च्याटजीपीटीमा थपियो सपिङ फिचर

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Shopping feature added to ChatGPT

काठमाडौँ — च्याटजीपीटीमा अब किनमेल (सपिङ) गर्न सकिने सुविधा थपिएको छ । यसबाट प्रयोगकर्ताले विभिन्न सामानहरू खोज्न, तुलना गर्न र व्यापारीसँग कुराकानीसमेत गर्न सक्ने कम्पनीको दाबी छ । च्याटजीपीटीको यो फिचरलाई ओ‌पनएआईले गुगलसँग प्रतिस्पर्धा गर्न चालेको कदमका रूपमा हेरिएको छ ।

हाल च्याटजीपीटीको सर्च फिचर सबैभन्दा लोकप्रिय रहेको ओपनएआईले जनाएको छ । पछिल्लो हप्ता मात्रै च्याटजीपीटीबाट १ अर्बभन्दा बढी सर्च भएको कम्पनीको दाबी छ । अहिले उपलब्ध किनमेल सुविधा फेसन, ब्युटी र घरायसी इलेक्ट्रोनिक्सको क्षेत्रमा सीमित रहेको र आगामी दिनमा यसलाई विस्तार गरिने कम्पनीको योजना छ । 

गुगलले पनि आफ्नो जेमिनाइ एआईलाई क्रोम ब्राउजरको सर्च फिचरमा अझै प्रभावकारी रूपमा जोड्ने तयारी गरिरहेको छ । तर, गुगलमाथि अहिले अमेरिकी न्याय विभागले दायर गरेको एकाधिकारविरोधी मुद्दाको सुनुवाइ भइरहेको र अदालतले गुगललाई क्रोम ब्राउजर बेच्न निर्देशन दिएमा ओपनएआईले गुगल क्रोम किन्न चासो देखाएको समाचार बाहिरिएका छन् । अमेरिकाकी न्याय विभागले गुगलमाथि अनलाइन विज्ञापन बजारमा एकाधिकार कायम गर्न प्रतिस्पर्धाविरोधी गतिविधि गरेको आरोपमा मुद्दा दायर गरेको थियो । 

च्याटजीपीटीसँग अब सामान्य कुराकानीको शैलीमा प्रयोगकर्ताले सामान किनमेल गर्न सक्ने भएका हुन् । यो सुविधा ल्याएर ओपनएआईले गुगलको बिजनेस मोडलमा चुनौती दिएको छ किनभने गुगल प्रायः सर्च र विज्ञापनकै भरमा चलेको छ । च्याटजीपीटीले भने विज्ञापन नदेखाई प्रयोगकर्तालाई सिधै प्रोडक्ट देखाउने दाबी गरेको छ । वार्यर्डको समाचारअनुसार च्याटजीपीटीबाट शुल्क भुक्तानी भने गर्न मिल्दैन ।

च्याटजीपीटीले प्रयोगकर्तालाई उपयुक्त उत्पादनहरू सिफारिस गर्छ र ती उत्पादनहरू खरिद गर्न सम्बन्धित व्यापारीको वेबसाइटमा पठाउँछ । त्यहाँ गएर प्रयोगकर्ताले आफ्नो रुचिअनुसार भुक्तानी विधि चयन गरेर खरिद प्रक्रिया पूरा गर्न सक्छन् । 

भग बिजनेसका अनुसार च्याटजीपीटीको सपिङ फिचर विश्वव्यापी रूपमा उपलब्ध छ । च्याटजीपीटी निःशुल्क चलाउनेदेखि, प्लस, प्रो र लगइन नगरेका प्रयोगकर्ताहरूले पनि यसबाट सपिङ गर्न सक्छन् । तर, युरोपेली आर्थिक क्षेत्र, बेलायत र गोपनीयता कडा भएका अन्य देशहरूमा केही यो सुविधाहरू अस्थायी रूपमा उपलब्ध नभएको भग बिजनेसको समाचारमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully