बेइजिङमा ६ वर्षका बालबालिकालाई समेत एआई शिक्षा अनिवार्य

वैशाख ९, २०८२

एजेन्सी

In Beijing, AI education is compulsory even for 6-year-old children

काठमाडौँ — यस वर्षदेखि चीनको राजधानी बेइजिङका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कक्षा सञ्चालन गर्न अनिवार्य गरिएको छ। त्यहाँ ६ वर्षका बालबालिकासमेतलाई च्याटबट र अन्य एआई टुलहरू प्रयोग गर्ने तरिका, प्रविधिको सामान्य ज्ञान र एआईको नैतिक प्रयोगबारे पढाइने भएको हो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बेइजिङ नगर शिक्षा आयोगले जारी गरेको विज्ञप्तिमा विद्यालयहरूले यी कक्षाहरूलाई सूचना प्रविधि वा विज्ञानसम्बन्धी पाठ्यक्रमसँग एकीकृत गरेर वा छुट्टै रूपमा सञ्चालन गर्न सक्ने उल्लेख छ। आयोगले बहुवर्षीय एआई पाठ्यक्रम तयार गर्ने योजना पनि अघि सारेको छ। यसले समग्र एआई शिक्षा प्रणाली निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

बेइजिङले यस्तो शिक्षामार्फत एआई प्रतिस्पर्धामा चीनको अग्रता कायम राख्ने लक्ष्य लिएको छ। गत डिसेम्बरमा चीनको शिक्षा मन्त्रालयले १८४ वटा विद्यालयलाई एआई पाठ्यक्रमको मोडल र कार्यक्रम परीक्षणका लागि चयन गरेको थियो। शिक्षा मन्त्री हुआई जिनपेङले चीनको शिक्षा प्रणालीका लागि एआई ‘सुनौलो अवसर’ भएको बताएका थिए।

ह्वाङ्जाउस्थित झेजियाङ विश्वविद्यालयको सफलताबाट प्रेरित भई चीनले त्यसकै अनुकरण गरेर विद्यालयहरूमा समेत एआई शिक्षा सुरु गर्न लागेको कतिपयको विश्लेषण छ। उक्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका लियाङ वेनफेङ, डिपसिक र वाङ सिङसिङले युनिट्रि नामक चर्चित एआई कम्पनीहरू स्थापना गरेका छन्। विद्यार्थीहरूलाई अझै कम उमेरमै एआईसँग परिचित गराएमा बेइजिङमा नवप्रवर्तनको नयाँ लहर देखिन सक्ने सरकारको अपेक्षा छ।

चीन मात्र नभई अन्य विभिन्न देशहरूले पनि बालबालिकालाई एआई शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्न थालेको फर्च्युन म्यागजिन ले जनाएको छ। इस्टोनिया सरकारले गत महिना मात्र ओपनएआईसँग साझेदारीको घोषणा गर्दै माध्यमिक विद्यालयमा शैक्षिक प्रयोजनका लागि च्याटजीपीटी ईडीयू कार्यक्रम सुरु गरेको जनाएको थियो। यो कार्यक्रम आउँदो सेप्टेम्बरदेखि कक्षा १० र ११ मा लागू गरिने भएको छ।

इस्टोनियाका राष्ट्रपति अलार करिसले देशको शिक्षा प्रणाली र डिजिटल समाजको विकासमा नयाँ अध्याय सुरु गर्न लागेको बताएका छन्। ‘एआईले विश्वलाई स्थायी रूपमा परिवर्तन गरिसकेको छ,’ उनले भनेका छन्, ‘अन्य क्षेत्रले जस्तै शिक्षा क्षेत्रले पनि यो परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्नुपर्छ।’

क्यानडा र दक्षिण कोरियाले पनि प्राथमिक तहदेखि माध्यमिक तहको अध्ययनमा एआईलाई समावेश गरिसकेका छन्। यी देशमा एआईमा आधारित डिजिटल पाठ्यपुस्तक र कक्षामा एआईको प्रयोगबाट अध्ययन–अध्यापनलाई स्वीकार गरेका छन्। बेलायतको एक निजी विद्यालयले गत वर्ष नै ‘शिक्षकविहीन’ कक्षा सुरु गरेको घोषणा गरेको थियो। त्यहाँ २० जना विद्यार्थीले भर्चुअल रियालिटी हेडसेट र एआई प्लेटफर्मको प्रयोग गरेर शिक्षा लिने व्यवस्था मिलाइएको छ।

अमेरिकामा ‘एआई रिडर’ र ‘राइटिङ एसिस्टेन्ट’ जस्ता निःशुल्क रूपमा उपलब्ध एआईमा आधारित शैक्षिक टुलहरूलाई निजी शिक्षकका रूपमा प्रयोग गर्न सकिने सुविधा छ। तर यस्ता टुलहरूको जोखिम रहेको र बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर एआई टुलको प्रयोगबारे स्पष्ट मार्गदर्शन आवश्यक भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ। एआईसम्बन्धी पाठ्यक्रम विकास गर्दा ‘मानवता’लाई केन्द्रमा राखिनुपर्ने राष्ट्र सङ्घको सुझाव छ।

एजेन्सी

Link copied successfully