सक्ने कम्पनीले जनाएको छ । यो एआईले प्रयोगकर्तालाई नजिकबाट चिन्न उनीहरूका इन्स्टाग्राम र फेसबुक एकाउन्ट नियाल्ने जकरबर्गले फेसबुक भिडियोमा बताएका छन् । स्मार्ट ग्लासबेगर अहिले यो एआई नेपालमा चलाउन सकिँदैन ।

मेटाको यस एआई प्लाटफर्मलाई ओपेनएआईको च्याटजीपीटीसँग तुलना गरिएको छ । मेटाले ओपनएआईसँग प्रतस्पर्धामा उत्रिने गरी मेटा एआई ल्याएको विश्लेषण भइरहेका छन् । यो एप सार्वजनिक भएको तीन दिनमा हाल ५ लाखभन्दा धेरैले एन्ड्रोइडमा एप डाउनलोड गरेको देखिन्छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully